अर्जुनधारा नगरपालिकाका वडाध्यक्षहरुको मेची–महकाली अवलोकन भ्रमण « Yalambar Times
८ बैशाख २०८१, शनिबार

अर्जुनधारा नगरपालिकाका वडाध्यक्षहरुको मेची–महकाली अवलोकन भ्रमण


यलम्वर टाइम्स
२१ पुष २०७५, शनिबार ०२:१६

[मुना निरौला]

दुईदिन अघिदेखि नै मनमा एक प्रकारको उत्सुकता, चञ्चलता र रोमाञ्चकताको आभास भइरहेको थियो । कारण गत श्रावण १३ गतेदेखि श्रावण १९ गतेसम्मको नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी सहितको मेची–महाकाली अध्ययन अवलोकनको भ्रमण तय भएको थियो ।

अर्जुनधारा नगरवासीको एकएक मतलाई आफ्नो पक्षमा पारेर विजयी बन्नु भएका जनप्रतिनिधिज्यूहरु जसमा नगरवासीका लागि असीमित विकासका सपनाहरु छन् । अर्कातर्फ १७ बर्ष लामो जनप्रतिनिधि विहिन अवस्थामा अलिकति पनि विचलित नभई जनता र राज्यको लागि अहोरात्र खटी जागिरे जीवनको उतरार्धमा आइसक्नु भएका राष्ट्रसेवक कर्मचारीहरु अनि हामी जस्ता अग्रज कर्मचारीको पाइला पछ्याउदै राज्य र राष्ट्रको नाममा सपथ खाएर कुशल कर्मचारी बन्न मिहेनत गरी आफ्नो भविष्य सरकारी जागिरमा देखी सरकारको सिन्दुर लगाएका युवा जोशका मनहरुको मिश्रणको यात्रा रमाइलो रहनेमा कुनै शंका थिएन ।

यात्रा साच्चै नै अविस्मरणीय बन्यो । २०७५ साल श्रावण १३ गते आइतबार झापा जिल्लाको शनिश्चरे बजारबाट कञ्चन डिलक्सबाट सुरु भएको भ्रमण टोलीमा ११ जना वडाध्यक्ष र ११ जना कर्मचारी समावेश थियौ । भ्रमण अवधिभर लाग्ने व्याक्तिगत खर्च बाहेकको सामुहिक खर्च नगरपालिकाले नै गरेको थियो । भ्रमण टोलीमा समावेश सबैको सामुहिक प्रतिबद्धता थियो हामी जहाँ–जहाँ जान्छौ त्यहाको बस्तुस्थितीको अवलोकन गरेर राम्रा–राम्रा कार्यहरुलाई नगरमा कार्यान्वयन गदैे लैजाने । फलस्वरुप बिहान ८ बजे शनिश्चरेबाट यात्रा प्रारम्भ गरेपछि भ्रमण तालिका अनुसार धुर्मस सुन्तली फाउण्डेसनद्वारा निर्मित महोत्तरी जिल्लाको बर्दीवास नगरपालिका वडा नं. १४ स्थित एकीकृत नमूना मुसहर बस्तिमा दिउसो १ बजे तिर पुग्यौ ।

धुर्मस–सुन्तलीको अथक संघर्ष पछिको सपना साकार भएको मुसहर बस्तिमा पुग्दा जो कोही पनी रमाउन सक्छ, एकनासले चिटीक्क पारेर बनाइएका सानासाना एकै खाले घरहरु, भ्युटावर, सफा बाटा गल्लीहरु, बच्चाहरुका लागि खेल्ने सुन्दर पार्क मुसहरहरुका जीवित देवता नै हुन धुर्मुस–सुन्तली उनीहरुलाई हार्दिक नमन ।

मुसहर ५० घर बस्तिकी अगुवा ७० बर्षीया मानकी सदाले धुर्मुस–सुन्तलीले आफ्नो हातले बनाएको खाना खाएको सुनाउँदा उनमा एक प्रकारको आत्मविश्वास र सद्भाव झल्किन्थ्यो । घरबार नभएका समुदायलाई कुनै स्थानमा एकीकृत गरि कसरी वैज्ञानिक, सामाजिक तवरले व्यवस्थापन गर्न सकिदो रहेछ भन्ने कुराको थोर बहुत जानकारी लिँदै त्यहाबाट सोझै सर्लाही जिल्लाको हरिवन नगरपालिकातर्फ लाग्यौ ।

