सुगम नेपाल निर्माण गर्छौं : प्रधानमन्त्री ओली « Yalambar Times
८ बैशाख २०८१, शनिबार

सुगम नेपाल निर्माण गर्छौं : प्रधानमन्त्री ओली


यलम्वर टाइम्स
२१ पुष २०७५, शनिबार ०२:२६

सडक कालोपत्रेका लागि शिलान्यास गर्दै प्रधानमन्त्री ओली ।

[सन्देश सुब्बा]

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुगम नेपाल निर्माणमा सरकार प्रतिबद्ध भएर लागेको बताएका छन् ।

शुक्रबार पाँचथरको मिक्लाजुङ गाउँपालिकाको केन्द्र रविमा प्रधानमन्त्री ओलीले सबै दुर्गम क्षेत्रमा बिकासका पूर्वाधारहरु पु¥याएर सुगम नेपाल बनाई छाड्ने ढृडता व्यक्त गरे ।

भेंडेटार–रवि–राँके सडक कालोपत्रेको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले दुर्गम क्षेत्रलाई यातायात, पर्यटन, स्वास्थ्य र शिक्षाले जोडेर सुविधा सम्पन्न बनाइने बताए ।

सडक कालोपत्रेको शिलान्यास गर्दै प्रधानमन्त्रीले सडक सञ्जालमा नजोडिएको हुम्लालाई आगामी दुई बर्षभित्र सडकको पहुँचमा पु¥याइने बताए ।

पूर्व–पश्चिम र रक्सौल–काठमाण्डौं रेलमार्ग चाँडै बन्ने प्रधानमन्त्रीको भनाई थियो । आफूले ल्याएका विकासका योजनालाई हाँसो र ठट्ठाको बिषय बनाइएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कोशीमा केही महिनाभित्रै जहाज आइपुग्छ ।’

स्वास्थ्य बीमा, आधुनिक कृषि प्रणाली जस्ता कार्यमा सरकार लागिपरेको उल्लेख गर्दै ओलीले गरिबका खरका छाना हटाएर नचुहिने जस्ता पाता लगाइने बताए ।

एकताबद्ध भएर मुलुकलाई समृद्ध बनाउने कुरामा सरकार गम्भिर रहेको बताउदै प्रधानमन्त्रीले भने, ‘प्रदेशको विकासका काममा पूरापुर केन्द्र सरकारको सहयोग हुन्छ ।’

मुलुकलाई सुगम बनाउने अभियानकै क्रममा भेंडेटार–रवि–राँके सडकलाई कालोपत्रे गर्न लागिएको प्रधानमन्त्रीले बताए ।

यसले पाँचथर, इलाम, मोरङ र धनकुटा जिल्लाको समृद्धिको ढोका खुलेको उनको भनाई थियो । सडक कालोपत्रेको काम आगामी तीन बर्षभित्र सम्पन्न हुने बताउँदै प्रधानमन्त्रीले यस कार्यमा सम्बद्ध सबै पक्षले सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा योजनामन्त्री रघुबीर महासेठले निर्माण कम्पनि र योजना कार्यान्वयन गर्ने निकायलाई भेंडेटार–रवि–राँके सडकको कालोपत्रे गर्ने कार्य समयमै सम्पन्न गर्न निर्देशन दिए ।

मन्त्री महासेठले सडक कालोपत्रे गर्ने जिम्मा पाएको लखनउ भारतस्थित एप्को इन्फ्रान्ट प्रा.लि., योजना कार्यान्वयन गर्ने निकाय सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र भेंडेटार–रवि–राँके सडक योजनालाई यस्तो निर्देशन दिएका हुन् ।

ट्रयाक खोलिएको तीन दशकपछि भेंडेटार–रवि–राँके सडक कालोपत्रेका लागि शिलान्यास भएपछि सडक पहुँचका स्थानीय हर्षित भएका छन् ।

एक सय किलोमिटरको भेंडेटार–रवि–राँके सडक कालोपत्रेका लागि तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ रुपैयाँ खर्च हुनेछ ।

कूल लगानिको ८७ प्रतिशत एक्जिम बैंक अफ इन्डियाको र १३ प्रतिशत नेपाल सरकारको लगानि रहेको बताइएको छ ।

धनकुटाको पर्यटकीय क्षेत्र भेंडेटारबाट सुरु हुने उक्त सडकको अन्तिम बिन्दु पाँचथर–इलाम सीमावर्ती राँके बजार हो ।