गोर्खाल्याण्ड आन्दोलनमा सघाएको भन्दै सिलीगुढीमा नेपाली युवा पक्राउ « Yalambar Times
१ बैशाख २०८१, शनिबार

गोर्खाल्याण्ड आन्दोलनमा सघाएको भन्दै सिलीगुढीमा नेपाली युवा पक्राउ


यलम्वर टाइम्स
२५ श्रावण २०७४, बुधबार ०५:०६

झापा / दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा भारतीय प्रहरीले एक नेपाली युवालाई सिलिगुढीबाट पक्राउ गरेको छ ।
आमाको उपचारका लागि सिलिगुढी पुगेका सूर्योदय नगरपालिका–१० इलामका २७ बर्षीय उदयहाङ फागोलाई सोमबार सिलिगुढी मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको हो । आमाको पेटको उपचार गराउन सिलिगुढी स्थित फेमेली क्लिनमा पुगेका फागोलाई क्लिनक परिसरबाटै प्रहरीले पक्राउ गरेको हो ।

गत जुलाई २९ तारिखमा आन्दोलनका क्रममा दार्जिलिङको सुकुनामा भएको झडपमा सामेल भएको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

गोर्खाल्याण्ड आन्दोलनप्रति कुनै संलग्न नै नभएको र विनाकारण फागोलाई पक्राउ गरेर भारतीय प्रहरीेले अत्याचार गरेको भन्दै उनकी दिदी साधना फागोले तत्काल रिहाइको माग गरेकी छन् । मंगलबार फागोलाई भेट्न गएका परिवारका सदस्यलाई सम्पर्कमा आउन समेत नदिएको दाजु शरन फागोले जानकारी दिए । पक्राउपछि नेपाली भएको प्रमाण पेश गर्न भनेको प्रहरीले मंगलबार पाँचवटा मुद्धा सहित अदालतमा उभ्याएको फागोले बताए ।

उनलाई हतियार प्रयोग गरेर सरकारी काममा अवरोध पुर्‍याएको, सरकारी सम्पती नष्ट गरेको लगायतका मुद्धा लगाइएको भारतीयसञ्चार माध्यमले जनाएका छन् । दिदी साधनाले भनेकी छन्, ‘हामीलाई गोर्खाल्याण्ड आन्दोलनबारे सरोकार नै छैन, यता आइरहनु जरुरी पनि छैन तर उपचारका क्रममा आउँदा प्रहरीले गम्भीर मानवअधिकारीको उल्लघंन गरेको छ’,उनले भनिन- मेरो भाईलाई तत्काल रिहा गरियोस ।’

गोर्खाल्याण्ड आन्दोलनमा नेपालीको घुसपैठ भएको आरोप लगाउँदै आएको बंगाल सरकारले पहिलो पटक नेपाली युवा फागोलाई निशाना बनाएको हो । फागोका परिवारले न्यायका लागि पहल गरिदिन सम्बन्धित पक्षसँग आव्हान गरेका छन् । उनलाई विना शर्त रिहाइका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् ।सुकुनामा भएको आन्दोलनमा प्रदर्शनकारीहरुले खुकुरी जुलुस निकालेका थिए ।

सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका क्रममा दर्जनौं प्रहरी समेत घाइते भएका थिए ।-इमेजबखरबाट