महिलालाई स्थान देऊ « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

महिलालाई स्थान देऊ


यलम्वर टाइम्स
१३ चैत्र २०७३, आईतवार ०९:०६

स्थानीय निर्वाचनको माहोल तातिरहेको बेला स्थानीय गाउँपालिका, नगरपालिका र उपमहानगर हुँदै महानगरपालिकाको नेतृत्वमा महिला उम्मेद्वारसँगै विजयको लागि आवाजहरु चारै प्रहरबाट उठिरहेको छ । लोकतन्त्रको यर्थाथता र सही सदुपयोगका लागि आगामी हुने स्थानीय प्रतिनिधिका लागि महिलाहरुको आवाज उठ्नु स्वाभाविक ठानिन्छ । ०६२÷०६३ को जनआन्दोलन, मधेस आन्दोलन र त्यस अघि माओवादी आन्दोलनको जग पनि महिलालाई नेतृत्वमा लाने एउटा आधार स्तम्भ थियो । त्यही स्तम्भलाई समातेर अब नेतृत्व तहमा महिलाको स्थान सुरक्षित भए मात्र महिला मुक्ति हुने र राज्यको विकासमा पुनःर्संरचना गर्न सकिने आवाज उठाएका छन् ।

देशमा बढेको भ्रष्टचार र ढिलासुस्ती पुरुष नेतृत्वको उपज हो भन्दै ठाउँ–ठाउँबाट महिला अधिकारका कुराहरुसँगै स्थानीय निर्वाचनमा पनि महिलाहरुको बलियो उपस्थिति भए भ्रष्टचार र ढिलासुस्तीको जग उखाल्नमा सहज हुने निर्धक्कका साथ भन्न थालेका छन् । बंगलादेशका नारीवादी लेखक तसलीमा नसीमको एक महिला विभागीय प्रमुख हुँदैमा सारा महिलाको मुक्ति हुन सक्दैन, त्यसैले अधिकार चाहने महिलाहरु सबै जाग्नु पर्छ भन्ने भनाईलाई यो बेला आमनेपाली महिलाहरुले मसिनो रुपमा बुझेर नेतृत्वको होडबाजीमा जान तम्तयार भएको देखिन्छ ।

जे चिज पनि झापाबाटै सुरुवात हुन्छ भन्ने तितो यर्थाथसँगै झापाका सचेत नारीहरु स्थानीय निर्वाचनको अग्रपंक्तिमा उभिनका लागि आफ्नो आवाज बुलन्द गर्न थालेका छन् । झापाको अर्जुनधारा नगरपालिकामा महिला संजालले राजनीतिक दलका अगुवाहरुलाई एकै ठाउँ उभ्याएर त्यस्ता सन्देश दिन पुगेका छन् । नगरपालिकाका अधिकांश राजनीतिक प्रमुखले अधिकारका लागि पार्टीले ढोका खोलिदिएको सन्देश आफ्नो मन्तव्यमा भनेतापनि अधिकार दिनका लागि हिचकिचाउने गरेको महिलाहरुको भनाई छ । महिला संजालको कार्यक्रममा नेकपा एमाले र नेपाली कांग्रेसले ३३ प्रतिशतको ग्यारेन्टीमा आफ्नो मन्तव्य राखेका थिए भने नयाँ शक्ति र राष्ट्रिय जनमुक्ति पार्टीले महिलाहरुको हितको लागि ५० प्रतिशतको ग्यारेन्टी रहेको भनाई अगाडि सारेका थिए । यी सबै कुरा विधानमा उल्लेख गरिएतापनि अब हुने स्थानीय निर्वाचनमा महिलालाई नेतृत्वमा उभ्याउन संजालले सजग गराएको छ ।