के छ त स्वास्थानीको महत्व ? « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

के छ त स्वास्थानीको महत्व ?


यलम्वर टाइम्स
१३ माघ २०७४, शनिबार ०४:३५

[लक्ष्मीप्रसाद सुब्बा]

प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ स्नान शुरु गरिन्छ, साथै त्यसै दिनदेखि श्री स्वस्थानी माताको व्रत शुरु गरिन्छ । खास गरेर यो श्री स्वस्थानी व्रत नेपाली हिन्दूहरुको परम्परा अनुसारको व्रत हो । त्यसमा पनि यो व्रत नेपाली हिन्दू नारीहरुको व्रत मानिन्छ । किनभने नेपाली हिन्दू नारीहरुमा अविवाहिता नारी भएमा ऐश्वर्यशाली पति पाउँ भनेर व्रत बस्छन् अनि विवाहिता भए आफ्ना पतिको दीर्घायू होस् भनेर व्रत बस्छन् । अनि रोगी, दरिद्र भए रोग र दरिद्रताबाट छुट्कारा होस् भनेर व्रत बस्छन् । यो व्रत बसेपछि कतिले सफलता प्राप्त गरेको कथा, प्रत्यक्षमा पनि देख्न पाइएको छ ।

अब यस कथाबाट के कुरो बुझिन्छ भने नारीहरुले मात्रै सुन्दर र ऐश्वर्यशाली पति पाउँ भनेर व्रत बस्छन् र पतिको दीर्घायू चाहन्छन् । नारीहरुले मात्रै श्री स्वस्थानी मातासँग बरदान माग्छन्, पुरुषहरुले माग्दैनन् । कि नारीहरुले मात्रै माग्दा परमेश्वरी माताले दिन्छिन् ? पुरुषहरुले पनि त सुन्दरी, पतिव्रता, ऐश्वर्यशाली पत्नी पाउँ भनेर श्री स्वस्थानी माताको व्रत वस्ता हुने हो अनि मेरी पत्नीको दीर्घायू होस्, रोग कष्ट हरण होस् भनेर व्रत बस्दा हुने हो । त्यसो भनि रहँदा यो लेखकमा पनि त्यो प्रश्न तेर्सिन सक्छ । त्यस सम्बन्धमा म आफू रोगी, कमजोरी हुनाले एक छाकि खाएर, प्रतिदिन स्नान गरेर एक महिना लामो व्रत बस्न नसकेको हो । यो व्रतमा नियम, नीतिको र सफा सुग्घरको सारै पालना गर्नु पर्ने, चोखो नितो बस्नु पर्ने, शुद्ध र सफा भोजन त्यो पनि एक छाकि खाएर कथा सुन्छन् सुनाउँछन् । यो व्रत लिनेले व्रत अवधि भरि शान्त चित्त र एकाग्र भएर बस्नु पर्छ ।

श्री स्वस्थानी परमेश्वरी माताको व्रत सम्बन्धमा शास्त्रीय प्रमाण अनुसार दक्ष कन्या सतीले देह त्याग गरेपछि महादेवले पत्नी सतीको मृत देह बोकेर बौलाहा झैं सारा संसार कुद्दा सतीको देह गलेर जहाँ जहाँ अंगहरु झरे त्यहाँ त्यहाँ अनेकौं शक्ति पीठहरु र अनेकौं शिवशक्ति प्रकट भएको कथा आउँछ । सतीले देह त्याग गरेपछि पुनः हिमालयकि पत्नी मेनकाको गर्भबाट पार्वती नामले जन्मेपछि जन्म जन्मका पति महादेव भएको हुनाले फेरि पनि महादेवलाईनै पति रुपमा पाउन सकौं भनेर श्री विष्णुको सल्लाह अनुसार पार्वतीले श्री स्वस्थानी परमेश्वरीको व्रत बसेपछि श्री महादेवलाई पार्वतीले पतिका रुपमा पाउन सफल भइन् भने आज पनि त नारीहरुले सत्चरित्रवान्, धार्मिक, ज्ञानी, बुद्धिमानी, विद्वान्, सत्पुरुष पति पाउँ भनेर व्रत बस्दा स्वस्थानी माताको कृपाले त्यस्तो मनको इच्छा पुरा हुँदो हो ।

 

सन्तान नभए स्वस्थानीको व्रत गरे जस्तै श्री गणेशको व्रतले सन्तान प्राप्त भएको कथा सुनेको र फल पाएको पनि देखिएको छ तर धर्ममा राजनीति घुस्नाले तागाधारीहरु छोडेर इतर जातिले ए ! यो त क्षेत्री बाहुनहरुको धर्म पो हो त भनेर धर्ममा पृथकता ल्याए अनि जात पिछेको धर्म बनाए । प्रमाण सहित भन्ने हो भने महादेव र पार्वतीलाई सुम्निमा, पारुहाङ अर्थात् युमासाम थेबासाम भनेर जसजसले मान्दछन् उनीहरुले चाहिँ यहि स्वस्थानी व्रत पालन गर्नु पर्ने हो । किनभने किरात, किरातीनी नै शिव पार्वती हुन् अनि स्वस्थानी व्रत कथामा शिव पार्वतीकै कथा आउँछ अनि पूजा पनि शिवकै हुन्छ । यहाँ स्वस्थानी व्रत कथाको वृतान्त वर्णन गरिरहने आवश्यक देख्तिन किनभने व्रतालुले जानेकै छन्, व्रत नलिनेले वृत्तान्त सुनेपनि पालना गर्दैनन् ।

