अर्जुनधारामा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

अर्जुनधारामा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान


यलम्वर टाइम्स
९ मंसिर २०७५, आईतवार १२:१२

अर्जुनधारा । अन्तर्राष्ट्रिय अभियानको रुपमा रहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आईतबारबाट सुरु भएको छ । समाजमा हुने लैङ्गिक हिंसालाई न्यूनिकरण गर्ने उद्देश्यले विश्वभर सञ्चालित यो अभियानलाई पूर्णता दिन अधिराज्यभरी चेतनामूलक कार्यक्रम गर्दै मनाईएको छ ।

यसरी नै अर्जुनधारा नगरपालिकाले पनि लैङ्गिक हिंसा विरुद्धका पोष्टर, व्यानर, पमप्लेट सहित नगर परिक्रम गरी शनिश्चरे बजारस्थित देवकोटामा कोणसभाको आयोजना गर्दै अभियानको सुरुवात गरेको छ ।

‘लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ भएको कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले हिंसा समाज र राष्ट्रको विकासमा बाधा भएको बताए ।

प्रमुख रानाले समाजमा विभिन्न खालको हिंसा विधामान रहेको बताउँदै त्यस्ता हिंसाका विरुद्ध सबैले आवाज उठानु पर्नेमा जोड दिए ।

उनले अभियानले केही हदसम्म हिंसा रोके पनि पूर्ण रुपमा न्यूनिकरणका लागि सजक हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख रानाले सामाजिक संजालमा अनाहक अफवा फैलाउँदै कसैको चरित्र हत्या गर्नु पनि एक किसिमको हिंसा भएको बताए ।

ईलाका प्रहरी कार्यालयका डीएसपी कृष्ण कोइरालाले हिंसा विरुद्धका अभियान चलाउँदैमा त्यसको अन्त्य नहुने बताए ।

कार्यक्रममा बोल्दै डीएसपी कोइरालाले हिंसालाई शुन्यमा झार्ने हो भने त्यसको सुरुवात आफ्नो घरबाटै गर्नुपर्ने बताए । उनले नेपाल प्रहरी हिंसा विरुद्धको शून्य सहनशिलताको अभियानमा रहेको बताउँदै कही कतै हिंसा भए प्रहरीलाई खबर गर्न आग्रह गरे ।

अर्जुनधारा नगरपालिकाको अगुवाईमा नेपाल प्रहरी, सामुदायिक सामाजिक संघसंस्था र स्थानीय विद्यालयहरुको सहकार्यमा भएको कार्यक्रममा उपप्रमुख कमला आचार्य, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, महिला नेतृ सरस्वती सिटौला गोले, नगरस्तरीय बाल सञ्जाल अध्यक्ष निशा कुईकेलले लैङ्गिक हिंसा समाजमा व्याप्त भएको बताउँदै त्यसको न्यूनिकरणका लागि स्थानीय, प्रदेश र संघीय सरकार कडा रुपमा प्रस्तुत हुँदै दोषीलाईका कारवाही गर्नुपर्नेमा जोड दिए ।

नगर प्रमुख रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतसहित औचित्यमाथि प्रकाश महिला तथा बालबालिका विकास शाखा प्रमुख उमा अर्यालले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन नगर सदस्य खड्गमाया पराजुलीले गरेकी थिइन् ।