लक्ष्मी पूज्ने आ–आफ्नै तरिका « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

लक्ष्मी पूज्ने आ–आफ्नै तरिका


यलम्वर टाइम्स
१ कार्तिक २०७४, बुधबार ०८:१२

[लक्ष्मीप्रसाद सुब्बा]

आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत) को बेलुका गाईको दूधमा खीर पकाएर रातभरी शीतमा जूनको किरणले भेट्ने गरी नछोपि राखिन्छ, रातभरी चन्द्रमाले त्यो खीरमा अमृत वर्षा गराउँछन् भन्ने विश्वास छ र त्यसै गर्ने गरिन्छ । भोलिपल्ट बिहान त्यो खीर प्रसाद ग्रहण गर्नाले आरोग्यता प्राप्त हुन्छ भन्ने शास्त्र प्रमाण छ । कोजाग्रतको रात मेरो सम्झनामा को को जाग्रत छन् भनेर धनधान्यकि माता लक्ष्मी घर(घर डुल्छिन् भन्ने पनि जन विश्वास रहि आएकोले जाग्रत रहने उपाय पैसाको खेलबाड गर्ने चलन पनि छ । यो भयो लौकिक नियम ।

भारतको बंगालको नियम अनुसार बंगालीहरु कोजाग्रत पूर्णिमाको दिन लक्खी (लक्ष्मी) पूजा गर्ने गर्छन् । घरलाई सफा सुग्घर बनाएर लक्खी (लक्ष्मी) हिड्ने बाटो बनाएर लक्खीको पाइला बनाउँदै घरभित्र पूजा स्थानसम्म बाटो देखाएर विधि विधान सित लक्खीको पूजा गर्छन् । शंङ्ख, घण्टि, मजीरा बजाउँछन् अनि मुखभित्र चोर औंला हालेर हल्लाउँदै ठूलो स्वरले घरिघरि सबै जनाले उ लु लु लु, उ लु लु लु गर्दै खुशियाली मनाउँदै धनधान्यकि माता लक्ष्मी (बंगाली भाषामा लक्खी) लाई आवाहन गर्छन् ।

कसै कसैले कोजाग्रत पूर्णिमाको दिन देखि आकाश दीप दान पनि गर्छन् । त्यो दीप दिपावलीसम्म ननिभि बलिरहनु पर्छ भन्ने भनाई छ । काग तिहारका दिन काग बलि दिने गरिन्छ । कागलाई यमको दूत भनेर भोजन गराइन्छ अनि भोलिपल्ट कुकुरलाई पनि धर्मराजको दूत साथै स्वामी भक्त पनि हुनाले फूल टीका लगाइ दिएर मीठा मीठा खानेकुरा खुवाइन्छ ।

कुकुर तिहारको दिनदेखि बंगालमा माता कालिको प्रतिमा राखेर धुमधामसित कालि पूजा गर्ने चलन छ । त्यो पूजा दिपावलीको दिनसम्म गर्छन् । दिपावलीको दिनलाई नेपालीहरुले पहिले पहिले गाई तिहारे औंशी पनि भन्थे अनि गाई पूजा र लक्ष्मी पूजा एकै दिन गर्ने चलन थियो तर हिजोआज चाहिँ धनधान्यकि माता लक्ष्मीको पूजा गरिन्छ अनि दिपमालिका गरिन्छ । नेपालीहरुले दिपमालिका गरिसकेपछि लक्ष्मीको पूजा गरिसकेपछि भैलो खेल्ने चलन छ ।

यसरी भैलो खेल्ने नियम नेपाल बाहिर अन्य ठाउँमा पनि जस्तै दार्जिलिङ, सिक्किम, भुटान आदि ठाउँहरुमा पनि चल्दै आउँदै छ । यो नियम प्राचिनकालदेखि कै हो । औंशीको भोलिपल्ट हलितिहारका दिन गाई, गोरूको पूजा गरिन्छ । शास्त्रिय भनाई अनुसार यो पर्व खास गरेर कृषकहरुको पर्व हो । कृषकहरुले मात्रै गाई पाल्छन् । दहि, दूध, घ्यू उत्पादन गरेर सबैलाई पु¥याउँछन् । गाई पालेपछि गाईको मलबाट कृषि उत्पिादनमा वृद्धि हुन्छ र सबैलाई फल, फूल, अन्न, सागसब्जी सबैको लागि उत्पादन गरेर दिन्छन् ।

