‘नेपाली साहित्य विश्व साहित्यसँग प्रतिस्पर्धा गराउन असम्भव’ « Yalambar Times
८ बैशाख २०८१, शनिबार

‘नेपाली साहित्य विश्व साहित्यसँग प्रतिस्पर्धा गराउन असम्भव’


यलम्वर टाइम्स
१० आश्विन २०७५, बुधबार ११:०६

काव्य चौतारी घर दमकले आयोजना गरेको साहित्यीक कार्यक्रममा सहभागिहरु ।

दमक । साहित्यकार डा. गोविन्दराज भट्टराईले नेपाली साहित्य विश्व साहित्यसँग तत्काल प्रतिस्पर्धा गराउन असम्भव रहेको बताएका छन् ।

काव्य चौतारी घर दमकको आयोजनामा दमक–३ स्थित दुम्सेमा भएको बृहत श्रष्ठा भेटघाट काव्य चौतारी कार्यक्रमको उद्घाटन गर्दै डा. भट्टराईले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साहित्यकार डा. भट्टराईले अहिलेसम्मकै विश्व साहित्यमा नेपालको उपस्थिति लज्जास्पद रहेकोे बताउँदै अनुबादकलाई राज्यस्तरमा सम्मान तथा पुरस्कारको व्यवस्था हुनुपर्ने माग समेत राखेका थिए ।

कार्यक्रममा बोल्दै साहित्यकार डा. भट्टराईले नेपाली साहित्य विश्व साहित्यसम्म पुग्न नसक्नुमा अनुवादकको कमि रहेको बताए ।

नेपाली साहित्यले विश्व साहित्यको सामान्य मापदण्ड समेत पूरा गर्न नसकेको डा. भट्टराईको तर्क छ ।

आधुनिक नेपाली साहित्यको शुरूवात भए पनि अहिलेसम्म नोबेल पुरस्कारको प्रतिस्पर्धामा नेपाली साहित्य नपुग्नुमा अनुवादकको कमि र राज्यद्वारा प्रोत्साहन नगरिनु मुख्य कारण रहेको डा. भट्टराईले बताए ।

कार्यक्रममा पुर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले विचारसँगै माथि उठेर साहित्य सिर्जना गर्नु पर्ने बताए ।

कार्यक्रममा भवानी क्षेत्री, सीता आस्था ढुङेल, कविता शिवाकोटी, राधा भट्टराई, बिमला कार्की, रामबाबु बर्साद, राज माङ्लाक, टंंक आचार्य, प्रभा आचार्य, बिराट किराँती, रोहित खपाङी धनकुटे कान्छो, पदम दुःखी सम्बाहाम्फे, चोमु शेर्पा, मुना मन्जुरी, नवीन बराल, जितेन मुस्कान, दुर्गा बुढाथोकी लगायत झापा, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङका पाँच दर्जन बढी कविहरुले रचना पाठ गरेका थिए ।

सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पु‍र्याए बापत श्रष्ठाहरुलाई सम्मान गरिएको थियो ।

एलपी जोशीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन राजकुमार खड्गाले गरेका थिए भने स्थानीय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।

सोही दिन साहित्यकार राजकुमार खड्गाले आफ्नो जन्मदिनको अवसरमा चुलाचुलि आधारभूत विद्यालयका गरिव तथा जेहन्दार दुइजना छात्र छात्रालाई पुरस्कार तथा खड्गाका बुबा आमालाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।