पाँचथरको सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

पाँचथरको सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन


यलम्वर टाइम्स
१९ पुष २०७५, बिहीबार ११:४२

[सन्देश सुब्बा]

पाँचथर । मिक्लाजुङ–२, सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन गरिएको छ । सप्तमी बजारका एक सय दश घरधुरी लाभान्वित हुने गरी वायु र सौर्य उर्जाको समन्वयबाट बिजुली निकालिएको हो ।

दुई बर्ष अघि परीक्षणका लागि राखिएको वायु उर्जाको टावरबाट गत पुष पहिलो सातादेखि बिजुली उत्पादन सुरु भएको हो ।

टावरमा जडान गरिएको दुई वटा विन्डर (पङ्खा) मार्फत् २० किलोवाट बिजुली उत्पादन भइरहेको उपभोक्ता समिति अध्यक्ष गंगा आङदेम्बेले बताए ।

उनका अनुसार वायु उर्जाबाट २० र सौर्य उर्जाबाट ५० गरी ७० किलोवाट बिजुली उत्पादन भइरहेको छ । सौर्य उर्जाका लागि एक सय ५२ वटा सोलार प्यानल राखिएका छन् ।

बर्षौंदेखि बिजुली बत्तीको सुविधा उपभोग गर्नबाट बञ्चित रहेका सप्तमी बजारबासी वायु–सौर्य उर्जामार्फत् बिजुली बाल्न पाएपछि हर्षित छन् ।

सप्तमी सौर्य–वायु उर्जा मिनी ग्रिड योजनामार्फत स्थानीयलाई बिजुली बत्तीको पहुँचमा पु¥याइएको उपभोक्ता समिति अध्यक्ष आङदेम्बेले जानकारी दिए ।

एसियाली विकास बैंकको चार करोड ५० लाख रुपैंयाँ आर्थिक सहयोग तथा कूल लागतको दश प्रतिशत स्थानीयको लगानीमा वायु–सौर्य उर्जाबाट बिजुली निकालिएको हो ।

योजनाको कामको जिम्मा काठमाण्डौंको टपसन इनर्जी र मोरङको कृष्ण ग्रिल कम्पनी जेभी बिराटनगरले पाएका थिए । योजनालाई वैकल्पिक उर्जा विकास केन्द्र काठमाण्डौले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

घर–घरमा बिजुली बाल्न पाएपछि सिंगो बजारबासीमा खुसीयाली छाएको स्थानीय रदिप आङदेम्बेले बताए । प्रायः वेगमा हावा चलिरहने र हुस्सु लागि रहने पाँचथर–इलाम सीमावर्ती सप्तमी बजारमा दुई वर्ष अघि वायु–सौर्य उर्जाको परीक्षण सुरु गरिएको थियो ।