पूर्व जानकारी गराएका कारण हरिवन नगरपालिका प्रमुख श्री गणेशकुमार प्रसाई, प्रमुख प्रशासकीय अधिकृत श्री टीकाराम ढकाल लगायतका जनप्रतिनिधि र कर्मचारीसँगको करिब १ घण्टा लामो अन्तरक्रियामा त्यहाँका प्रमुखज्युबाट राजश्व वृद्धीका आधारहरु, समृद्ध नगर बनाउन गरिएका योजनाहरु, बजार व्यवस्थापनका लागि गरिएका प्रयासहरु र प्रमुख प्रशासकीय अधिकृतज्यूबाट सार्वजानिक सेवा प्रवाह, सूचना प्रविधि विस्तार सम्बन्धी जानकारीहरु लियौं । हरिवन नगरपालिले सूचना प्रविधिका क्षेत्रमा गरेको प्रगति, प्रत्येक महिनाको आम्दानी र खर्चको विवरण सार्वजानिक गर्ने विषय सराहनिय लाग्यो । करिब ९ बजे तिर हेटौंडा पुगेर बास बस्यौ ।

श्रावण १४ गते बिहान ७ बजे तिर हेटौंडाबाट सुरु भएको दोस्रो दिनको यात्रामा पहिलो गन्तव्य नवलपरासी जिल्लाको दुम्कौलीमा चौधरी ग्रुपले निर्माण गरेको शाश्वतधाम थियो । त्यहाँको कलात्मक बस्तुस्थिती, सनातनधर्मको रक्षाको लागि गरिएका विभिन्न प्रयासहरुले धार्मिक तथा सांस्कृतिक पर्यटनमा टेवा पुगेको देख्दा हाम्रो अर्जुनधारा जलेश्वरधामको याद दिलायो ।

त्यस्तो सुन्दर ठाउँमा पुगेपछि कसको मन नअडिएला र ? धित मरुन्जेल फोटो खिचियो, सेल्फी हानीयो । त्यहाँको कलात्मक आकृतिलाई तस्वीरमा कैद गरी फेरी बाटो लाग्यौं । निरन्तर यात्रा पछि गौतम बुद्धको पवित्र जन्मस्थान लुम्बिनी पुगियो । विभिन्न बौद्ध वाङ्मयहरुमा बुद्धको जन्मस्थल भनेर लुम्बिनी नाउको एउटा उपवनलाई इ.पू. २४९ मा मौर्य सम्राट अशोकले तिर्थाटन गरेर संस्मरणमा अभिलेख कुदाएर स्तम्भ निर्माण गराएका रहेछन ।

करिब ३ वर्ग माइल क्षेत्रफल ओगटेको लुम्बिनीलाई १/२ घण्टामा अवलोकन गरेर के सकिन्थ्यो र ? मुख्यमुख्य स्थलहरुको अवलोकन पश्चात् फेरि यात्रा अगाडि बढ्यो । बसभित्र भए पनि नाच्ने, दोहोरी गाउने, रमाइला रमाइला जोक्स भनी भरपुर मनोरञ्जन लिदै ९ बजे तिर गोरुसिङ्गेको एक होटलमा पुगेर बास बसियो ।

तेस्रो दिन श्रावण १५ गते बिहान तातोतातो चिया र नास्ता पछि करिब ६ः३० देखि सुरु भएको यात्रामा गोरुसिङ्गेदेखि डुमरासम्म केहीसम्म परेका फाटहरु, स–साना शहरबस्तीहरु देखिएता पनि भालुवाङ, चन्द्रौटा, चोरखोला, पैरेखोला यो बिचको करिब १५ किलोमिटर जति दूरी साघुरो बाटो, भिरालो जमिन, बडेमानका चट्टान, घुम्ती, खोलाखोल्सा, पैरौ गएको ठाउँ, घना हरियो वन जंगल, बाटोको छेउमा स–साना झुप्रे घरहरु एकदमै अनौठो तथा डरलाग्दो लाग्यो ।

