तमोर नदीमा व्यवसायीक र्याफटिङ शुरु « Yalambar Times
८ बैशाख २०८१, शनिबार

तमोर नदीमा व्यवसायीक र्याफटिङ शुरु


यलम्वर टाइम्स
१२ मंसिर २०७५, बुधबार ०६:५४

[गणेश साम्पाङ]

पाँचथर । ‘गाडीमा गुडेको र हवाइ जहाजमा उडेको भन्दा र्याफटिङमा बहेको यात्राको मज्जा बेग्लै हुँदो रहेछ’ पहिलो पटक तमोर नदीमा र्याफटिङ गरेका मेदनी लावती आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘पर्यटकहरु नयाँ र सहासीक खेलहरु प्रति आकर्षित बन्दै गएको बेला पाँचथरमा त्यसको सुरुवात हुनु राम्रो हो ।’

उनी जस्तै घुम्न आउने अन्य पर्यटकको पनि भनाई यही छ । तेह्रथुम र पाँचथरको सीमना भएर बग्ने तमोर नदीमा व्यवसायीक र्याफटिङ सुरु हुँदा जिल्लाकै विकासमा सहयोग पुग्ने बताउँछन् ।

र्याफटिङको रोमान्चक यात्राले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्दै पाँचथर प्रदेश नं. १ कै उत्कृष्ट जलयात्रा गर्ने गन्तव्यको रुपमा स्थापित हुने स्थानीयहरुको विश्वास छ ।

काठमाडौंबाट पूर्वी नेपाल घुम्न आएका पर्यटकहरु तमोर नदीबाट यात्रा गर्दै मुलघाट तिर लागेको देखेपछि आफुलाई र्याफटिङ व्यवसाय गर्न उत्साहीत भएको तमोर भ्याली ट्राभल्स टुर्स एण्ड ट्रेकिङ प्रालिका सञ्चालक दिपेन्द्र तुम्बापो बताउँछन् ।

‘यो व्यवसायले खास गरी पुर्वी पहाडी जिल्ला पाँचथरलाई पर्यटकको प्रमुख रोजाईमा पार्न सफल हुनेछ’ सञ्चालक तुम्बापो भन्छन्, ‘सञ्चालन भएको ३/४ दिनमै र्याफटिङका लागि नाम दर्ता गर्नेको संख्या थपिन्दै गएको छ ।’

पर्यटकीय हिसाबले इलाम र ताप्लेजुङको नाम अगाडी आए पनि पाँचथरमै साहसीक र्याफटिङ सुरु भएको हुँदा पर्यटकहरुले पाँचथरलाई रोज्ने व्यवसायी दिलिप अधिकारीको कथन छ । उनका अनुसार यो क्षेत्रको आर्थिक समृद्धीमा सघाउ पुग्नेछ ।

पाँचथरको तमोर नदीमा र्याफटिङ सञ्चालन सम्भावनाका लागि १९०७ सालमा पहिलो पटक सर्भे गरेर नेपाल सरकारबाट सन् २००२ मा अनुमति पाएको तमोर नदीको यात्रा पुर्वको उत्कृष्ट जलयात्रा गर्ने नदीमा पर्ने नेपाल राष्ट्रिय एसोसिएसन र्याफटिङ एजेन्सीका पुर्व अध्यक्ष गोपाल खरेल भन्छन् ।

विदेशी पर्यटकहरुका लागि साहसीक जलयात्राका लागि नेपालमा भेटेकोशी नदी उत्कृष्ट मानिन्छ । अहिलेसम्म नेपालका १६ वटा नदीमा र्याफटिङ गर्न सकिने अनुमति सरकारले दिएको भए पनि अधिकांश नदीमा जलविद्युत आयोजना सञ्चालन भएका कारण गर्न नसकिने अवस्था छ, खरेल थप्छन् ।

नेपालका सबै नदीमा जलयात्रा गरी सकेका रिभर गाइड राजन थापा मगरका अनुसार तमोरको पानीको बहाव नेपालीहरुका लागि उपयुक्त भएको हुँदा विदेशीभन्दा स्वदेशी पर्यटकको रोजाइमा तमोरको र्याफटिङ पर्नेछ ।

र्याफटिङ यात्रा शुरु हुने पिनासी घाट र अन्त हुने ठाउँ माझीटारसम्म मोटरबाटोको सुविधा पुगेको र तमोर नदीको पानी सफा भएको कारणले यात्रा रोमान्चक र सहज हुने गरेको मगरको कथन छ ।

‘मेचीमै पहिलो पटक सञ्चालन भएको ¥याफटिङले पर्यटन व्यवसायसँगै जिल्लाको समृद्धीमा ठूलो टेवा पुर्याउँछ’ पाँचथर उद्योग बाणिज्य संघका महासचिव नवराज घिमिरे भन्छन्, ‘यो व्यवसाय मात्र नभएर समग्र जिल्लाकै आर्थिक विकास गराउँने र पहिचान दिलाउने छ ।’

पाँचथरको हिलीहाङ गाउँपालिका वडा नं. २ पिनासीघाटदेखि साढे दुई घण्टामा १२ किलोमिटरमा रहेको फिदिम नगरपालिका ४ को माझीटारसम्ममा यो यात्रा टुगिन्छ ।

पाँचथरमै केही महिना अघि मात्र पाँचथरका उत्साही युवा व्यवसायीहरुले प्यारागलाइडिङको सफल परीक्षण गरेर जिल्लामा प्यारागलाइडिङको सम्भावना रहेको देखाएका थिए ।