माघे संक्रान्ति र माघ माहात्म्य « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

माघे संक्रान्ति र माघ माहात्म्य


यलम्वर टाइम्स
२९ पुष २०७४, शनिबार ०५:४४

[लक्ष्मीप्रसाद सुब्बा]

पौष महिना बितेर माघ लाग्ने प्रथम दिन अर्थात् माघ १ गतेलाई हिन्दु समाजले माघे संक्रान्ति भनेर धुमधामले मनाउने चलन छ । संक्रान्ति भनेको सूर्य एक राशिबाट अर्को राशिमा सर्नुलाई संक्रान्ति भनेको हो । अर्थात् सौर महिनाको पहिलो दिन माघ १ गते लाई मकर संक्रान्ति भनेको हो । मस्त्य पुराणमा यसबारे यसरी वर्णन गरिएको छ -मकर नामको नक्षत्र राशिमा सूर्य प्रवेश हुनुलाई मकर संक्रान्ति अर्थात् संक्रमण भनिन्छ । पृथ्वीलाई खगोल विद्हरुले १२ भागमा काल्पनिक रेखाङ्कनमा राखेका छन् । ती १२ भाग नै १२ महिना हो । त्यो भागको नाम नै १२ राशि मेष, वृष आदि हुन् ।

पुषमा पकाएको तरुल, कन्दमूल माघको प्रथम दिन बिहानै नदी, तलाउ आदिमा नुहाएर तरुल, कन्दमूल खानुलाई नै पुषमा पाके माघमा जाके(खाए) भनिएको हो । यो संक्रान्ति मनाउने नेपाल, भारतको आफ्नो आफ्नै प्रकारको छ । भारतको कुरा गर्नु पर्दा प्रायः सबैले खिचडी खाने, तिलको लड्ड खाने, तिलदान गर्ने, माघ स्नान गर्ने गर्छन् भने पञ्जाबी मू्लकाले चाहिँ अघिल्लै दिन बाहिर धुनि बालेर ताप्ने, नुहाइ धवाइ गरेर तिलको लड्डु खाने गर्छन् । तर नेपालीहरुको लागि खिचडी, सेल रोटी, तरुल हुनै पर्छ, अझ फापरको पीठोको फुरौला पनि हुनुपर्छ । यी सबै भएर पनि तरुललाई प्राथमिकता दिइन्छ । नेपालीहरु जहाँ पुगे पनि आफ्नै पाराले माघे संक्रान्ति मनाउने गरिन्छ ।

सानो छँदा पहाडमा माघे संक्रान्ति आएपछि वन तरुल खन्न खन्ति, कोदालो, कचिया सित झम्पल र डोको बोकेर दाजु, दिदीहरुसित जंगल जान्थ्यिौं । अरुहरुले झोलामा ल्याउँथे भने मलाई तरुल साह्रै फाप्ने हुनाले हामी वनतरुल डोकै भरेर लिएर घर आउँथ्यौं । घरमा पनि विभिन्न खाले तरुल त हुन्थ्यो नै तर पनि वन तरुलको विशेष महत्व गरिन्थ्यो । तर वन तरुल नभै नहुने, त्यस दिन तरुल, सेल रोटी, खिचडी खाने चलन यता, उता जतापनि जहाँ-जहाँ नेपाली(हिन्दुहरु) छन् त्यहाँ-त्यहाँ यो नियम चलेकै छ । तिल र सक्करबाट बनाइएको लड्डु पनि खाने गरिन्छ । खास गरी भारतीय मूलकाले तिलको अधिक महत्व दिएको पाइन्छ ।

शास्त्र प्रमाण अनुसार मकर संक्रान्तिमा तिलको महत्व किन दिइन्छ भने यमराजलाई तिल त्यति प्यारो लाग्छ जति विष्णुलाई तुलसी प्यारो लाग्छ । अनि सौर मास सूर्य सित सम्बन्धित हुनाले सूर्यलाई पनि प्यारो लाग्ने चिज तिल नै हो भनिएको छ र बाबुलाई जे चिज प्यारो लाग्छ त्यो छोरालाई पनि प्यारो लाग्छ । तसर्थ मकर संक्रान्तिमा प्रातः स्नान गरेर तिल र गुणको लड्डु खाने, तिल दान गर्ने गरिन्छ भने प्रत्येक पूजा आदिमा पनि तिलकै महत्व दिएको देखिन्छ । यसरी मकर संक्रान्तिको महत्व शास्त्रहरुमा वर्णन भएको पाइन्छ ।

