शनिश्चरेमा अनुगमन « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

शनिश्चरेमा अनुगमन


यलम्वर टाइम्स
२७ आश्विन २०७५, शनिबार ११:००

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले चाडवर्पको पूर्वसन्ध्यामा बजार अनुगमन गरेको छ । अनुगमन टोलीले शुक्रबार शनिश्चरे बजार क्षेत्र अनुगमन गरेको हो । चाडपर्वको बेलामा अखाद्य वस्तुको प्रयोग हुन सक्ने भन्दै अनुगमन थालेको बताए ।

नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक कमला आचार्यको संयोजकत्वमा शनिश्चरे प्रहरी चौकी, अर्जुनधारा उद्योग वाणिज्य संघ, विभिन्न विषयगत शाखा तथा पत्रकारको टोलीले शनिश्चरे बजार क्षेत्रका विभिन्न २७ वटा पसलमा अनुगमन गरेको थियो ।

टोलीले अनुगमनका क्रममा व्यवसाय दर्ता, नविकरण गरे–नगरेको, राजस्व तिरे–नतिरेको र म्याद गुज्रेको अखाद्य वस्तु, नापतौलको प्रमाणपत्र, स्थायी लेखा प्रमाणपत्र, मासुको गुणस्तर लगायतको अनुगमन तथा निरीक्षण गरेको थियो ।

४ वटा होटेल तथा मिठाई पसल, ७ वटा किराना, १ वटा कोल्ड सेन्टर, २ वटा पान पसल, २ वटा मासु पसल, १ वटा खाजा घर, १० वटा फलफूल पसलमा अनुगमन गरेको अनुगमन समिति संयोजक तथा नगर उपप्रमुख कमला आचार्यले यलम्वर टाइम्सलाई बताइन् ।

बजार अनुगमनलाई निरन्तरता दिने बताउँदै अनुगमन समिति संयोजक आचार्यले प्रचलित नियम पुर्याएर व्यवसाय सञ्चालन गर्न व्यापारी व्यवसायीलाई आग्रह समेत गरेकी थिइन् ।

बजार अनुगमनको क्रममा अनुगमन टोलीले ११ किसिमका म्याद गुज्रेका खाद्य वस्तु र शनिश्चरे बजारको एक होलसेल किराना पसलबाट म्याद गुज्रेका १० काटुन बाबा तेल, सडपि हेल्थ तेल फेला पारेका थियो ।

अनुगमन टोलीका सदस्य तथा कृषि विकास शाखा अधिकृत शालिकराम भट्टराईले व्यवसायी संघमा दर्ता भए पनि धेरैजसो व्यापारी व्यवसायी स्थानीय तहको दर्तामा नआएको भेटिएकाले पुर्णतया दर्ता गरी कागजात देखिने गरी पसलमा झुण्ड्याउन आग्रह गरे ।

दर्ता प्रक्रियामा नआएका विभिन्न मासु पसलमा समेत टोलीले विशेष निगरानी गर्दै स्वास्थ मासु बिक्री वितरणमा ध्यान पुर्याउन मासु पसलेलाई आग्रह गरेका थिए ।


शनिश्चरे उद्योग वाणिज्य संघका उपाध्यक्ष गोविन्द्र खतिवडाले धेरै जसो व्यवसायीले निश्चित सामाग्री बिक्री गर्छ त्योभन्दा धेरै आफ्नो लागि खरिद गर्ने बताउदै दर्ता गरी पैसा कमाउने नाममा मानव स्वास्थ्यमा खेलवाड नगर्न व्यापारीलाई आग्रह गरें ।

मानिसको जीवनमा सिधै असर पर्ने खालका म्याद गुज्रेका खाद्य वस्तु नराख्न र राख्दा समेत सचेत भई म्याद हेरेर राख्न उनले व्यवसायीलाई आग्रह गरे ।

बिक्री गर्ने सामानको म्याद हेर्नु व्यापारीको दायित्व भएको बताउँदै खतिवडाले भने, ‘म्याद नागेको छ भने कम्पनी वा खरिद गरिएको पसलमा फिर्ता पठाइदिनुहोस् ।’

व्यापारी र ग्राहक सचेत हुनुपर्ने बताउँदै राष्ट्रिय उपभोक्ता मञ्चकी झापा प्रतिनिधि बिमला भट्टराईले सामान किन्ने बेलामा क्रेताले कस्तो सामान किन्दैछु भन्ने कुरामा ध्यान दिए म्याद गुज्रेका वस्तु किनबेचमा केही हदसम्म कम हुने बताइन् ।

अनुगमन समितिका संयोजक एवम् उपप्रमुख कमला आचार्यको संयोजकत्वमा बजार अनुगमनमा निस्केको टोलीमा शनिश्चरे प्रहरी चौकीका प्रतिनिधि, शनिश्चरे उद्योग वाणिज्य संघका उपाध्यक्ष गोविन्द खतिवडा, नगरपालिका कृषि शाखाका प्रमुख शालिकराम भट्टराई पशुशाखा प्रमुख पदम राई, स्वास्थ्य शाखाका संयोजक मुकुन्द बस्नेत, बोर्ड सदस्य तथा अनुगमन समितिकी सदस्य दिलमाया दास सहित पत्रकार तथा सरोकारवाला अनुगमन टोलीमा सहभागी थिए ।