काँकरभिट्टामा रहेको दिब्यज्योति आँखा अस्पतालको इजाजत रद्द « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

काँकरभिट्टामा रहेको दिब्यज्योति आँखा अस्पतालको इजाजत रद्द


यलम्वर टाइम्स
४ पुष २०७५, बुधबार ०७:०६

काँकरभिट्टा । अस्पताल सञ्चालनका लागि भवन असुरक्षित भए पछि झापा मेचीनगर–७ स्थीत मेची दिब्यज्योति आँखा अस्पताल सञ्चालनका लागि दिईएको इजाजत सरकारले रद्द गरेको छ ।

मेचीनगर–७ ईटाभट्टामा रहेको मेची दिब्यज्योति आँखा अस्पताल सञ्चालन भएको भवन स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० को प्रावधान अनुरुप नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त अस्पतालको ईजाजत रद्द गरेको हो ।

मन्त्रालयले मिति २०७५ मंसिर ९ गतेको सचिवस्तरिय निर्णय मार्फत मेची दिब्यज्योति आँखा अस्पतालको सञ्चालन ईजाजत रद्द गरेको छ ।

ईजाजत रद्द गरेसंगै निर्णयको कार्यन्वयनका लागि मन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापालाई मिति २०७५/०८/१० मा मापदण्ड पुरा नगरेकाले अस्पतालको सेवा संचालन बन्द गराईदिने भनि पत्राचार समेत गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुशासन इकाईले जिल्ला प्रशासन कार्यालय झापालाई लेखेको पत्रमा भनिएको छ–“मेचीनगर–७ स्थित श्री मेची दिब्यज्योती आई हस्पिटल प्रालिले पूर्वाधार मापदण्ड पुरा गरेको नपाइएको हुँदा उक्त अस्पतालमा उपचाररत बिरामीहरुको उचित बैकल्पिक उपचारको ब्यवस्था मिलाई भवन सम्बन्धी मापदण्ड पुरा नगरेसम्मका लागि उक्त अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा तत्काल बन्द गराई सो को जानकारी मन्त्रालयलाई गराई दिनु हुन निर्णयानुसार अनुरोध छ ।”

अस्पतालको सेवा बन्द गर्ने सम्बन्धमा आफुहरुलाई कुनै जानकारी नआएको मेची दिब्यज्योति आँखा अस्पतालका सञ्चालक गिता खड्काले बताइन् ।

यस बिषयमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मन्त्रालयले पत्र पठाएको बताउँदै अस्पताल सञ्चालनको अनुमति दिने निकाय जिल्ला जनस्वास्थ्य कार्यालय भएकाले सेवा बन्द गर्ने कार्य पनि सोही कार्यलयबाट हुने र त्यस काममा प्रशासन कार्यालयले आवश्यक सहयोग पुर्याउने जानकारी दिए ।

१५ शैय्याको अस्पताल संचालनको अनुमति पाएको मेची दिब्यज्योति आँखा अस्पताललाई समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत रद्द गरेको बिषय पत्राचार गरिसकेको छ ।

स्वास्थ्य सेवा विभाग ब्यवस्थापन महाशाखा टेकु, प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश नं. १ बिराटनगरसमेतलाई यस बिषयमा मन्त्रालयले बोधार्थ दिएको जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

ईटाभट्टा स्थीत परनेल राजबंशीको घर भाडामा लिई दिब्यज्योति आँखा अस्पताल सञ्चालन भएकोमा उक्त घर अस्पताल सञ्चालनका लागि उपयुक्त नभएको शहरी बिकास मन्त्रालयले २०७५ भदौ २६ गते टिप्पणी उठाई शहरी बिकास तथा भवन निर्माण विभागमा सक्कलै टिप्पणी सहित पत्राचार गरेको थियो ।

मन्त्रालयको उक्त पत्र प्राप्त भए पछि विभागले २०७५ असोज ११ गते अस्पतालको इजाजत रद्द गर्ने भनि साबिक भवन डिभिजन कार्यालय इलामलाई पत्राचार गरेको थियो ।

झापा टाइम्सबाट