प्राकृतिक सुन्दरतासँगै पश्चिमी पहाडको भुवनोट, त्यहाँको आर्थिक गतिविधि, रहनसहन आदिको अवलोकन गदैे कोहलपुरमा करिब १ बजे तिर पुगेर खाना खायौं । कोहलपुरमा अर्जुनधारा १० नंं. वडाका वडाध्यक्ष श्री बलदेवसिं गोम्देन तामाङ्गज्यूका साथीहरुले हाम्रो पुरै टिमलाई खानाको व्यवस्था गरेका थिए । उहाँहरुको न्यानो स्वागत र परिचयात्मक कार्यक्रम पछि खाना खाएर गन्तव्यतर्फ अगाडि बढ्यौं ।

पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुन्जको प्रमुख कार्यालय ठाकुरद्वार हुँदै निकुन्जको बाटो टाइमिङ कार्डमा हिंड्दा त्यहाँका संरक्षित वन्यजन्तुहरु बसबाटै देख्न सकिन्थ्यो । अजिङ्गर, निलगाई, मृगहरु, बादरहरु देख्दा हामीमा एक प्रकारको उत्सुकता मौलाउथ्यो । बर्दिया राष्ट्रिय निकुन्ज छिचोल्ना साथ पूर्व पश्चिम राजमार्ग अन्तर्गत करिब २५ बर्ष पहिले बर्दिया र कैलाली जिल्लाको चिसापानी घाटमा बनेको ५०० मिटर लम्बाई र १० मिटर चौडाई भएको कर्णाली पुलको गगनचुम्बी पिलर खम्बाले हाम्रो ध्यानाकृष्ट गरिहाल्यो ।

कर्णाली नदी पार गरेर कैलाली जिल्लाको चिसापनी बजारमा कर्णालीका माछाको स्वाद पनि चाख्न पाइयो । समय अनुकुल हुँदा एकपटक पुग्नै पर्ने रमणीय स्थान हो कर्णाली, चिसापानी पुल । कर्णाली पुलको सौन्दर्यतालाई क्यामरामा कैद गर्दै वलिया, लम्कीचुवा, चौमाला हँुदै कैलालीको अत्तरियामा बास बस्यौ ।
चौथो दिन श्रावण १६ गते मुसलधारे वर्षाका कारण बिहानको ८ः३० बजेमात्र यात्रा सुरु भयो महाकाली नदी अर्थात् दोधारा चाँदनी पुलतर्फको । सुदूर पश्चिमे शैलीको लवज, फरक रहनसहन, भेषभुषा, संस्कृतिको प्रत्यक्ष अवलोकनले हामी सबैमा नौलोपनको आभाष दिलाएको थियो ।

११ बजे तिर दोधारा चाँदनी पुल पुग्दा खुशीको सीमा रहेन । महाकाली नदीमाथि नेपाली इन्जीनियरले डिजाइन गरेको मल्टीस्पान झोलुङ्गे पुलले कञ्चनपुर जिल्लाको साविक चाँदनी र दोधारा गाविस हाल महाकाली नगरपालिकालाई जोडेको रहेछ । करिब ३० मिनेटको झोलुङगे पुलको पैदलयात्रापछि पुलपारी महाकाली नगरपालिका पुगियो । भारतीय सीमानामा पर्ने महाकाली नगरपालिकाका प्रायः जनताहरुको आर्थिक कारोवार भारतमै हुँदो रहेछ ।

महाकाली नगरपालिका कार्यालयका प्रमुख बीरबहादु सुनार काम विषेशले काठमाण्डौ गएका कारण उपप्रमुख चिनी ओझा गिरी, प्रमुख योजना अधिकृत भानदेव भट्टलगायत कर्मचारीहरुद्वारा आयोजना गरिएको स्वागत कार्यक्रममा त्यहाँको वस्तुस्थितीको चित्रण, नगरको आम्दानीका स्रोतहरु, कर्मचारी व्यवस्थापन, जनप्रतिनिधिले बनाएका विकासका खाकाहरु, जनप्रतिनिधि र कर्मचारी बीचका तालमेलका विषयमा अनुभवहरु साटासाट गरिसके पश्चात् मायाको चिनो आदानप्रदान पनि गरियो । पूर्वको पशुपतिनाथको उपनामले परिचित अर्जुनधारा जलेश्वरधामको नाम र महिमा सुदूरपश्चिमका जनताको मुखबाट सुन्न पाउँदा हामीमा खुशीको सीमा नै रहेन ।

