अर्जुनधारा जलेश्वर धाममा हजारौं धर्मानुरागीले चढाए जल « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

अर्जुनधारा जलेश्वर धाममा हजारौं धर्मानुरागीले चढाए जल


यलम्वर टाइम्स
२८ श्रावण २०७५, सोमबार ११:११

अर्जुनधारा । साउनको महिना, शिवको महिमा भएको भन्दै पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वरधाममा हजारौं धर्मानुरागीहरुले जल चढाएका छन् ।

यो बेला भगवान शिवको पूजा आराधनासँगै जल चढाए चिताएको पुग्ने जनविश्वास रहेको छ । चार सोमबार रहेको साउन महिनामा यो सोमबार अन्तिम भएको हुँदा जल चढाउनेहरुको घुइचो लागेको हो ।

झापाको बिर्तामोडदेखि ५ किलोमिटर उत्तरमा रहेको यस धाममा जल चढाउनका लागि भारतको सिक्किम, दार्जिलिङ, आसाम र नेपालको पश्चिमी क्षेत्र जनकपुर लगायत विभिन्न स्थानबाट धर्मानुरागीहरुको उलेख्य उपस्थिति रहेको छ ।

भक्तजनहरुको सहजतालाई ध्यानमा राखी विभिन्न उपसमिति गठन गरी सक्रिय रुपमा धाम व्यवस्थापन समिति लागेको जनाइएको छ । धाम समितिले जल चढाउन आउनेहरुका लागि लाइनमा रहेर पालैपालो जल चढाउने मिलाएको अध्यक्ष नविन गट्टानीले बताए ।

धाम समितिसँगै यस क्षेत्रका स्थानीय संघसंस्थाहरु पनि सक्रिय रुपमा खटिरहेको देखिन्थे । अर्जुनधारा उद्योग वाणिज्य संघले धाममा आउने भक्तजनहरुका लागि निःशुल्क खानेपानी वितरण गरिरहेको थियो भने नेपाल मैथली समाजले महाप्रसादको रुपमा खिर लगायत वितरण गरेको छ ।

यस्तै भक्तजनहरुको स्वास्थ्य सेवाको लागि स्थानीय शंकर हस्पिटलले निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था मिलाएको हस्पिटलका डाक्टर मौसम यादवले बताए ।

जल चढाउन आउने भक्तजनहरुको सुरक्षाको लागि जिल्ला ट्राफिक, शनिश्चरे प्रहरी चौकी, सशस्त्र प्रहरीहरु सक्रिय रुपमा खटिरहेका थिए । धर्मानुरागीहरुकै सहजताका लागि यस क्षेत्रका विद्यालयका विद्यार्थीहरु, जुरियर रेडक्रस, हेल्पिङ हेन्डस् लगायतका संस्थाहरु सक्रिय थिए ।

सोही दिन विश्वकै प्रथम महिला जगत गुरु शंखराचार्य हेमानन्द गिरीले अर्जुनधारा जलेश्वर धामको अवलोकन भ्रमण गरेकी थिइन् । उनलाई धाम समितिले सम्मान समेत प्रदान गरेको थियो ।

प्रत्येक सोमबार धाममा जल चढाउन आउने धर्मानुरागीहरु तथा दाताहरुबाट धामको विकासका प्राप्त आर्थिक सहयोग करिब ८ लाख रुपैयाँ रहेको धाम समितिले जनाएको छ ।