जलेश्वरधाममा ३६ औं अनुष्ठान भव्य हुने « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

जलेश्वरधाममा ३६ औं अनुष्ठान भव्य हुने


यलम्वर टाइम्स
३ मंसिर २०७५, सोमबार ०७:४४

अर्जुनधारा । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा ३६ औं वार्षिक अनुष्ठान भव्य रुपमा हुने भएको छ ।

मंसीर ११ गतेबाट सुरु भई २० गते सतविज रोपण गर्दै सम्पन्न हुने अनुष्ठानमा श्री भविष्य महापुराण महायज्ञ हुने जनाइएको छ । उक्त पुराणमा प्रमुख कथा वाचक भागवत भुषण कौशिकजी महाराज रहने छन् ।

अनुष्ठान भरी विभिन्न भजन किर्तन गर्नुका साथै मन्दिरको वृद्धि र विकास, गुरुकुल संस्कृत विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्न पहल गरिने जनाईएको छ ।

संगीतमय वातावरणमा हुने अनुष्ठानमा दानवीर दाताहरु, भक्तजनहरुबाट संकलित रकमले धामको विकाससँगै शनि मन्दिर निर्माण, सन्त भवन, मोक्षेश्वर शिव लिङ्ग निर्माण निरन्तरता दिने धामका अध्यक्ष नविन गट्टानीले बताए ।

अनुष्ठानमा पुराण श्रवण गर्न आउने भक्तजनहरु, दाताहरु र अन्य आन्तरिक तथा बाह्य पर्यटकहरुले जानकारी दिने उद्देश्यले केही आकर्षणहरु थप्ने तयारी भएको बताए ।

धाम समितिका सदस्य शेखर प्रधानका अनुसार महाभारतकालिन घटनाक्रमहरुको प्रदर्शनी, धामको उत्पत्तिबारे प्रदर्शनी, धामको पोखरीभित्र कलात्मक संगीतमय फोहोरा प्रदर्शनी, रमाइलो धार्मिक मेला लगाईने छ ।

यसका साथै अनुष्ठानलाई भव्य र सभ्य बनाउनका लागि शनिश्चरे बजारदेखि धाम परिसरसम्म र भित्र विद्युतीय सजावट गरिने, धाम प्रवेश गर्ने मूल सडकदेखि धाम वरिपरि (परिक्रमा मार्ग) टायल विछ्याउने भएको बताए ।