माघ माहात्म्यको केदार खण्ड अनुसार माघ महिनामा स्वस्थानी माताको १ महिनासम्म एकछाकि खाएर कठोर व्रत बस्ने नियम छ, जसमा शिवको पूजा सहित स्वस्थानी मातालाई मुख्य महत्व दिएर व्रत बसिन्छ अनि चोखोनितोको अत्यान्तै पालना गरिन्छ अनि शिवलीलाको कथा सुनिन्छ, सुनाइन्छ । दैविक भक्तिले दैविक शक्ति प्राप्त गर्नका लागि नै देवी भक्ति गरिन्छ । खास गरी सति देवीको मृतक देहबाट शिवको अनेकौं अवतार र शक्तिको अनेकौं अवतार भएको रहस्य उद्घाटन हुन्छ । माघ माहात्म्यसँगै माघे मेला लाग्ने पनि नियम छ । यस अवतारमा जग्गा जग्गामा त्रिवेणी अर्थात् नदी संगमस्थल वा पवित्र स्थानहरुमा माघे मेला लगाइन्छ अनि त्यहाँ तिर्थालुहरु मेला भएर स्नान, दान पनि गरिन्छ । यसै माघे संक्रान्तिको अवसरमा कलकत्तामा गंगा सागर मेला लाग्छ ।

जहाँ संसारका सबै देशबाट पर्यटक, तीर्थालुहरु लाखौं लाखको संख्यामा भेला हुन्छन्, यो त्यहि ठाउँ हो राजा सगरका ६० हजार पुत्रहरु कपिल ऋषिको क्रोधाग्निले भष्म भएका मृतात्माहरुको तरण तारणको लागि भगिरथले अथक तपस्या गरेर स्वर्गकि गंगालाई पृथ्वीमा उतारेर मृतात्माको उद्धार गरेका थिए । त्यहि कुराको सम्झनालाई जिवित राख्न भनेर त्यहाँ प्रत्येक मकर संक्रान्तिमा गंगा सागर मेला लगाउने परम्परा चलेर आएको छ । जहाँ महर्षि कपिलको प्रतिमा पनि छँदैछ । रोचक विषय के छ भने गंगा सागरमा प्रतिमा छ अनि मकर संक्रान्तिको १,२ दिन पहिले नै मेला लाग्ने ठाउँलाई गंगाले छोडि दिएर पर सर्छिन र त्यो खाली भएको ठाउँमा गंगा सागर मेला लाग्ने गर्छ । तिर्थालुहरुले गंगा सागरमा स्नान गरेर महर्षि कपिलको पूजा गर्छन् अनि महर्षि भगिरथको पनि पूजा सम्झना गर्दै पूजा गर्छन् । गंगा सागर मेला धार्मिक मेला हो, जहाँ सबै धर्मका गुरुहरु, मण्डलेश्वर साथै सम्पूर्ण धर्मानुरागी भेला हुन्छन्, गुरुहरुका मुखारबिन्दबाट वर्षको अमृतवाणी सुनेर कृत कृत हुन्छन् । त्यस अवसरमा धर्म गुरुहरुका आफ्नो आफ्नै अखडा जमाएर भक्त मण्डली सहित गुरुहरु विराजमान हुन्छन् । यो मेला कुम्भ मेला भन्दा कम्तिको हुँदैन, जहाँ धेर जसो भक्तहरु अर्थात् साधु नै साधु देखिन्छन् । त्यो मेलामा सहभागी हुने जसले पनि आफूलाई भाग्यमानी ठान्दछन् ।

यसरी यो माघ महिनाको महत्व भएको बुझिन्छ । यसै माघ महिनामै विवाह पञ्चमी जस्तै श्री पञ्चमी जस्तै श्री पञ्चमी(वसन्त पञ्चमी अर्थात् विद्यादात्री सरस्वती जयन्ती अर्थात् सरस्वती पूजाको पर्व पनि परेकाले पर्वै पर्वको महिना माघ मास हुनाले प्रयागमा भक्तहरु कल्पबास जस्तो कठोर तपस्या गरेर बस्छन् । कल्पबास भनेको माघको जाडोमा पनि नदी किनारको बालुवामा ओड्ने ओछ्याउने बिनै आकाश मुनि बसेर तपस्या गरेर बस्नु हो ।
रोङ गाउँपालिका–२, झटारे टोल, इलाम ।