अनैतिक क्रियाकलाप गर्ने सात पक्राउ « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

अनैतिक क्रियाकलाप गर्ने सात पक्राउ


यलम्वर टाइम्स
२५ असार २०७५, सोमबार ०६:५४

बिर्तामोड । प्रहरीले यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा तीन भारतीय, दुई नेपाली युवतीसहित सातजनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई झापाको बिर्तामोड नगरपालिका–१ स्थित भ्यु पोइन्ट होटल एन्ड लजबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सामाजिक मर्यादाविरुद्धका विकृति फैलाउने कार्य भएको स्थानीयको गुनासोको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले छापामा मार्दा उनीहरुलाई आइतबार बेलुका नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रहरीले होटलबाट नियन्त्रणमा लिएका भद्रपुर नगरपालिका–६ का २७ वर्षीय प्रनेश अधिकारी, भारत किसनगञ्जका ३२ वर्षीय विनय दास, सोही ठाउँका २० वर्षीय अनवर राइन, २८ वर्षीय आशिक आलम, इलाम माइजोगमाई–४ का २४ वर्षीय प्रकाश विक, पाँचथर रानीगाउ–६ की १९ वर्षीय सुष्मा लिम्बु र इलाम माई–९ की २० वर्षीया रोश्नी तामाङ रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए ।

नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रशासन कार्यालय झापाबाट म्याद गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । झापाका होटलमा यौनजन्य गतिविधि बढेको भन्ने स्थानीयको गुनासो आधारमा प्रहरीले निगरानी बढाएको जनाइएको छ ।

विवेचना दैनिकबाट