महाकाली नगरपालिकाका जनप्रतिनिधि लगायत कर्मचारी वर्गलाई पूर्व भ्रमणमा आउँदा अर्जुनधारा नगरपालिकालाई नभुल्नु भन्दै मायाको चिनो प्रदान गर्दा सुदूर पूर्व र सुदूर पश्चिमका बीचमा आत्मीयताको साइनो गाँसिए झै लागिरह्यो । महाकाली नगरपालिकाका विकासका पहरेदारहरुसँग सामुहिक तस्वीर लिएसँगै हामी त्यहाबाट बिदा भयौ ।

त्यहाँबाट फर्किएर कञ्चनपुर जिल्लाको मझगाउँमा अवस्थित एसियाकै सबैभन्दा बढी बाह्रसिंगे (करिव २००० वटा) पाउने एक मात्र निकुञ्ज शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालयमा गएर त्यहाँको प्राकृतिक अवस्था, पर्यटकीय सम्भावना, संरक्षित वन्यजन्तुहरुको अवस्था आदिको जानकारी लिएपछि बिदा भयौं । त्यसपछि सुदूरपश्चिमको कञ्चनपुरलाई वाईवाई गर्दै यात्रा पूर्वतर्फ मोडियो ।

फर्कने क्रममा पश्चिम नेपालकै प्रवेशद्वारका रुपमा रहेको चिसापानी कर्णाली पुलदेखि ३७ किमि पश्चिम, पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको कैलाली जिल्लाको वनवहेडा र सुखड को बीचमा पर्ने जंगलमा अवस्थित घोडाघोडी तालको अवलोकन गर्ने अवसर जुर्यो । जिल्ला वन कार्यालय, कैलाली जिल्ला समन्वय समिति कैलाली र घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागण मञ्च नामक स्थानीय संस्थामार्फत स्थानीय रुपमै संरक्षण कार्य अघि बढेसँगै अन्तराष्ट्रिय रामसार सूचिमा सूचिकृत तालको महत्व थप बढेको स्थानीयको भनाई थियो ।

२ हजार ५ सय ६३ हेक्टर क्षेत्रफल आगटेको ताल क्षेत्रमा विभिन्न जलचर, वनस्पति, चरा लगायत करिब १४०० मिटर लम्वाई क्षेत्रमा पूरै जलकुम्भी र कमलको फुल फुलेको हत्केला आकारको तालको सुन्दरता शब्दमा बयान गर्न नसकिने थियो । धार्मिक, पर्यटकीय तथा पौराणीक दृष्टीकोणबाट नेपालको प्रसिद्ध स्थलको रुपमा रहेको ताल थारु समुदायसँग गासिएको रहेछ । स्थानीयका अनुसार परापूर्वकालमा त्यस क्षेत्रको थारु मानव बस्तीमा राक्षसहरुले दुःख दिएको अवस्थामा हिन्दू धर्मका भगवान विष्णुले घोडा र लक्ष्मीले घोडीको अवतार लिइ राक्षसहरुको संहार गरी थारु समुदायको रक्षा गरेको हुनाले तालको नाम घोडाघोडी रहन गएको रहेछ । घोडाघोडी तालमा करिब १ घण्टाको अवलोकन पश्चात् फेरी बाटो लाग्यौ । साधारण थकानको बाबजुद करिब ९ बजे तिर बाँके जिल्लाको नेपालगञ्ज आएर बास बस्यौ ।

पाँचौं दिन श्रावण १७ गते बिहान चियानास्ता पछि करिब आधा घण्टा नेपालगञ्जको बजार क्षेत्र, त्यहाँको वातावरणको अवलोकन गरे पश्चात् फेरी यात्रा सुरु भयो । बसभित्र विभिन्न सांगीतिक कार्यक्रम गर्दै यात्रालाई निरन्तरता दिँदा बुटवल आई पुगेको पत्तै भएन । बुटवलबाट जीतगढी किल्ला हुँदै सिद्धबाबा मन्दिरदेखि तिनाउ नदीसम्म आइपुग्दा पहाडी बाटो, सिमसिम पानी, अविरल वर्षाका कारण खुकुलो भएको भिरालो बाटोको माटो आदिले गर्दा हामी सबै जना डर मान्दै मान्दै मदनपोखरा हुँदै करिब ४ः३० बजे तिर पाल्पाको तानसेन नगरपालिका पुग्यौ ।

