सहकालेमा जनप्रतिनिधि पुग्दा स्थानीय हर्षित « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

सहकालेमा जनप्रतिनिधि पुग्दा स्थानीय हर्षित


यलम्वर टाइम्स
२९ मंसिर २०७५, शनिबार ०९:१६

सहकाले । सहकाले बस्ती, जुन ठाउँ अर्जुनधारा नगरपालिका वडा नम्वर २ मा पर्छ । खुदुनाबारी फल्गुनन्द चोकबाट १७ किलोमिटर उत्तरतर्फ लाग्दा उक्त बस्ती भेट्न पाइन्छ ।

भौगोलिक हिसाबले त्यहाँ पुग्नलाई विकट भएतापनि सहकाले बस्तीको भू–भाग भने रमणीय र उत्पादन हुने जमिनको रुपमा लिन सकिन्छ । सहकाले बस्तीमा जम्मा १७ घर अर्जुनधारा नगरपालिकामा सूचिकृत रहेका छन् भने ४५ भन्दा बढी मतदाताहरु भेटिन्छन् ।

उक्त ठाउँमा आजसम्म कुनै पनि निर्वाचित प्रतिनिधिहरु पुगेका थिएनन् । गत आईतबार अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार राना र वडा नं. २ का वडाध्यक्ष रघुनाथ खनाल पुग्दा स्थानीयबासीहरु हर्षित देखिन्थ्ये ।

निर्वाचित राना र खनालसँगै अर्जुनधारा नगरपालिकाको प्रशासकीय प्रमुख पंकज भुर्तेल, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, बेलटार खानेपानीका अध्यक्ष योगेन्द्र आचार्य र अर्जुनधारा पशु विकास शाखाका प्रमुख पदमलाल राईलाई त्यहाँका जनताले फूलमाला लगाएर स्वागत गर्दै आफ्ना ठाउँको समस्या तेर्साएका थिए ।

खुदुनाबारीबाट लाप्चेटार हुँदै मंगलटारलाई छिचोल्दै टाङटिङ पार गरेपछि सहकाले बस्ती भेट्न सकिन्छ । उक्त बस्तीका बासिन्दाले पहिलो पटक आईपुगेका नगर सरकारलाई अनुरोध गर्दै यस बस्तीका जनतालाई बिजुली, बाटो र स्वास्थ्य चौकी भए अरु केही चाहिँदैन भनी बिन्ती बिछ्याएपछि त्यतिकैमा नगर प्रमुख हरिकुमार रानाले भने, ‘पहिलो पटक आईपुगेको छु, यहाँको सबै अवलोकन पनि गरें । तपाईहरुले राखेको माग अवश्य पूरा हुने नै छ ।’

प्रमुख रानाको आश्वासन पाएपछि स्थानीयबासीहरु हर्षित मुद्रामा देखिन्थे । स्थानीय सरकार आएको खबर पाएपछि ७३ वर्षीय तुलबहादुर सोराली मगरले आजसम्म वृद्ध भत्ता नपाएको गुनासो गर्दै राज्यले दिएको सहयोग आफूलाई जुटाईदिन आग्रह गरे ।

वृद्ध सोरालीको मागलाई वडा नं. २ का अध्यक्ष रघुनाथ खनालले यसै पटकबाट घरैमा भत्ता ल्याईदिने वातावरण मिलाईदिने प्रतिवद्धता जाहेर गरे ।

उक्त ठाउँमा राई, लिम्बू, मगर, तामाङ, क्षेत्री, बाहुन गरी ६ थरीका मानिसहरु बसोबास गरेको भेटिन्छ । एकले अर्कालाई सहयोग गरेरै बसेको हुँदा बढी जसो ६ जातिभित्र अन्तरजातीय विवाह गरेर बसोबास गरेको भेटिन्छ ।

बर्खामा भेलबाढीका कारण विद्यालय धाउन कठिन भएको हुँदा सहकाले बस्तीमा बाल विद्यालयको आवश्यकता भएको स्थानीय विक्रम नेम्वाङले बताए । उक्त ठाउँबाट करिब अढाई किलोमिटर पूर्व–दक्षिणमा रहेको रोङ गाउँपालिकाको शशि माध्यमिक विद्यालयमा विद्यार्थीहरु धाउने गरेका छन् । यो वर्ष सहकालेबाट कविता बस्नेत, जमुना मगर एसईईको तयारीमा जुटेका छन् ।

