झापाका ट्राफिक प्रमुखको कार्यशैली « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

झापाका ट्राफिक प्रमुखको कार्यशैली


यलम्वर टाइम्स
१४ कार्तिक २०७५, बुधबार १०:४४

२४ कात्तिक २०७४ बाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुख भएर आएका प्रहरी निरीक्षक राजेश राइले प्रहरीमा जागिर खाएको २८ वर्ष ६ महिना भयो । २८ वर्षमा उनले पहिलो पटक कार्यालय प्रमुखको जिम्मेवारी पाएका हुन् ।

झापा आउनुअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यारत् थिए । प्रहरी प्रधान कार्यालयको सचिवालयमा उनी प्रशासन शाखामा काम गर्थे । त्यहाँ रहँदा कहिल्यै बाहिर कुद्नु पर्दैन थियो । केही नयाँ अनुभव लिने उद्देश्यले उनी झापालाई रोजेर ट्राफिक प्रमुखको जिम्मेवारी सम्हाल्न आएको ११ महिना पूरा भइसकेको छ ।

२०२४ सालमा संखुवासभा जिल्लामा जन्मिएका राईले धरानमा अध्ययन गरे । राईसँगै कलेज पढेका हुन् जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल र एक नम्बर प्रदेशका गृहमन्त्री हिक्मत कार्कीले पनि । ५१ वर्षे प्रहरी निरीक्षक राईको स्थायी बसोबास मोरङ सुन्दरहरैँचा हो । त्यसकारण पनि उनलाई एकपटक पूर्वमै आएर काम गर्ने रहर जाग्यो ।

प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी सेवामा प्रवेश गरेका राईले जागिरको २८ वर्षसम्ममा सुनसरी, मोरङ, ओखलढुंगा, उदयपुर, इलाम, वीरगञ्ज लगायत थुप्रै स्थानमा काम गरे । ट्राफिक प्रहरी महाशाखा रामसाहपथ, प्रहरी प्रधान कार्यालय, पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा पनि उनी बसे ।

‘प्रहरी प्रधान कार्यालय नक्सालमा चाहिँ सबैभन्दा बढी ६ वर्ष बसेँ,’ उनी भन्छन्, ‘जागिर सुरु गरेयता पहिलो पटक कार्यालय प्रमुख भएर झापा आउने मौका पाएँ ।’

झापालीबाट भरपूर सहयोग

कार्यालय प्रमुख भएर काम गरेको अनुभव यसअघि नभएकाले उनमा आत्मविश्वास कम थियो । तर, झापा आइसकेपछि जब उनी फिल्डमा उत्रिए, झापाबासी र उनकै कार्यालयका अन्य प्रहरी कर्मचारीको भरपूर सहयोग पाए । ‘सबैको सहयोगले झापामा काम गर्न सहज भयो, गौरव महसुस गर्दैछु, झापामा मैले राम्रै गरेँ भन्ने लाग्छ, जिल्ला हाँक्न सकेँ भन्ने महसुस हुन्छ,’ उनले भने ।

यो ११ महिनाको अवधिमा उनी कहिल्यै विवादमा परेनन् । माथिल्ला निकायबाट प्रशंसा पाइरहे । उनी राजधानीबाट सरुवा भएर झापा आउँदा बिर्तामोडमा भर्खरै एउटा घटना भएको थियो । ट्राफिक प्रहरी कार्यालयको अवस्था नाजुक थियो ।

बिर्तामोडमा प्रहरीसँग भएको झडपका क्रममा ट्राफिक कार्यालयको भवनको झ्याल–ढोका लथालिंग भएको थियो । झापाका आवश्यक स्थानमा जेब्राक्रस थिएन, सवारीसाधन पार्किङ गर्ने स्थान थिएन ।

बिस्तारै उनले यी सबै कुराको व्यवस्थापन गरे । सबैभन्दा पहिले फुटपाथका पसलहरु हटाए । छोटा हात्ती, ट्याम्पो र भित्री सडकका बसलाई पनि निश्चत ठाउँमा पार्किङ गर्ने व्यवस्था मिलाए । ट्राफिक प्रमुख राईले काँकरभिट्टा र दमकमा पनि फुटपाथका पसल हटाउने काम गरे ।

राईको कार्यशैली देखेपछि मुलुकमै ख्याती कमाएको संस्था सहारा नेपालले पनि लाखौँ रुपैयाँ पर्ने राडार गन उपलब्ध गरायो । राडार गन र ब्रेथलाइजर मेसिन बोकेर उनको टिम सडकमा उत्रिएपछि विगतका तुलनामा आधा दुर्घटना घटेको छ ।