नेपालका पुराना नगरपालिका मध्येको सन् २००८ जनवरी ३० मा युनेस्कोको विश्व सम्पदा अनुमानित सूचिमा संस्कृति वर्गमा सूचिकृत भएको तानसेन बजारले आफ्नो बेग्लै पहिचान बनाएको रहेछ । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाही, प्रमुख प्रशासकीय अधिकृत किर्तनराज पौडेल, वडाध्यक्ष सागरमान महर्जन, कर्मचारीहरु दिवाकर अर्याल, विष्णु पौडेल, भरतप्रसाद आचार्य, सूचना प्रविधि अधिकृत प्रकाश गैरे आदिले आयोजना गरेको स्वागत कार्यक्रममा पर्यटन विस्तारका प्रयासहरु, विकासका योजनाहरुको सञ्चालन प्रक्रिया र अवस्था, कार्यालय व्यवस्थापन, कर्मचारी व्यवस्थापन, स्थानीय उत्पादनहरु अदुवा, ढाका कपडा, र करुवाको बजार व्यवस्थापन, स्थानीय घरेलु उद्योगको स्तरोन्नती आदि बारे सामान्य अन्तरक्रिया गरेपछि नगरपालिका कार्यालयबाट बिदा भई नेपालको दार्जिलिङको नामले परिचित तानसेन बजारको रमाइलोमा भुल्दै ढाकाका सामाग्रीहरु किनमेल गर्दै त्यहीँकै एक होटलमा बास बस्यौ ।

छैटौं दिन श्रावण १८ गते बिहानको सिमसिम पानीसँगै शुरु भएको यात्रामा बालिङ बजार, पुतलीबजार, फेदीखोला हुँदै तालहरुको उपत्यका सुन्दर नगरी पोखरामा आएर थकाली खाना खाइयो । नेपालकै दोस्रो ठूलो नगरको रुपमा रहेको पोखरा लेखनाथ महानगरपालिका कार्यालयमा त्यो दिन नगरप्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत महत्वपूर्ण कामको सिलसिलामा उपत्यका बाहिर रहनुभएकाले भेटघाट हुन सकेन । तथापी त्यहाँका रमणीय स्थलहरु महेन्द्र गुफा, गुप्तेश्वर महादेव, डेभिड फल्स (पातले छागो), अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको भ्रमण तथा फेवा तालमा पर्ने माछापुच्छे«को छायाँ र बेगनास तालमा गरेको डुङ्गा सवारी हाम्रा लागि बिर्सिनसक्नु भए ।

प्रमुख पर्यटकीय स्थल पोखराबाट बिदा भई लगभग राति ८ बजे तिर दमौलीमा आई बास बस्यौ ।
सातौं दिन श्रावण १९ गते बिहान दमौलीमा चियानास्तासँगै शुरु भएको यात्रामा भ्रमणको कुनै योजना थिएन । छ÷सात दिनको यात्राको थकानले समयमै घर पुग्नु सबैको मनसाय थियो । तर श्रावणको महिना सिमसिम पानी परिरहेका कारण मुग्लीन–नारायणघाट सडक खण्डमा पहिरो गएर बाटो अवरुद्ध भएछ ।

सडक माथिबाट ठुलाठुला ढुङ्गा, माटो सहित धमिलो पानी झरिरहेकाले सुरक्षकर्मीद्वारा गाडी आवत जावतमा रोक लगाएको थियो । प्रायः वर्षै पिच्छे नारायणघाट–मुग्लीन सडकखण्डमा बर्षायाममा पहिरो गएर बाटो अवरुद्ध भई दुर्घटना भएका समाचारहरु सुन्ने, पढ्ने गरेतापनि प्रत्यक्ष रुपमा पहिरो झरिरहेको भिडियो गर्दै बाटो खल्ने समयको प्रतिक्षा गर्न थाल्यौ । करिब ४ घण्टाको प्रतिक्षाको घडी समाप्त पश्चात् सुरक्षाकर्मीद्वारा गाडी पासको निर्दैशन भयो सोही बमोजिम दिनको करिब १२ बजे तिर भरतपुर पुगी खाना खायौं ।

ठीक १ बजे भरतपुरबाट अर्जुनधारा तर्फ प्रस्थान गर्यौ । अर्जुनधारा करिब ९ बजे तिर स–कुशल आई हामीले अन्तिम गन्तव्य पूरा गर्यौ । यस अध्ययन भ्रमणको गन्तव्य सफल भएकोमा हामी सबैलाई खुशीको सीमा नै रहेन । यसको लागि अर्जुनधारा नगरपालिका लगायत सम्पूर्ण टिमलाई धन्यवाद ।

