वडाध्यक्षद्वारा राज्यको सुविधा फिर्ता, तलब सामाजिक कार्यमा « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

वडाध्यक्षद्वारा राज्यको सुविधा फिर्ता, तलब सामाजिक कार्यमा


यलम्वर टाइम्स
२४ भाद्र २०७५, आईतवार ०८:५९

अर्जुनधारा । झापा हल्दिवारी गाउँपालिका–४ का वडाध्यक्ष होम चुडालले राज्यले दिएको यातायात सुविधा फिर्ता गर्नुका साथै वडाध्यक्षको तलब सामाजिक कार्यमा लगानी गरेका छन् ।

पाँचवडा वडा रहेको हल्दिवारी गाउँपालिकामा जनप्रतिनिधिका रुपमा कांग्रेसबाट एकमात्र निर्वाचित वडा नम्बर–४ का वडाध्क्षय होम चुडालले राज्यले दिएको सुविधा एक कार्यक्रमका बीच फिर्ता गरेका हुन् ।

वडाध्यक्ष चुडालले आफ्नै वडामा आयोजित एक कार्यक्रमका बीच राज्यबाट प्राप्त टिभिएस कम्पनीको मे १ ब ५५६ नम्बरको अपाचे मोटरसाइकलको चावी हल्दिवारी गाउँपालिकालाई फिर्ता गरेका हुन् ।

१ नम्बर प्रदेशका सांसद ओम सरावगीको प्रमुख आतिथ्यमा भएको सुविधा फिर्ता कार्यक्रममा गाउँपालिकाकातर्फबाट उपस्थित कर्मचारी प्रतिनिधि वडासचिव बिशाल काफ्लेलाई वडाध्यक्ष चुडालले मोटर साइकलको चावी बुझाएका हुन् ।

त्यस्तै गाउँपालिकाबाट प्राप्त एक वर्षको तलब विभिन्न सामाजिक संघसंस्थालाई हस्तान्तरण गरेका छन् ।

एक वर्षमा प्राप्त लगभग दुईलाख २० हजार रकमबाट आफ्नो वडाभित्रका सामुदायिक विद्यालय दिपेन्द्र प्राविमा अध्ययनरत कक्षा १–५ सम्मका छात्र छात्राका २७५ जना विद्यार्थीका लागि स्कूल व्याग, महेन्द्र माविमा सञ्चालित मिदास इ–क्लास सफ्टवेयरसहित एकलाख २४ हजार तीनसय ७५ रुपैयाँ, स्थानीय किराँतेश्वर गुरुकुललाई ७० हजार, पाथीभरा पर्यटकीय विकास क्षेत्रको पितृ सुक्त कार्यक्रमका लागि १५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

मोटरसाइकल हस्तान्तरण गर्नु अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष चुडालले जनप्रतिनिधि भएर जनताले नै तिरेको करबाट आफूले सेवा सुविधा लिनु उपयुक्त नहुने आफूलाई महसुस भएपछि सरकारी सेवा सुविधा फिर्ता गरेको बताए ।