त्यसको अलवा दिनहँु ८–१० जना विद्यालय जाने गर्छन् । सहकालेको मुख्य आम्दानीको स्रोत टमाटर, भटमास, वनमारा, रातो दाल रहेको छ । त्यसको अलवा केरा, सुपारी र अम्लीसो, अदुवा पनि हो । पानीको समस्या देखिएतापनि बेलटार खानेपानीको मुहान नै सहकाले भएको हुँदा बेलटारले यस बस्तीका बासिन्दाहरुलाई दुःख–सुख पानीको जोहो गरिदिएको जानकारी दिए ।

स्थानीय प्रदिप राजालिङका अनुसार स्थानीय सरकारले टाङटिङमा पुल र सहकाले बस्तीमा बाटो र स्वास्थ्य केन्द्र स्थापना भए अरुमा यहाँका जनताले आफै आत्मानिर्भर हुन सक्छने प्रतिक्रिया दिए ।

उनी स्थानीय कोप्चे सामुदायिक वनका अध्यक्ष समेत रहेको हुँदा नगरपालिकासँग कोप्चे सामुदायिक वन सहकार्य गरी अगाडि बढ्ने समेत बताए ।

स्थानीय बोनु राईका अनुसार केही वर्ष अगाडि दलबहादुर मगरकी श्रीमती रम्सी नामकी महिला प्रसव बेदनाले छटपटाएर ज्यान समेत गएको हुँदा त्यसपछि त्यस्तो दुर्घटना नदोहोरिएता पनि यस ठाउँमा स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयम्सेवीका आवश्यक रहेको बताइन् ।

बेलटार खानेपानीका हेरालु कलम बस्नेतका अनुसार पहिलो पटक आईपुगेको सरकारले आउने दिनमा बजेट छुट्याएर सहकालेलाई माया गरिदिन आग्रह गर्दै कृषि मार्गका लागि छिमेकी सूर्योदय नगरपालिकासँग सहकार्य गरी बाटो निर्माण गर्न नगर प्रमुख रानासँग आग्रह गरेका थिए ।

बेलटारको मुहान सहकालेमा

अर्जुनधारा वडा नं. २ र ३ खुदुनाबारीका जनताले प्यूँदै आएको खानेपानीको मुहान सहकाले रहेको हुँदा त्यसको समेत अवलोकन नगर प्रमुख, प्रशासकीय प्रमुख लगायत सञ्चारकर्मीले गरेका थिए ।

शुद्ध र स्वच्छ पानी भएतापनि मुहानलाई व्यवस्थित गर्न सके खुदुनाबारीबासीका लागि अर्जुनधाराको सहकाले मुहान सधैका लागि उपयुक्त हुने खानेपानीका अध्यक्ष योगेन्द्र आचार्यले अवलोकन गराउँदै जानकारी दिए ।

उक्त मुहानलाई व्यवस्थित गर्न अझ ५० लाखभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ ।
पानीको मुहान भनेपछि त्यसलाई पूर्ण व्यवस्थित गर्न जरुरी छ । त्यसतर्फ समितिले आलटाल गर्न नहुने भएको हुँदा ध्यान जान जरुरी छ ।

सहकाले नाम कसरी रह्यो ?

यस क्षेत्रका जानिफकारका अनुसार अन्नले सह नदिएको हुँदा पूर्वजहरुले त्यस ठाउँको नाम सहकाले नामाकरण गरेको बताउँछन् ।

हुन पनि हो, अन्न बाहेक अन्य नगदे बाली प्रशस्त हुने हुँदा सह नरहेको कुरा ७३ वर्षीय तुलबहादुर सोराली स्वीकार छन् । ४० वर्षअघि इलामको जीतपुरबाट सहकाले झरेका सोराली उस बेलादेखि अन्नको साटो दाल, गेडागुडी बढी फल्ने गरेको बताउँछन् ।