निर्मला पन्त हत्या काण्ड र प्रहरी प्रशासन « Yalambar Times
८ बैशाख २०८१, शनिबार

निर्मला पन्त हत्या काण्ड र प्रहरी प्रशासन


यलम्वर टाइम्स
३० भाद्र २०७५, शनिबार ०३:२१

[नरेश खाती]

कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना र त्यसको दोषी पत्ता लाग्न नसक्नुले धेरै प्रश्नहरु उब्जाएको छ । यो घटनाले प्रहरी प्रशासन, गृह मन्त्रालय र सरकारले दिने शान्ति सुरक्षामाथि गम्भिर प्रश्न खडा गरेको छ ।

प्रहरीमाथिको घट्दो विश्वास

जनताको सुरक्षा गर्न राज्यले व्यवस्था गरेको प्रशासनिक संगठन हो प्रहरी संगठन, जसको काम देशमा शान्ति सुरक्षा गर्नु हो । प्रहरीको सुरक्षा पाएर जनता आफ्ना दैनिकी बिताउँछन् । अफसोच जनतालाई शान्ति सुरक्षा दिने निकायका प्रहरी नै निर्मला हत्या काण्डबाट शंकाको घेराभित्र परेका छन् । प्रहरीले निर्मला बलात्कार र हत्यामा दोषी ठहर गर्दै हिरासतमा राखिएका दिलिपसिंह बिष्ट अदालतको आदेशमा मुक्त भएका छन् । आफूलाई प्रहरीले बन्दुकको टुप्पोले घोचेर अपराध सकार्न दबाव दिएको विष्टको आरोप छ । प्रहरीले दोषी हो भनिएका विष्ट निर्दोष सावित भएका छन् । यसले अपराध अनुसन्धानमा प्रहरीको फितलो भूमिका देखिएको छ । स्थानीय प्रहरीलाई सहयोग गर्न गएको सीआईबीका तत्कालिन एसएसपी डिल्लीराज बिष्टको भूमिका शंकास्पद देखिएपछि उनलाई निलम्बन गरिएको छ । उनी अपराधी पत्ता लगाउनभन्दा घटना दबाउनेतर्फ लक्षित भएको पाइएको छ ।

निर्मला पन्त हत्याको छानविन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीले भदौ २५ गते सोमबार समितिको छानविनबाट निर्मलाले न्याय नपाउने भन्दै राजीनामा दिए । उनले पत्रकार सम्मेलनमा आफूलाई सुरक्षा थे्रट रहेका समेत खुलासा गरेका थिए । पछि गृहमन्त्रीसँग भटेर सुरक्षाको ग्यारेण्टी र सत्य तथ्य, स्वतन्त्र छानविन गर्न सक्ने वातावरणको अश्वासन पाएपछि उनी काममा फर्किएका छन् । आशा गरौं अब निर्मला हत्याकाण्डका दोषी पत्ता लाग्नेछ र कार्बाही हुनेछ ।

नेपालको प्रहरी संगठनमा भएका केही खराब आचरणका प्रहरीहरुका कारण गौरवमय इतिहास बोकेको प्रहरी यसरी बदनाम हुनु देशकै निमित्त लज्जाको विषय हो । अर्कोतिर उच्चस्तरीय अपराध अनुसन्धानमा खटिएका छानविन समितिका सदस्यसमेत स्वतन्त्र छानविन गर्नबाट बन्चित हुन र उनीहरुमाथि सुरक्षा थ्रेट हुनुले सर्वसाधरण जनताले कसरी सुरक्षा अनुभूति गर्न सक्लान् ? गम्भिर प्रश्न खडा भएको छ ।

घरभित्रै बलात्कारी

घर कुनै पनि व्यक्तिको सुरक्षित स्थान हो । तर घर नै स्त्रीका निमित्त असुरक्षित स्थान बनिरहेको छ । महिला हिंसा र बलात्कारका घटनामा अधिकांश पीडक पुरुष, घरभित्रको आफ्न्त र नजिकैका छिमेकी हुने गरेको तथ्य फेला परेको छ । कैलालीको घोडाघोडी नगरपालिका ६ की १४ वर्षीया बालिका नाताले फूपूको छोराबाट बलात्कृत भइन् । घरमा कोही नभएको मौका पारेर ३३ वर्षिय हर्कबहादुर कुँवरले बालिकामाथि यस्तो कार्य गरेका हुन् । रोल्पामा एक ६ वर्षिया बालिका आफ्नै १५ वर्षीय दाईबाट बलात्कृत भइन् । भोजपुर साल्पासिलिछो गाउँपालिकामा ११ वार्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । बालिकाको बलात्कार गरी हत्या आरोपमा नाताले मामा पर्ने संखुवासभा खाँदबारी नगरपालिका बस्ने २० वर्षीय सञ्जय राई पक्राउ परेका छन् ।
महिलाहरु घरभित्रै कहिलेसम्म असुरक्षित रहने ? हामीलाई घरपरिवारले कस्तो संस्कारमा हुर्कउँदैछ ? यस्तो संस्कार हुनुमा जिम्मेवार को छ ? यसको लेखाजोखा गर्ने बेला आएको छ ।

