३५ लाखको लागतमा निर्माण भएको न्यू नमूना लन्ड्री सञ्चालनमा « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

३५ लाखको लागतमा निर्माण भएको न्यू नमूना लन्ड्री सञ्चालनमा


यलम्वर टाइम्स
२७ कार्तिक २०७५, मंगलवार १०:३४

अर्जुनधारा । ‘काम सानो वा ठूलो हुँदैन’ यो भनाई नेपाली समाजमा व्याप्त छ । उक्त भनाई अधिकांशले बोल्छन् भने कोहीले मात्र व्यवहारमा उतार्छन् । त्यसमध्येका एक हुन् २८ वर्षीय टंक दाहाल । उनले अर्जुनधारा–५ स्थित भिट्टाबारीमा न्यू नमूना लन्ड्री सञ्चालनमा ल्याएका छन् ।

‘लन्ड्री व्यवसायलाई तल्लो स्तरको रुपमा हेर्ने गरिन्छ’ सञ्चालक दाहाल भन्छन् ‘हाम्रो समाजमा कामलाई हेर्ने दृष्टिकोण नै फरक छ, यदी सकरात्मक रुपमा लिने हो भने कोही बेरोजगार बन्नुपर्दैन ।’

मंगलबार न्यू नमूना लन्ड्रीको उद्घाटनका क्रममा बोल्दै सञ्चालक दाहाल थप्छन्, ‘लन्ड्री व्यवसाय सञ्चालन गरेर बस्ने नेपाली सायद नै होलान् ।’

‘सानो–ठूलो काम नभनी आँट गरेर अगाडि बढे स्वदेशमै केही गर्न सकिन्छ’ अर्का सञ्चालक मदन न्यौपानेले भने । न्यौपानेले यस्ता उद्योगहरुको सञ्चालनमा स्थानीय सरकार, प्रदेश तथा संघीय सरकार सबैले प्रोत्साहन दिँदै युवाहरुलाई जागरुक गराउनुपर्ने बताए ।

१ क्षेत्रमा सञ्चालनमा ल्याइएको लन्ड्री उद्योगको उद्घाटन गर्दै प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिका वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारतीले दैनिक हजारौं संख्यामा युवा शक्ति अन्य मुलुक पलायन भइरहेको बताउँदै त्यसलाई रोक्न यस्ता उद्योगहरुको स्थापना अझ धेरै हुनु पर्नेमा जोड दिए ।

उनले अगाडि भने, ‘विदेश पलायन हुँदै गरेका नेपाली जनशक्तिको संख्यालाई यस्ता उद्योगहरुले केही हदसम्म रोकेको छ ।’

प्रमुख अतिथि भारतीले आफ्नै ठाउँमा उद्योग सञ्चालन गरि आफ्नै ठाउँको विकासमा सहयोग पुर्याएको बताउँदै लन्ड्री उद्योगको सफलताको शुभकामना दिएका थिए ।

कुमारी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय बुद्धिजीवि उमाकान्त ढुंगेल, भानु माविका प्रधानाध्यापक रुपक दाहाल, युवा व्यवसायी विशाल थापा, विकास बस्नेत, बसन्त बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

टंक दाहालसहित नारायण काफ्ले, मदन न्यौपाने, दिनेश घिमिरे, रमेश घिमिरेको संयुक्त लगानीमा सञ्चालनमा ल्याईको लन्ड्री उद्योगको लागत ३५ रहेको जनाइएको छ ।

सञ्चालक दाहालका अनुसार उद्योगमा अत्याधुनिक मेसिनबाट कपडा धोइने छ । उनले उद्योगको काउन्टर बिर्तामोड स्थित देवी क्याम्पस छेऊ रहेको बताउँदै २० केजीभन्दा माथि कपडा धुनुपरे डेलिभरीको व्यवस्था भएको समेत जानकारी दिए । साना तथा ठूला सबै प्रकारका कपडाहरु सफा गरिने जनाइएको छ ।

कार्यक्रमको सञ्चालन नारायण काफ्लेले गरेका थिए ।