मगर संघले भिक्षु उत्पादन गर्नुपर्नेमा जोड « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

मगर संघले भिक्षु उत्पादन गर्नुपर्नेमा जोड


यलम्वर टाइम्स
२ माघ २०७४, मंगलवार १२:१५

माईधार । वौद्ध धर्म गुरु भिक्षु अर्जुन भन्तेले मगर सम्प्रदायबाट वौद्ध गुरु अर्थत् भिक्षु उत्पादन गर्ने कार्यमा ध्यान नपुर्याए वौद्ध धर्म संकटमा पर्ने बताएका छन् ।

माईधारमा नेपाल मगर संघ र यशोधरा वौद्ध विहारद्वारा आयोजित मकर संक्रान्तिको पर्व कार्यक्रम मनाउँदै भिक्षु भन्तेले धेरै ठाउँमा मगरहरु वौद्ध धर्मावालम्बी हुन भनेर प्रस्ट्याउन भिक्षुको अति आवश्यक भएको हुँदा मगर जातिको संगठनबाट भिक्षु बनाउन पहल गर्नुपर्ने बताए । मगर संघले हामी वौद्ध हौं भनेर प्रचार गरे पनि त्यसलाई पूर्ति गर्न र सम्झाउन भिक्षुको बहुत ठूलो हात हुने भएको हुँदा भिक्षु उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

प्रमुख अतिथि नेपाल महिला मगर संघकी केन्द्रीय सदस्य खेमकुमारी मगरले मगर जातिको एकतासँगै मगर संगठन भएको ठाउँमा वौद्ध गुम्बा बनाउँदै जानुपर्ने बताइन् । उनले मगर वौद्ध धर्मवालम्बी हो भनेर गुम्बाले दर्शाउने भएको बताउँदै भिक्षु निर्माण गर्न मगर सम्प्रदायको महत्वपूर्ण पाटो भएको बताइन् ।

मगर संघ जिल्ला अध्यक्ष जगत राना मगरको सभापतित्वमा भएको कार्यक्रममा यशोधरा वौद्धका दलबहादुर मगर, मगर महिला संघ जिल्ला अध्यक्ष रिना थापा मगर, पूर्व जिल्ला अध्यक्ष सुन्दर मगर, दमक नगर अध्यक्ष वेद थापा, फोनिजका केन्द्रीय सल्लाहकार दिपीन राई लगायतले आ–आफ्नो विचार राखेका थिए ।

सोही दिन मगरको राष्ट्रिय पर्व माघी भएको हुँदा तरुल, भ्याकुर प्रसादको रुपमा वितरण गरिएको थियो भने मगर संस्कृतिक कार्यक्रम समेत भएको जनाएका थिए ।