बलात्कारको भयाभय स्थिति

नेपाली समाजमा दिनानु दिन बलात्कारका घटना बढीरहेका छन् तथ्यले देखाएको छ । बलात्कार महिला हिंसाको चरम अवस्था हो । बलात्कारपछि हत्या पनि हुने गरेको छ । पछिल्लो विगत चार वर्षको अवधिमा ४ हजार ४ सय ४५ बलात्कारका घटना भए छन् । आ.व. ०७४÷०७५ मा मात्रै १ हजार २ सय ४४ जना महिला बलात्कृत भएका छन् । यो विगतको तुलनामा बढेको तथ्यांक हो ।
सार्वजनिक भएको तथ्य अनुसार हरेक दिन ३ जना महिला बलात्कृत हुन्छन् र २ महिलामाथि बलात्कार प्रयास हुन्छ । जसमध्ये १० वर्ष देखि १६ वर्षसम्मका बालिका धेरै पिडित रहेको पाइएको छ । दोस्रोमा १० वर्षमुनिका बालिका बलात्कृत हुनेमा पर्दछन् । दिनानु दिन बलात्कारका घटना हुनुमा नेपाली समाज सभ्य छैन भन्ने दृष्टिगोचर हुन्छ ।

दुई तिहाईको सरकारमाथि प्रश्न

इतिहासमा सबैभन्दा शक्तिशाली सरकारको रुपमा वर्तमान सरकार रहेको छ । नेकपा कम्युनिष्ट पार्टी र दुई दल राजपा, संघीय समाजवादी पार्टीको समर्थनमा दुइ तिहाईको सरकार छ । यो सरकारलाई पाँच वर्षसम्म आफ्नै दलका नेता बाहेक अरुले हल्लाउन स्थिति छैन । विगत जस्तो केही महिनामै सरकार परिवर्तन नहुने हुँदा कर्मचारीतन्त्रले हेपी हाल्ने अवस्था पनि छैन । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा प्रत्याभूति दिने पटक पटक वाचा गर्दै आएका छन् । तर पनि सरकार किन समान्यभन्दा सामान्य घटनामा पनि आफ्नो उपस्थिति देखाउन सकिरहेको छैन ? कञ्चनपुर हत्याकण्डका दोषीलाई कारवाहीको माग गर्दै सडकमा उत्रिएका जनतामाथि प्रहरी दमनमा उत्रियो । सन्नी खुनाले ज्यान नै गुमाउनु पर्यो । झापामा विगत केही महिना अघि एक बालकको हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक व्यक्तिको ज्यान गयो भने दर्जनौ घाइते भएका छन् । अझै कतिपय घटनाका वास्तविक दोषीलाई कानूनी कठघारामा ल्याउन सकिएको छैन । अपराधी किन अपराध गर्न डराउँदैनन् अपराधमा किन बढोत्तरी भईरहेको छ । जनतामा भय झन बढेको छ । यसले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न खडा गरेको छ ।

नेपाली समाज कता जादैछ

हाम्रो समाजमा हुने अधिकांश बलात्कार र महिला हिंसाका घटनामा घरभित्रका र छिमेका व्यक्तिको संलग्नता देखिएको छ । विषेश गरी बलात्कारका घटनाका दोषी पुरुषहरुमा ११ वर्षिय बालकदेखि ७० वर्षका वृद्धसम्म छन् । ती मध्ये अधिकांश बाबु, दाजु, काका, मामा, फूपाजु, छिमेकी बलात्कारीका रुपमा देखिएका छन् । हिजोभन्दा आज शिक्षितको जमात पनि बढेकै छ । समाज हिजोको तुलनामा सभ्य भएको भनिन्छ नियम कानून पढ्ने संख्या बढेको छ । तथापि नेपाली समाजमा किन दिनानु दिन बलात्कारी पुरुष जन्मिरहेका छन् ? यसो हुनुमा दोष कसको छ ? खोजको विषय बनेको छ ।

अन्त्यमा हाम्रो भूमिका के हुन्छ

संघीय गणतन्त्र नेपालको तीन तहकै निर्वाचन सम्पन्न भएको छ । संघीय, प्रदेश र स्थानीय तहलाई देशमा आवश्यक कानून निमार्ण गर्न मार्ग प्रशस्त भएको छ । देशमा प्राकृतिक स्रोत साधनको उपयोग गरेर आर्यआर्जन गर्न सकिन्छ । महिला हिंसा रोक्ने राज्यमा मौजुदा नीति कार्यान्वयन गर्न र नयाँ नीति बनाई लागू गर्न अब ढिला गर्नु हुँदैन । स्थानीय तहका जन प्रतिनिधिले आफ्नो बजेटमार्फत कार्यक्रम ल्याउन सक्छन् ।

समाजका अगुवा, नागरिक समाज, पत्रकार, कानून व्यवसायी, राजनीतिक दल, महिला अधिकारकर्मी, संघसंस्था, सहकारी संस्था, महिला समूले आफ्नो कार्यक्रममा सामाजिक रुपान्तरण विषय समावेश गरी चेतना जागृत गर्न सक्छन् । पीडित महिला स्वंयमले पनि आफूलाई भएको उत्पीडनलाई नलुकाई न्यायका लागि पहल गर्नु आवश्यक छ ।

नरेश खाती