तिनी को थिइन् ? « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

तिनी को थिइन् ?


यलम्वर टाइम्स
२२ आश्विन २०७५, सोमबार १०:३९

[लक्ष्मीप्रसाद सुब्बा]

सन् १९८० सालमा म दार्जिलिङको निम्कि डाँडाको गाँधी रोड–६२ स्थित श्री हंस बैकुण्ठ धामको सानु चउरमा उभिएर तल्लो गाउँको, उता दक्षिणको भोटे गाउँ (ल्हासा भिल्ला) तिर बेलुकाको चहलपहल हेर्दै थिएँ, त्यतिकैमा हुस्सुले ड्याम्म छोपेर ल्यायो ।

समय साँझ परेको थियो, त्यतिकैमा तीन जना युवाहरुले एउटी युवतीलाई धामको गेटसम्म ल्याएर लु, जाउ ल बहिनी ! भनेर ती युवाहरु फनक्क फिरेपछि ती युवती धामतिर बढ्न लागिन् । रातो साडी, रातै चोली लगाएकी, एउटा झोला, रुमाल, मजेत्रो, खुट्टामा चप्पल धरी नभएकी, कालो कपाल समेटिएको तर नबाटिएको र सफा सुग्घर स्थितिमा देखिन्थिन्, ती युवती ।

तर गहनागुरिया भने केहि पनि नलगाएकी । हाँस्न, मुस्काउन, गफ गर्नु, कसैसित आँखा जुझाएर बात नगर्ने ।

चिनापर्चि, गफगाफ गर्दा–गर्दै बेलुकाको भोजन गर्ने बेला भयो र भोजन गर्ने संकेतको घण्टी बज्यो । हामी सबै भोजनालयतिर बढ्न लाग्यौं । ती अतिथि युवतीलाई पनि भोजन गर्ने आग्रह गर्दा उनले केही पनि नखाने भनेपछि उनलाई सभाकक्षमा बस्तै गर्ने सल्लाह दिएर हामी भोजन गर्न गयौं । भोजन गरेर आउँदा ती युवती सभाकक्षको भित्तामा टुसुक्क अडेसिएर दुई घुँडाको बीचमा च्यापु अड्याएर बसेकी रहिछन् ।

हामीले बहिनीले त केही पनि नखाने, खान्न भन्नुभयोभन्दा उनले भनिन् अँहँ म त केही पनि खान्न भनिन् । के व्रत छ ? भनेर सोध्दा भनिन्, ‘छैन है ।’ किन नखाने त भन्दा फेरी भनिन्, ‘केही पनि खान्न है ।’ कहिलेदेखि केही नखाएकी ? भन्दा म कहिले पनि केही खान्न भनेपछि हामी छक्क प¥यौं । फेरि सोध्यौं व्याग, झोला केही पनि छैन त भन्दा उनले भनिन्, ‘अँहँ छैन ।’ गहना पनि लगाएकी छैनौ त भन्दा भनिन्, ‘अँहँ छैन है ।’

गोरी, सुन्दरी, झर्झराउँदि र पातलो शरीर भएकि, एक्ली ! मानौ उनी स्वर्गबाटै झरेकि अप्सरा जस्ती युवतीलाई सुत्न, बस्नको लागि मैले एउटा सानो कोठा देखाएर भनें, ‘यहाँ सुत्नु, बस्नु, भित्रबाट चुकुल लगाउनु है ।’ त्यसपछि हामी सबै धामबासी आफ्नो आफ्नो ओछ्यानमा थान्का लाग्यौं । बिहान सबै उठ्यौं । ती युवती पनि कोठाबाट बाहिरिन ।

बिहानको चिया खाजा पनि तिनले खाइनन् । म चाहिं चिया खाजा खाएर दुई तीन महिनाका लागि सिक्किमतिरको भ्रमणमा हिडिंहालें । म दार्जिलिङबाट धुम, सोनादह, लप्चु, पाष्टिङ, टिष्टा बजार झरेर टिष्टाको तत्कालिन झोलुङ्गे पुल पार गरेर सिक्किमको मल्लि पुगेर भ्रमण शुरु गरें, केराबारीबाट ।

