पाथीभरा ग्यासलाई नेपाल गुणस्तर प्रमाण चिन्ह « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

पाथीभरा ग्यासलाई नेपाल गुणस्तर प्रमाण चिन्ह


यलम्वर टाइम्स
१३ पुष २०७५, शुक्रबार ११:४०

बिर्तामोड । झापाको बिर्तामोड–२ चारपानेस्थित पाथीभरा ग्यासले स्थापनाको छोटो अवधिमै नेपाल गुणस्तर प्रमाण (एनएस) चिन्ह प्राप्त गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल गुणस्तर तथा नापतौल विभागले पाथीभरा ग्यासलाई एनएस चिन्ह प्रदान गरेको हो । विभागले विभिन्न समय गरी तीन चरणमा गरेको अनुगमनका क्रममा पाथीभरा ग्यास उद्योग प्रालिले सम्पूर्ण मापदण्ड पूरा गरेको आधारमा एनएस चिन्ह प्रदान गरिएको बताइएको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले हस्ताक्षर गरी बिहीबार उक्त उद्योगलाई एनएसको प्रमाणपत्र प्रदान गरेका हुन् । देशभर ५६ बढी ग्यास उद्योग भए पनि हालसम्म २३ वटा उद्योगले मात्र एनएस चिन्ह प्राप्त गरेका छन् ।

नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ को दफा ५ उपदफा (२) को खण्ड (क) बमोजिम पाथीभरा ग्यास उद्योग प्रालिलाई यही पुस १२ गतेदेखि लागू हुने गरी उक्त प्रमाणपत्र दिइएको विभागले जनाएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख कमल ओझाले पाथीभरा ग्यास उद्योगले गुणस्तरको प्रमाणपत्र पाउनु उद्योग र उपभोक्ता सबैका लागि खुशीको विषय भएको बताए । उनले भने– ‘एनएस प्रमाणपत्र भनेको त्यो उद्योगले उत्पादन गर्ने वस्तुको गुणस्तरको ग्यारेन्टी हो ।’

पाथीभरा ग्यास उद्योग नयाँ उद्योग भए पनि छोटो अवधिमा सम्पूर्ण मापदण्ड पूरा गरी गुणस्तर चिन्ह पाउनु ठूलो सफलता र प्रतिष्ठाको विषय भएको ओझाको भनाइ छ ।

२०औं वर्षदेखि सञ्चालनमा रहेर मापदण्ड पूरा गर्न नसकेका उद्योगले अहिलेसम्म एनएस चिन्ह प्राप्त गर्न सकेका छैनन् तर स्थापनाको दुईतीन वर्षमै पाथीभरा ग्यासले सबै मापदण्ड पूरा गरी एनएस चिन्ह पाउनु खुशीको विषय भएको उनले बताए ।

उनले एनएस चिन्ह प्राप्त उद्योगबाट उत्पादित ग्यासमात्र प्रयोग गर्न पनि उपभोक्तालाई सुझाएका छन् । एनएस चिन्ह भनेको त्यो उद्योगले उत्पादन गर्ने वस्तुको नेपाल सरकारबाट गुणस्तरको ग्यारेन्टी भएको उनले प्रस्ट्याए ।

उद्योगी तथा सामाजिक क्षेत्रमा क्रियाशील एकराज उप्रेती, शिशिर बुढाथोकी र मदनगोपाल सुब्बाले उक्त उद्योग सञ्चालनमा ल्याएका हुन् । २०७३ मंसीर २५ गतेबाट उत्पादन शुरु गरेको उक्त उद्योगले प्रदेश नं. १ का उपभोक्ता माझ ७५ हजार ग्यास सिलिण्डर मार्फत् सेवा दिँदै आएको छ ।

दुई विगाह क्षेत्रफलमा फैलिएको ग्यास उद्योगबाट उत्पादित ग्यास सिलिण्डर बिक्रीवितरणका लागि दुई सयभन्दा बढी डिलर र सवडिलर रहेको सञ्चालन एकराज उप्रेती बताउँछन् ।

गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमको मापदण्ड अनुसार सञ्चालित पाथीभरा ग्यासले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै उप्रेतीले भने– ‘अहिले आम उपभोक्ताको रोजाइमा पाथीभरा ग्यास परेको छ ।’

सेमी अटोमेटिक मेसिन मार्फत् सिलिण्डरमा ग्यास भरिने उक्त उद्योगको स्टोरेज क्षमता बढी भएको, सुरक्षित कम्पाउण्ड, अनुभवी प्राविधिक तथा नयाँ र बलियो सिलिण्डर रहेको बताइएको छ ।