चर्चित लोक गायिका विष्णुमायाको खोजी गर्न चौतर्फी दबाब « Yalambar Times
८ बैशाख २०८१, शनिबार

चर्चित लोक गायिका विष्णुमायाको खोजी गर्न चौतर्फी दबाब


यलम्वर टाइम्स
२१ पुष २०७५, शनिबार ०१:४९

झापा । चर्चित लोक गायिका विष्णु माझी गुमनाम रहँदा उनका बुबामात्र होइनन् लोक गायनका पारखीहरु पनि उनी कहाँ छिन् ? भन्न पुगेका छन् ।

केही दिन अघि राजधानीका अखबारहरुले गायिका माझीका विषयलाई लिएर समाचार प्रकाशन गर्दै आएपछि प्रहरी प्रशासनमात्र होइन उनका प्रशंसकहरु पनि उनको खोजी हुनुपर्छ भन्न थालेका छन् ।

उनका ५८ वर्षीय बुबा ताराबहादुरले छोरी विष्णुसँग सम्पर्क नभएको ११ वर्ष भएको बताए । यो अवधिमा छोरीको बोली सुन्न र अनुहार हेर्न नपाएको सुनाए । कलाकारिताको क्षेत्रमा मुलुककै पहिलो स्थानमा पहिचान बनाउन सफल स्याङ्जाकी विष्णु माझी लोक तथा दोहोरी गीत गायिका हुन् ।

चापाकोट नगरपालिका ८ खोरियाघाटमा जन्मिएकी माझीले स्वर दिएका प्रत्येक गीतले चर्चा बटुलेका छन् । उनका हरेक गीत चर्चित छन् । यसकारण पनि उनी लोकगायनमा पहिलो स्थानमा छिन् । त्यसो त उनी महँगो पारिश्रमिक लिने कलाकारका रूपमा पनि चिनिन्छिन् ।

करिब ११ वर्षअघि गायक सुन्दरमणि अधिकारीसँग वैवाहिक जीवनमा बाँधिएकी उनी भूमिगत जस्तै छिन् । बेला–बेला उनको खोजी सामाजिक सञ्जाल फेसबुकमार्फत हुँदै आए पनि उनी कहाँ छिन् ? के गर्छिन् ? कसको सम्पर्कमा आउँछिन् भन्नेबारे थाहा छैन । त्यसो त उनका माइती पक्षसमेत उनकाबारे खुलेर बोल्न सक्दैनन् ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले गायिका विष्णुको खोजी गरेका छन् । आफन्तका अनुसार कलाकारिता क्षेत्रमा समेत उनलाई विवाहपूर्व सुन्दरमणिले नै ल्याएका थिए ।

विवाहअघि नै माझीलाई ‘बन्धक’ बनाएको भन्ने समाचार आउन थालेपछि सुन्दरमणिले विवाह गरेको खबर बाहिर ल्याइयो । एक वरिष्ठ कलाकारका अनुसार माझीसँग विवाह गर्नुअघि सुन्दरमणिको विवाह भइसकेको थियो ।

हाल विष्णु जुम्ल्याहा दुई सन्तानकी आमासमेत बनेको भनिन्छ । कालीगण्डकी नदीको किनारमा रहेको झुपडीबाट कक्षा ९ मा पढ्दापढ्दै विष्णु काठमाडौं गएकी थिइन् । त्यसपछि उनी कोही आफन्त र साथीको सम्पर्कमा छैनन् । प्रजिअ निरौलाले विष्णुको खोजी सुरु गरेको बताए ।

‘पहिले पनि उनका बारेमा धेरै चर्चा नचलेको होइन,’ उनले भने, ‘हामी पनि यस विषयमा मौनजस्तै थियौं । विभिन्न सञ्चार माध्यममा उनी श्रीमानबाट नै बन्धक बनाइएकी भनिन्छ ।

अहिले स्याङ्जामै कार्यरत र विष्णु यसै जिल्लाको भएकाले खोजी गरेका हौं । यसबारे विष्णुका माइती र घरपक्षसँग पनि बुझ्ने छौं ।’ उनले सम्बन्धित निकायसमक्ष उनको खोजीका लागि पत्राचार गरिसकेको बताए ।

सुरिलो भाकाकी विष्णुले गाएका प्रत्येक गीत यु–ट्युब भ्युअर बढी हुन्छ । राष्ट्रिय कलाकार बनेकाले पनि यतिबेला उनको खोजी हुनु स्वाभाविक रहेको बताउँछन् विन्ध्यवासिनी म्युजिक प्रालिका निर्देशक सुवास रेग्मी ।

जिल्लाकै चेली भएका नाताले पहिलेबाटै खोजी गरिएको उनले बताए । ‘सुन्दरमणिबाट केही पत्ता लगाउन नसकिने र सुन्दरमणि स्वयं तर्किने गर्छन्,’ उनले भने । माझी सामाजिक कार्यक्रममा पनि देखिनन् ।

रेग्मीका अनुसार विष्णु गुपचुप रहे पनि हिट छिन् । उनलाई हालसम्म कोही कलाकारले जित्न सकेका छैनन् । जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले गायिका विष्णुबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । यसो त उनको गुप्तवास स्वैच्छिक हो कि बाध्यता ? भन्ने प्रश्न नआएको पनि होइन् ।

विष्णुलाई आफ्नै श्रीमानले बन्धक बनाएर राखेका छन् भन्ने हल्ला चलिरहँदा त्यो सत्यसँग नजिक छरछैन भन्ने रहस्य बनेको छ । उनको चौतर्फी माग हुँदासमेत देशका कार्यक्रममा सहभागी हुँदिनन् ।