तर व्यापारी, जागिरेहरुले त्यसो गर्दैनन् न त गाई नै पाल्छन्, गाई पूजा पनि गर्दैनन् । मात्रै माता लक्ष्मीको पूजा गर्छन् । दुःखको कुरो हिजो आज महादेवको बहान गोरू र जीवन दायिनी गाई धर्मद्रोही, राष्ट्रद्रोहीहरुले काटि खान थाले । राष्ट्रद्रोही यस मानेमा गाईलाई नेपालको राष्ट्र जनवार भनेर जानिजानि राष्ट्र चिन्ह नै मासेपछि राष्टिूयता धरापमा पर्ने हुनाले त्यस्तो काम गर्ने राष्ट्रद्रोही ठहरिन्छ । गोरू बिना गाई हुँदैन, गाई बिना गोरू हुँदैन तसर्थ गाई, गोरू दुवै काट्नु–मार्नु हुँदैन । यो कुरो कानूनमा खुलाइ सकेको छ । नभए खुलाउँनु पर्छ । गाई पालन पनि विकासको पूर्वाधार हो । नेपाल कृषि प्रदान देश हो भने गौँ हत्या हुनु हुँदैन । किनभने कृषिको पूर्वाधार पनि गौँ नै हो ।

सबैको पूजा पश्चात यम द्वितीयाका दिन भाइ पूजा गर्ने प्रावधान छ । त्यसदिन दाजुभाइले बिहानै स्नान गरेर जति सकेको द्रव्य, दक्षिणा सहित दिदी बहिनीको घरमा गएर आर्शिवाद लिएर आफूले सकेको दान, दक्षिणा गरेर उनीहरुकै घरमा भोजन गर्नु । त्यसदिन शास्त्रको भनाइ अनुसार कुनै पुरुषले आफ्नो घरमा भोजन नगर्नु भनेको छ । आफ्नो दिदीबहिनी नभए नाताका दिदीबहिनीकोमा गएर नियम अनुसार भोजन गर्नु, यसो गर्नाले आयु, बल वृद्धि हुन्छ भन्ने सबैको भनाइ मात्र नभएर शास्त्रको भनाइ छ ।

यम द्वितीयाका दिन सत्य युगमा सूर्य पुत्र यमराजले पनि बहिनी यमुनाको घरमा गएर भोजन गरेका थिए भन्ने शास्त्र प्रमाण पाइन्छ । यमुनाले धेरै आग्रह गरेपछि यमराज आफ्नी बहिनीको घरमा आएर प्रशन्न हुँदै भोजन गरेर बहिनीलाई के माग्छौ माग भन्दा बहिनी यमुनाले भनिन्( ‘यम पञ्चक (काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरू तिहार र भाइ तिहार) भरि तपाईले मनुष्यलाई मृत्युको मुखमा नपार्नु भनेर दाजु यमराजलाई बचनबद्ध गराएर टीका माला लगाइदिएर बिदा गरिन् ।’

मनुष्यले पनि यमपञ्चक भरि घरको मूल दैलो बाहिर यम दीप दान गरेर आफू घरभित्र पसेर भित्रैबाट प्रत्येक साँझमा यम पूजा गरेर आरोग्यता, दीर्घायूको कामना गरिन्छ । यसो गर्नाले यमराज सन्तुष्ट भएर दीर्घायू, आरोग्यता प्रदान गर्छन् भन्ने शास्त्रको भनाइ छ ।

तिहारको रमाइलो पक्ष भनेको नेपालीहरुको देउसी, भैलो हो । दिदीबहिनीहरु भेला भएर भैलेनी खेल्छन् । यो नियम अहिले परिवर्तन भएर दाजुभाइ, दिदीबहिनीसँगै मिलेर भैलो खेल्छन् । पहिलो दिनको यो रमाइलो सकेपछि भोलिपल्ट गोरू तिहारका दिनदेखि देउसीरे खेल्ने चलन छ ।

यसरी पारम्परिक संस्कृतिको जर्गेना भएको र नेपाली संस्कृति दर्शाएको रमाइलो हुन्छ तर आज संस्कृतिमा विकृति ल्याएर युवायुवति भेला भएर बाजाका तालमा ‘बोतलको पानीले आँखा सन्काइ सानीले, पैसा सक्यो पिउने बानीले….’ भन्दै बुरुकबुरुक उफ्रिन्छन्, सुर न तालको । यसरी संस्कृति बिर्षन थाले, परम्परा बिर्षन थाले । उनीहरुको उद्देश्य भनेको देउसी, भैलो खेलेर पैसा बटुल्ने अनि वनभोज खान जाने ।

चेतनशील युवायुवतिले हाम्रो नेपाली संस्कृतिलाई नबिगारेर संरक्षण गर्नतिर लाग्नाले हाम्रो पारम्परिक संस्कृतिको पालना र जर्गेना गर्नाले इतिहासमा समेत सुरक्षित रहन्छ ।
(साविक शान्तिपुर, झटारे, इलाम ।)