मन लोभ्याउने तिम्बुङ (फोटो फिचर सहित) « Yalambar Times
८ बैशाख २०८१, शनिबार

मन लोभ्याउने तिम्बुङ (फोटो फिचर सहित)


यलम्वर टाइम्स
१८ भाद्र २०७५, सोमबार ०८:३९

तिम्बुङ पोखरी ।

[सन्देश सुब्बा]

पाँचथरको याङवरक र ताप्लजेुङको सिदिङवा गाउँपालिका त्यस्तै भारत सिक्किम राज्यको त्रिकोणात्मक संगमस्थलमा अवस्थित छ, तिम्बुङ पोखरी । पाँचथर सदरमुकाम फिदिमदेखि १८ कोष सुदूर उत्तरमा रहेको तिम्बुङ पुग्न सवारी साधनबाट उत्रेपछि दुइ देखि तीन दिनसम्म कठिन पैदल यात्रा गर्नैपर्छ । असारदेखि साउन असोज महिनासम्म तिम्बुङ जाने सबैभन्दा उपयुक्त सिजन हो ।

समुन्द्री सतहदेखि ४४८० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरीको अनुपम शौन्दर्यले मन फुरुङ्ग हुन्छ । चट्टाने पहाडबीचमा रहेको पोखरी आश्चार्यलाग्दो छ । पोखरी दर्शनको क्रममा देखिने बादल र घामको लुकामारी पहिलोपल्ट तिम्बुङ पुग्नेका लागि रोमाञ्चक लाग्छ । करीब चार सय मिटर लम्बाइ र दुइ सय मिटर चौडाइ रहेको स्वच्छ, निर्मल पानीले भरिएको पोखरी हेरेर धित मर्दैन ।

पदमचाल (केन्जो), माइकोपिला, पाँचऔंले, बिख्मा, खोकिम, सुनपाति, भैरुङपाति जस्ता जडिबुटिहरु पाइने तिम्बुङ क्षेत्र जडिबुटिको राजधानी मानिन्छ । तिम्बुङ क्षेत्रमा हिमचितुवा, वनभेंडा, ब्वाँसो, डाँफे जस्ता दुर्लभ वन्यजन्तु पाइन्छन् । कतै फराकिला नागी चाउर त कतै आङ् नै जिरिङ्ग हुने चट्टाने पहरा, छुट्टै दुनियाँ जस्तो लाग्ने चौरी र भेंडा गोठालेहरुको जिन्दगी तिम्बुङ यात्राका मूख्य सौन्दर्य हुन् ।

तिम्बुङ पुगेर दर्शन गरे पुण्य प्राप्ती हुने र मनोकामना पूरा हुने जनविश्वास छ । तिम्बुङ आसपासमा अन्य स–साना पोखरी र कुम्भकर्ण हिमाल आसपासमा एक सय ७८ कुण्डहरु रहेको जानकारहरु बताउँछन् । तिम्बुङ हुँदै कञ्चनजंघा आधार शिबिर पुग्न सकिने त्यहाँका चौरी गोठाला हरि भण्डारीले बताए । यीनै विशेषताका कारण हरेक वर्ष कैंयौं तीर्थयात्री कठिन बाटो छिचोल्दै तिम्बुङ पुग्ने गरेको ताप्लेजुङ सिदिङवा–१, खालीखोलाका फौज भण्डारी बताउँछन् ।

तिम्बुङ पोखरीको नाम स्थानीय लिम्बू भाषाबाट राखिएको बताइन्छ । त्यहाँको चौरी गोठालेहरुका अनुसार पहिले यो पोखरीले बन्दुक पड्केको जस्तो आवाज निकाल्थ्यो । लिम्बू भाषामा बन्दुकलाई ‘तिम्मक/तिम्बक’ भनिन्छ । लिम्बू भाषाको यहीं ‘तिम्मक÷तिम्बक’ शब्दबाट पछि तिम्बुङ पोखरी नाम रहन भएको पाँचथर याङवरक(२, तिम्तिम्बुका समीर बेघा बताउछन् ।

गोठ नै होटल र लज

तिम्बुङ क्षेत्रमा नजिकै मानव वस्ती छैन । चौरी र भेंडी गोठ नै त्यहाँका होटल र लज हुन् । साँघुरो गोठमा गोठालेहरुले सकेसम्मको सुत्ने–बस्ने व्यवस्था मिलाउँछन् । चामल, दाल, तरकारी आफैंले बोकेको छ भने आफैं पकाएर खान सकिन्छ । नभए गोठमै पनि उपलब्ध हुन्छ । फोम्जोलाई बोकाएर खाद्यान्ह र अन्य आवस्यक सामग्री गोठसम्म पु¥याउछन् गोठाला । तर उस्तो महंगो भने छैन । सामान्य खाना प्रतिछाक दुई सय र सुन्त एक रातको प्रतिजिउ एक सय सम्म लाग्छ । गोठमा चौरीको दुध, घिउ र छुर्पी चाख्न पाइन्छ ।

कसरी पुग्ने ?

तिम्बुङ पुग्न जुनै रुट प्रयोग गरे पनि सवारी साधनबाट ओर्लेपछि दुई देखि तीन दिनसम्म पैदल यात्रा गर्नैपर्छ । झापाको चारआलीबाट सुरु हुने मेची राजमार्ग पछ्याएर पाँचथरको गणेशचोकबाट मध्यपहाडि लोकमार्ग प्रयोग गरेर पाँचथरको फलैंचा वा ताप्लेजुङको कालीखोला हुँदै तिम्बुङ पुग्न सकिन्छ । त्यस्तै मध्यपहाडि लोकमार्गको उद्गमबिन्दु चिवाभञ्ज्याङ भएर पनि तिम्बुङ पुगिन्छ । इलामको पशुपतिनगरबाट सन्दकपुर(फालोट रुट प्रयोग गरेर पनि तिम्बुङको यात्रा तय गर्न सकिन्छ ।

महोत्सव हुँदै  

तिम्बुङ पोखरी क्षेत्रको प्रचारप्रसार र पर्यटन प्रबद्र्धनका लागि यहीं २२, २३ र २४ भदौमा ‘तिम्बुङ पोखरी महोत्सव’ हुँदैछ । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले महोत्सव गर्न लागेको हो । उक्त महोत्सव तिम्बुङ पुग्ने अवसर र बहाना दुबै हुन सक्छ ।

तर न्यानो कपडा, हल्का खालको जुत्ता, टोपि, स्लिपिङ ब्याग र हाई अल्टिच्युटबाट बँच्न मकैको सातु, अदुवा, लसुन, केही एन्टिबायोटिक औषधि र बाटोमा भोट मेट्नु प्रशस्तै ड्राइफुड भने बोक्न बिर्सनु हुँदैन ।

फोम्जोलाई भारी बोकाएर लगिंदै ।
खोकिम
पाखनवेद
माइकोपिला
पदमचाल (केन्जो)
गोठमा चौरी गाई दुहुदै गोठाला ।