अर्जुनधारामा शैक्षिक गुणस्तर वृद्धि गर्न ३० बुँदे घोषणापत्र जारी « Yalambar Times
३० चैत्र २०८०, शुक्रबार

अर्जुनधारामा शैक्षिक गुणस्तर वृद्धि गर्न ३० बुँदे घोषणापत्र जारी


यलम्वर टाइम्स
१९ असार २०७५, मंगलवार ११:५९

अर्जुनधारा । अर्जुनधारा नगर क्षेत्रको शैक्षिक अवस्था सुध्रिदिकरणसँगै गुणस्तरीय बनाउनका लागि ३० बुँदे शैक्षिक घोषणापत्र २०७५ जारी गरिएको छ ।

‘अर्जुनधारा शैक्षिक नीति, सम्भावना र चुनौति’ विषयक शैक्षिक सरोकारवालाहरुको बीच भएको अन्तरक्रियापछि उक्त घोषणापत्र जारी गरिएको हो ।

घोषणापत्र जारी गर्नु अघि नगर प्रमुख हरिकुमार रानाले अर्जुनधारा नगरले कृषि, पशु र शिक्षालाई उच्च प्राथमिकताका साथ बजेट निर्माण गरी अगाडि बढ्ने लक्ष्य राखिएको हुँदा विद्यालयका शिक्षा प्रमुखहरु एक माना एकता भएर अगाडि बढ्न अनुरोध गरे ।

कार्यक्रममा बोल्दै प्रमुख रानाले भने –‘नगर शिक्षामा लगानी गर्न पछि हट्ने छैन । विद्यालयका प्रमुखहरु नगरले दिहाल्छ । भईहाल्छ नि ! भन्ने सोच राखेर गुणस्तरीयमा ध्यान नपुर्याउने हो भने नगर फूलमाला र सम्मानले उहाँहरुलाई अभिनन्द गर्न पछि हट्दैन ।’

नगरभित्रका विद्यालयहरुमा शिक्षक धेर, विद्यार्थी कम भयो भने त्यस्ता विद्यालयलाई कतै मिलाइने बताउँदै भोलीको भविष्य निर्माणसँगै योग्य नेपाली नागरिक बनाउन मुख्य कारखाना विद्यालय भएको हुँदा प्रमुखहरुको ध्यान त्यसतर्फ केन्द्रीत हुन अनुरोध गरे ।

‘नगरका ६० जना निर्वाचित प्रतिनिधिहरु नगर समृद्ध बनाउन लाग्ने छन्, तपाई विद्यालय प्रमुखहरु असल नागरिक निर्माण गर्न जुट्नु हुनेछ भन्ने नगरले विश्वास लिएको छ । त्यसैले आजैबाट प्रत्येक विद्यालय प्रमुखले संकल्प गर्न जरुरी छ’ प्रमुख रानाले अगाडि भने, ‘हुनमानको तागत र बुद्धको बुद्धत्व विद्यालयका प्रअहरुले अनुसरण गरे नगर समृद्ध हुनमा टेवा पुग्नेछ ।’

कार्यक्रममा शिक्षा अधिकारी योगेन्द्र बराल, नगर उपप्रमुख कमला आचार्य, नगर शिक्षा शाखा प्रमुख जानुका गुरागाईं, शिक्षाविद् कमल गुरागाईं, शिक्षक संगठन अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदी लगायतले मन्तव्य राखेका थिए ।

नगर क्षेत्रका २८ वटा सामुदायिक विद्यालयका प्रअ र निजी विद्यालयका अध्यक्ष रुद्र सिटौलाको सहभागिता रहेको कार्यक्रममा निजी क्षेत्र तथा सामुदायिक विद्यालयका प्रअहरुले आ–आफ्नो जिज्ञासा राखेका थिए ।

कार्यक्रमपछि शैक्षिक जारी गरिएको घोषणापत्रमा शैक्षिक सत्र २०७६ भित्रमा विद्यालय जाने उमेर समूहका सबै बालबालिकाहरुलाई विद्यालय भर्नाको सुनिश्चितता गरिने, अभिभावक विहिन, अति विपन्न, सीमान्तकृत तथा फरक क्षमता भएका बालबालिकाहरुका लागि आवासीय विद्यालय सञ्चालन गरिने, शिक्षालाई रोजगारमुखि बनाउन प्राविधिक विद्यालयको तह तथा स्तरोन्नति, थप प्राविधिक विद्यालय स्थापनका लागि सम्भाव्यता अध्ययन गर्ने, व्यवासयकमुलक, असल आचरण र संस्कारयुक्त शिक्षाका लागि स्थानीय पाठ्यक्रमको प्रारुप तयार गर्न तत्काल विज्ञ समूह निर्माण गरी अध्ययन सुरु गरिने, विद्यार्थीहरुलाई विद्यालयसम्म सहज आवत जावतका लागि नगर बस सेवा सञ्चालन गरिने, सबै विद्यालयमा छात्रा शौचालय, रजस्वलाको समयमा उपयोग हुने सेनिटरी प्याड, आवश्यक औषधि र आराम कक्षको व्यवस्था गरिने लगायतको बुँदाहरु समावेश गरिएको छ ।