यस्तो छ दैनिकी

राई बिहान ५ः३० बजे उठ्छन् । डेढ घण्टा व्यायाम गर्छन् । युनिफर्म लगाएपछि सबैलाई भेला गरेर दिनभरको कामका लागि निर्देशन दिन्छन् । उनी आफैँ पनि दिनभर फिल्ड कुद्छन्, अफिस सम्हाल्छन्, कार्यक्रमहरुमा पनि पुग्छन् । साँझ परेपछि ड्युटी चेक गर्दै हिँड्छन् । राति १० बजेसम्म आफैँ सडकमा खटिन्छन् कहिले काँकरभिट्टा पुग्छन्, कहिले दमक ।

कहिले उनी ठूला सवारीबाट प्रेसर हर्न निकाल्दै गर्दा भेटिन्छन् । कहिले नम्बर प्लेट स्पष्ट नभएका गाडीलाई रोकेर नम्बर लेख्न लगाउँदै हुन्छन् । कहिले मोडिफाइ गरेका सवारीसाधन नियन्त्रणमा लिएर जरिवाना गर्दै हुन्छन् । हाल उनी जुत्ता नलगाइ गाडी चलाउने चालकलाई ठाउँको ठाउँ कारबाही गर्ने अभियानमा छन् ।

‘झापामा सामाजिक संघसंस्था धेरै रहेछन्, सबैबाट मैले भरपूर सहयोग पाएँ,’ ट्राफिक प्रमुख राईले भने, ‘ट्राफिक जनचेतना कार्यक्रम गर्न सबैले सहयोग गरे, मिडियाबाट उस्तै सहयोग पाएँ, स्थानीय सरकारबाट पनि सहयोग निरन्तर छ ।’

भवन शिलान्यास गर्ने सपना

दिनहुँ गरिरहेको ट्राफिक व्यवस्थापनको कामबाहेक राईसँग एउटा सपना छ । हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रहेको बिर्तामोडको भवन सडकको ८२ फिटभित्र पर्छ ।

त्यो थाहा पाएपछि उनी ट्राफिक प्रहरीको भवन बनाउनभन्दै जग्गाको खोजीमा लागे । बिर्तामोड नगरपालिकासँग पहल गरे । नगरपालिकाले पनि बिर्ताबजारमा ८ कट्ठा जग्गा दिने निर्णय ग¥यो ।

‘भवन पूरा भइन्जेल त झापामा बस्न नपाइएला, सरुवा पनि हुन सक्छ,’ उनी भन्छन्, ‘तर, त्यो जग्गामा ट्राफिकको भवन शिलान्याससम्म गराउने मेरो सपना छ ।’ त्यसबाहेक बिर्तामोडको पश्चिम स्टेण्डलाई पूरेर व्यवस्थित बनाउने उनको योजना छ ।

कम दरबन्दीमा पनि सन्तुष्टी

हाल झापा जिल्लामा जम्मा ६७ जना ट्राफिक प्रहरी कार्यारत् छन् । बिर्तामोडमा जिल्ला ट्राफिक कार्यालय, दमकमा इलाका ट्राफिक कार्यालय र अन्य १७ स्थानमा ट्राफिक युनिटहरु छन् । तर, जिल्लामा रहेको ६७ जना जनशक्तिले ट्राफिक व्यवस्थापन गर्न कठिन भइरहेको उनले बताए ।

ट्राफिक युनिटहरुमा कतै २ जना ट्राफिक बस्छन्, कतै ३ जना । दमकको इलाका ट्राफिकमा ८ र बिर्तामोडको जिल्ला ट्राफिकमा २१ जना छन् । ‘यो जनशक्तिले निकै गाह्रो छ,’ उनले भने, ‘चोक ठूलो छ, बजार ठूलो छ, भीडभाड बढ्दै छ, कठिन छ काम गर्न, तर पनि सन्तुष्ट छु ।’

सर्वाधिक राजश्व संकलन

झापा आएपछि ट्राफिक प्रमुख राईले तीन वर्षयताकै सर्वाधिक राजश्व संकलन गरे । अघिल्लो आर्थिक वर्षमा ट्राफिकले मात्रै ४ करोड ६१ लाख ३४ हजार ५ सय रुपैयाँ राजश्व संकलन ग¥यो ।

अघिल्लोभन्दा यो १ करोड ५१ लाख २४ हजार रुपैयाँ बढी हो । दुर्घटना संख्या पनि १ सय ९७ बाट १ सय ७९ मा झ¥यो ।

झापाले बोल्न सिकायो

‘मलाई सबैभन्दा खुशी लागेको कुरा चाहिँ झापा आएर म भाषण गर्न जान्ने भएँ, मसँग भाषण गर्ने क्षमता थिएन, कार्यालय प्रमुख भएपछि बोल्नुपर्दो रहेछ, अब त कन्फिडेन्स बढ्यो,’ भावुक हुँदै उनले भने, ‘झापाका मिडियाका साथीहरु र संघसंस्थाले दिएको माया म संसारको जुनसुकै कुनामा पुगे पनि बिर्सने छैन ।’