तसर्थ यहाँ केवल चेतनामूलक छोटकरीमा विश्लेषण गरेको हुँ । सर्वप्रथम हिमालयकी पुत्रीले स्वस्थानी माताको व्रत गरेर रोग, शोक, दरिद्रताबाट मुक्त हुन सकून् भनेर पृथ्वीमा स्वस्थानी माताको महत्व र व्रत विधि सिकाउन अश्वत्थामालाई पठाएकाले पृथ्वीका दुःखी दरिद्रहरुले सो व्रत गरेर सुख शान्ति र आरोग्यता प्राप्त गरेको प्रसंग आउँछ । भेट हुन नसकेका नाग दम्पत्तिको पुनःमिलन भएको कथा आउँछ । कथा प्रारम्भमा श्री स्वस्थानी परमेश्वरीको कथा गंगा पुत्र कुमारले अगस्त्य मुनिलाई सुनाए, व्रत विधि सिकाए, सृष्टि सम्बन्धि वृत्तान्त सुनाए । सृष्टिकर्ता, पालनकर्ता, संहारकर्ता पनि महादेवनै हुनाले विश्व ब्रम्हाण्डका मालिक पनि महादेव नै हुनाले कुनै अवस्थामा पनि महादेवलाई विर्षिनु हुँदैन । शिव भट्ट र सती ब्राम्हण ब्राम्हणीले सिद्धि विनायकको व्रत गरेर धन धान्य प्राप्त गरेको कथा पनि सुनेकै हो तर मानिसहरुलाई विश्वास नलागेर फल पाउँदैनन । अनि गणेशकै आज्ञा अनुसार व्रत गर्दा र काम गरेर भक्तिमति पुत्रि गोमालाई पाउन सकिने रहेछ भन्ने कुरा यो उदाहरणबाट थाहा लाग्छ तर मानिसमा भक्ति भावको अभावले गर्दा न त भक्ति हुन्, न त चिताएको पुरा हुन्छ । दान गर्नमा कन्जुस्याँई गरे वा पक्षपात गरे गोमाले जस्तै परीक्षामा परिन्छ ।

गोमाले भिक्षुलाई मागे अनुसार भिक्षा नदिंदा कति कष्ट भोग्नु प¥यो ? त्यो कथा पनि सबैले सुनेका छन् । महादेवले गोमालाई परीक्षा लिंदा अति कष्ट भोगेको देखेर पार्वतीले महादेवलाई सम्झाएपछि महादेवले गोमाको दुःख हरण गर्न सप्तऋषिलाई पठाएर श्री स्वस्थानी माताको व्रत गराएपछि गोमाको दुःख हरण भयो अनि गोमाको व्रतले नवराज जस्ता राज ग्रहले युक्त सत् पुत्र प्राप्त भयो । यस कथाबाट के कुरो बुझ्नु प¥यो भने सतपुत्र प्राप्त गर्नु सर्वप्रथम मातापिताको भूमिका हुन्छ । मातापिताको भक्तिले त्यस कोखमा असल सन्तान जन्मिन्छन् । जुन मातापिताले सत्कर्म गर्दैनन्, दान, पूण्य गर्दैनन्, ईश्वर उपासना गर्दैनन्, जे मन लाग्यो त्यहि गर्छन्, खानपानमा बिचार गर्दैनन्, तीर्थव्रत गर्दैनन्, मातापिता अतिथिको सत्कार गर्दैनन् त्यस्ता मातापिताको कोखबाट सत्पुत्र अर्थात् असल सन्तान जन्मदैनन् ।

संसार हेरेर यो कुरा पुष्टि भएको देखिन्छ । मानिसहरुले राजदण्डको डर राख्छन् भने देवदण्डको डर राख्तैनन् । किनभने यहि कारणले दण्ड पाइयो, सजाय पाइयो अर्थात् पाइन्छ भनेर थाहा लाग्छ तर देवदण्ड कसरी पाइन्छ ? त्यो कुरो ज्ञानीले मात्रै जान्दछ । मानिसहरु बौलाउनृु, धताउनु, सम्पत्ति नाश हुनु कुन कारणले यो भयो भन्ने कुरो मनन् गर्दैनन् । देवदण्डले जे पनि हुन्छ । आजको युगमा पनि मानिस किन बौलाउँछ, धताउँछ ? देवदण्ड पाउने मानिसले जतिनै औषधिमूलो गरे पनि किन जाती हुँदैन ? उदाहरणमा चन्द्रावतीले श्री स्वस्थानी माताको र व्रत प्रसादको अपमान गर्नाले कति कष्ट भोग्नु प¥यो ? उदाहरण प्रष्ट छ ।