भ्रमण टोलीमा सहभागीहरुः

जनप्रतिनिधितर्फ

– वडाध्यक्ष वडा नं. १ गजाधर खतिवडा

– वडाध्यक्ष वडा नंं. २ रघुनाथ खनाल

– वडाध्यक्ष वडा नं. ३ जीवकुमार भण्डारी

– वडाध्यक्ष वडा नं. ४ दुर्गाप्रसाद दाहाल

– वडाध्यक्ष वडा नं. ५ ध्यानबहादरु भारती

– वडाध्यक्ष वडा नं. ६ लोकनाथ गौतम

– वडाध्यक्ष वडा नंं. ७ नवराम ढुङ्गाना

– वडाध्यक्ष वडा नं. ८ गोपीचन्द्र गौतम

– वडाध्यक्ष वडा नं. ९ पुष्पकुमार प्रसाई

– वडाध्यक्ष वडा नं. १० बलदेवसिंह गोम्देन तामाङ्ग

– वडाध्यक्ष वडा नं. ११ भैरवबहादुर खड्का

कर्मचारीतर्फ

१. वरिष्ठ योजना अधिकृत हिमराज सेढाई

२. कृषि अधिकृत शालिकराम भट्टराई

३. लेखा अधिकृत मदन कुमार पौडेल

४. इन्जीनियर निरज अधिकारी

५. सव–इन्जिनियर छविरमण पोख्रेल

६. नायवसुव्बा तुलसीप्रसाद भण्डारी

७. लेखापाल चुडामणी खनाल

८. वडा सचिव सस्मिता लुइटेल

९. वडा सचिव मुना निरौला

१०. खरिदार खगेन्द्र लिङ्देन

११. नगरप्रमुख स्वकिय सचिव गजेन्द्र खनाल

सात दिनको अध्ययन अवलोकन भ्रमण पश्चात हासिल गरेका उपलब्धिहरु

१. विभिन्न प्रदेशमा रहेका नगरपालिकाहरुबाट त्यहाँको विकासको अवस्था, बजार व्यवस्थापन, योजनाहरुको छनौट, कर्मचारी व्यवस्थापन, कार्यालय व्यवस्थापन, दैनिक कार्य सञ्चालन, योजनाहरुमा जनतासँगको समन्वय, भावि योजना आदिका विषयमा जानकारी प्राप्त गरियो ।

२. नमूनामा परेका क्षेत्रको प्राकृतिक, धार्मिक, सामाजिक स्थितिको बारेमा जानकारी प्राप्त गरियो ।

३. भौगोलिक विविधता वारेमा प्रत्यक्ष जानकारी प्राप्त गरियो ।

४. प्राकृतिक अवस्था र विकासका गतिविधिहरुको बारेमा आफ्नो समुदाय र सम्बन्धित क्षेत्रका बीच भिन्नता पहिचान गरियो ।

५. बजार क्षेत्रमा हुने प्रदूषण, फोहोरमैला व्यवस्थापन, ट्राफिक समस्या, अव्यवस्थित शहरिकरण न्यूनिकरणका उपायहरुका बारेमा जानकारी हासिल गरियो ।

६. पर्यटन व्यवसाय तथा त्यसबाट नगरलाई हुने फाईदाका बारेमा जानकारी प्राप्त गरियो ।

७ दिने अध्ययन अवलोकन भ्रमणमा केही सकारात्मक केही नकारात्मक दुवै पक्ष देखिएतापनि सकारात्मक पक्ष नै बढी भएको अनुभुति भएको छ ।

तसर्थ यो भ्रमणलाई केवल भ्रमण रुपमा मात्र सीमित नगरी यसलाई उपलब्धिमूलक बनाउन सकेमा मात्रै भ्रमणमा गरिएको लगानी फलदायी हुन्छ र सकेसम्म भ्रमणमा सिकेका, जानकारी लिएका कुराहरुलाई आफ्नो नगर तथा कार्यक्षेत्रमा कार्यान्वयन गर्दै लैजाने हाम्रो सम्पूर्ण भ्रमण टोली प्रतिवद्ध छ ।

          मुना निरौला