तीन महिना भ्रमण गरेर सिलगडीको बैरागी पाडास्थित श्री हंसबेला आश्रम आइपुग्दा ती युवतीलाई त्यही देखें र सोधे बहिनी ! तपाई यहाँ कसरी र कहिले आउनु भयो ? तिनले भनिन्, ‘म आफैं अस्ति आएँ है ।’ म छक्क परें । लुगा, फाटा तिनै छन्, कुनै परिवर्तन देखिएन ।

आश्रममा बसेर लुगा धुनु, साफ–सफाई गर्नु, धन्दा गर्नु सबै कुरामा लागिरहने, जाडो–गर्मी जस्तै अवस्थामा पनि पातलो पहिलेकै वस्त्र कहिले फेरेको, धोएको, नुहाएको देखिएन । सबै काम गरे पनि तिनको लुगा मैलो भएको देखिएन । आश्रममा दुई तीन महिना रहँदासम्म कहिले केही खान मानिनन् ।

कहिले पनि भोक, तिर्खा, निद्रा लागेन भन्ने, थकाइ लाग्यो होला एकछिन बिसाउनु नि भन्दा अँहँ थकाइ लागेको छैन है भन्ने । जहिले पनि अलग्गै बस्ने गर्थिन् । ती युवती कहिले सुतेको देखिएन, सुत्ने ओछ्यान देखाइदिंदा अँहँ म त सुत्दिन है, निद्रा लाग्दैन भन्दा अँह लाग्दैन है भन्ने अनि राती सबै सुत्दा उनी चाहिँ लिस्नुका थाप्लामा दुई खुट्टा तल टेकेर टुसुक्क बसेर दुई घुँडाको बीचमा चिउँडो टेकाएर रात बिताउँथिन् । जतिखेर पनि हे¥यो त्यसरी नै बसिरहेकि हुन्थिन् ।

कहिले शौचालयमा पसेको पनि देखिएन । तिनको चालामाला देखेर हामी सबै तिनकै बारेमा बिचार गर्न लाग्यौं । केहि पो भइहाल्छ की ? केहि पो गरिहाल्छे की ? भनेर सबैजना सतर्क रहन्थ्यौं । कहिले पनि उनी आफैं बातचित नगर्ने, कुनै कुरा सोध्यो भने त्यसको एउटा उत्तर ‘हुन्छ वा ‘हुँदैन’ मात्र भन्ने । कुनै कुरा दोहो¥याएर नबोल्ने । हामीले पालैपालो तपाई के हो ? भन्दा केहि पनि होइन भन्ने । तपाई देवी हो ? भन्दा होइन है !, तपाई चुडेल हो ? होइन है !, तपाई अप्सरा हो ? होइन है ! तपाई के हो त ? भन्दा केहि पनि होइन है ! भन्ने ।

नाम, ठेगाना दिनै पिच्छे फरक–फरक बताउने, जात, थर पनि दिनै पिच्छे फरक–फरक बताउने । ठीक ठीक भन भनेर जतिनै डर देखाए पनि डर नमान्ने, डर लाग्दैन भन्दा अँहँ लाग्दैन है । बटुकामा अकबरे खोर्सानीको झोल लिएर यदि आज आफ्नो परिचय दिइनस् भने तेरो आँखा, नाकमा यो खोर्सानीको झोल हालिदिन्छौं भन्दा किन ? भनेर उल्टै प्रश्न गर्ने ।

परिचय माग्दा माग्दा हामी दिक्क भयौं, डरायौं पनि । वास्तवमा ती युवती को थिइन् ? कसैले खुट्टयाउँन सकेनन् । तीन महिना दार्जिलिङको श्री हंस बैकुण्ठ धाममा र तीन महिना जति सिलगडीको श्री हंसबेला आश्रममा बसेपछि पनि कसैले चिन्न जान्न नसकेपछि धामी झाँक्रिहरु तीनको पछि लाग्दा ती युवती कहाँ हराइन, कसैलाई पनि थाहा भएन । आजसम्म पनि देखे, जानेको छैन । वास्तवमा ती युवती को थिइन् ?

लक्ष्मीप्रसाद सुब्बा