ललितको जीवन रक्षाका लागि सहयोगको अपिल « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

ललितको जीवन रक्षाका लागि सहयोगको अपिल


यलम्वर टाइम्स
२५ पुष २०७५, बुधबार ०८:२६

[राजन साम्पाङ]

अर्जुनधारा । एउटा सानो सभाहल छ । त्यसभित्र केही मानिसहरु छन् । ति मानिसहरुको बिचमा एक अर्धबैंसे महिला बिबिमाया तामाङ मलिन मुद्रामा बसिरहेकी छिन् । उनको अनुहारमा पीडाको भाव प्रस्टै झल्किन्थ्यो । उनको गहभरी भरिएका थिए । यो दृष्य हो, अर्जुनधारा वडा नं. ३ को सभाहलको ।

उमेरले २२ वर्ष मात्र टेकेका छोरा ललितको दुवै मृगौलाले काम गर्न छाडेर थलापरेपछि उनको मुहारमा पीडा देखिनु स्वाभाविक नै थियो । बिबिमाया आफ्नो पीडालाई व्यक्त गर्न सकिरहेकी थिइनन् । उनको पीडाले उनलाई बोल्न नदिएकै कारणले होला अरुको कुरामा मौनता साँधेर दायाँ बायाँ हेर्दै बसिरहेकी थिइन् ।

रोङ गाउँपालिका वडा नम्वर २ बदमटार स्थायी घर भएका तामाङको सम्पत्तिको नाममा ५ रोपनी जग्गा छ । दैनिक बनीबुत्तो गरेर हातमुख जोड्दै आएकी बिबिमायाको जेठा छोरा ललित दुवै मृगौला खराब भएर थलिएपछि परिवारमा बज्रपात परेको हो ।

परिवारमा बिबिमायासँगै उनका पति पेमा छिरिङ तामाङ र उनका कान्छा छोरा किसोर तामाङ छन् । परिवारको भरणपोषणका निम्ति करिब ६ वर्षअघि कक्षा ९ पढ्दा पढ्दै ललित भारतको मुम्बाई पुगेका थिए ।

परिवारको जिम्मेवारी बहन गर्दै आएका ललित नै यसरी थलापरेपछि यतिबेला तामाङ परिवारमा संकट बढेको छ । ललित २ वर्षअघिबाट मृगौला रोगबाट ग्रसित बनेका थिए ।

‘सुरुमा सुन्नियो, पिसाबमा ब्लड देखापर्यो र पिसाब फेर्न गाह्रो भयो भन्यो’ परिवारको भनाइलाई उदृढ गर्दै ललित बचाउ अभियानका सहसंयोजक सन्तबहादुर तामाङले भने, ‘ललितको उपचारका लागि पहिले बिर्तामोडको वीएण्डसीमा पुर्याएका थियौं । वीएण्डसीले बिराटनगरको नोवेल हस्पिटलमा रेफर गर्यो ।’

सोमबार अर्जुनधारा नगरपालिका वडा नं. ३ को सभाहलमा पत्रकार सम्मेलन गर्दै बचाउ अभियानका संयोजक जयकुमार तामाङले नोवेल हस्पिटलमा डा. शैलेन्द्रकुमार श्रेष्ठले बाएप्सी गर्दा नर्मल रिपोर्ट आएको जानकारी दिइएको बताए ।

उनले बिरामी बीसको उन्नाईस समेत नहुँदा थप उपचारका लागि भारतको सिलगुढी स्थित बैंगाल किड्नी केयर सेन्टरमा लगिएको जानकारी दिए ।

‘त्यहाँ पुगेपछि दुवै मृगौला खराब भएको पत्ता लाग्यो’ उनले अगाडि भने, ‘त्यस पश्चात उनलाई उपचारका लागि काठमाण्डौको बीर हस्पिटलमा पुर्याइएको छ ।’ तामाङका अनुसार अस्पतालले २ महिनाको औषधी दिएर अहिले घर फर्काएको छ ।

‘ललिताको उपचारका लागि हामी १२ दिन बीर हस्पिटल बस्यौं’ संयोजक तामाङले पुनः जोडे, ‘चिकित्सकले चाँडै मृगौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिनुभएको छ ।’ तामाङले उपचारमा खटिएका चिकित्सकको भनाई उदृढ गर्दै भने, ‘मृगौला प्रत्यारोपणका लागि १० देखि १२ लाख रुपैयाँ लाग्ने छ ।’

अभियानले ललितको उपचारमा यस अघि नै २ लाखभन्दा बढी खर्च भइसकेको जानकारी दिँदै उनको उपचारमा सहयोग पुर्याउन देश, परदेशमा रहनुहुने तमाम नेपालीजनमा अपिल गरेको छ ।

ललित बचाउ अभियान समितिले हालसम्म नगद ३० हजार नगद संकलन भएको जानकारी दिएको छ । समितिले ललितलाई सहयोग गर्न इच्छुक महानुभावले संयोजक जयकुमार तामाङलाई ९८४४६४०५२८, सहसंयोजक सन्तबहादुर तामाङलाई ९८२४०५८४७९ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

त्यस्तै बिर्तामोडमा रहेको ग्लोबल आईएमई बैंकको खाता नम्बर ५८०७०१०००५४५१ मा सहयोग रकम जम्मा गर्न सकिने छ ।

पत्रकार सम्मेलनमा अर्जुनधारा वडा नम्बर २ का अध्यक्ष रघुनाथ खनाल, वडा नं. ३ का सदस्य होमनाथ दुलाल, वडा नं. २ का सदस्य बलबहादुर समाल, खुदुनाबारी सशस्त्र प्रहरी बलका खड्क बिक्रम राई लगायतको उपस्थिति रहेको थियो ।