शिव पोखरीको संरक्षणसँगै प्रवद्र्धन गर्न सरसफाई « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

शिव पोखरीको संरक्षणसँगै प्रवद्र्धन गर्न सरसफाई


यलम्वर टाइम्स
२६ पुष २०७५, बिहीबार ०३:०८

[राजन साम्पाङ]

चेप्टी । विकासको क्षेत्रबाट निकै पछि रहेको इलामको माई नगरपालिका–२ चेप्टी स्थित शिव पोखरीलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ युवा संघ माई नगर कमिटीले पोखरीको सरसफाई गरेको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आधारभूत आवश्यकताका कुराहरुबाट पनि बञ्चित रहेको शिव पोखरीलाई धार्मिक पर्यटनको रुपमा विस्तार गर्दै विकासमा अगाडि बढाउन युवा संघले पोखरीको सरसफाई गरेको हो ।

युवा संघ माई नगर अध्यक्ष कुमार लिम्बूका अनुसार संघले शिवपोखरी मात्र नभई नगरभरिकै धार्मिक स्थलहरुको सरसफाईसँगै प्रचारप्रसार अभियानमा जोड दिएको छ ।

‘शिव पोखरी एउटा इतिहास बोकेको ठाउँ हो’ अध्यक्ष सुब्बाले भने, ‘यसको प्रचारप्रसारसँगै धर्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके नगरकै गहनाको रुपमा कहलिने छ । त्यसको प्रयास स्वरुप हामीले यो कार्य गरेका हौं ।’

झापाको बिर्तामोडबाट शनिश्चरे, खुदुनाबारी हुँदै शिवपोखरी पुग्न करिब १७ किलोमिटरको यात्रा तय गर्नुपर्छ । बिचमा झापा आन्दोलनका क्रममा मृत्युवरण गरेका शहिदहरुको सहादत स्थल सुखानी शहीद पार्कको पनि अवलोकन गर्न सकिन्छ ।

करिव ३ विगाह क्षेत्रफलमा फैलिएको शिव पोखरी क्षेत्र कछुवा आकारको रहेको छ । त्यसको बिच भागमा किरात हाङसाम वरक माङहिम अवस्थित छ । जसले प्राकृतिक सौन्दर्यतालाई अझ सुसोभित बनाएको छ ।

माङहिमका अध्यक्ष गंगाबहादुर लिम्बूका अनुसार शिव पोखरीमा माईपोखरीमा पाइने अत्यन्त दुर्लभ प्रजातिको रुख, विरुवाहरु पाइन्छ । पोखरीमा दुर्लभ प्रजातिका रातो माछा, कछुवा र रुखमा रंगीविरंगी सुनाखरीका फूलहरु हेर्न सकिन्छ ।

प्राकृतिक रुपमै मनमोहक छटाहले भरिएको शिव पोखरीको विकास लागि नगरपालिकाले बजेट छुट्याएर अगाडि बढेको माई नगरपालिकाका प्रमुख दिपककुमार थेवे बताउँछन् ।

‘चालु आर्थिक वर्षमा राष्ट्रपति चुरे संरक्षणमार्फत सडकका लागि १० लाख, माङहिमका लागि ४ लाख र पोखरी संरक्षणका लागि १० लाख गरी २४ लाखको बजेट निकासा गरेका छौं’ प्रमुख थेवेले भने, ‘पोखरीको तटबन्धनसँगै वरिपरि वृक्षारोपण गर्दै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लैजाने छौं ।’

प्रमुख थेवेले शिव पोखरीलाई धार्मिक वनको रुपमा विकास गरेर लैजाने बताउँदै आफ्नो योजना वन मन्त्रालयसम्म पुर्याएको सुनाए । ‘हामीमा चुरे क्षेत्रमा प्रायः पोखरी हुँदैन भन्ने मान्यता छ । प्रायः हुँदैन पनि’ प्रमुख थेवेले भने, ‘यसले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ ।’

शिव पोखरी सम्भावना बोकेको ठाउँ हो । चुरे क्षेत्रमा नहुने वनस्पति यस क्षेत्रमा पाइनु शिव पोखरीको अर्को विशेषता हो । यहाँ रहेको किरात हाङसाम वरक माङहिम धार्मिक भ्रमणका लागि अन्त्य मनमोहक स्थानको रुपमा रहेको छ भने वनस्पति सम्बन्धि रुचि राख्ने र वन विज्ञान पढ्ने विद्यार्थीहरुका लागि अनुसन्धानका लागि यो क्षेत्र उपयोगी छ ।

पोखरीको सरसफाईपछि युवा संघका अध्यक्ष सुब्बाको अध्यक्षतामा तथा नगर प्रमुख थेवेको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।

माई नगरपालिका वडा नम्बर ४ का सदस्य महेन्द्र बुढाथोकीले स्वागत गरेको कार्यक्रममा युवा संघ केन्द्रीय सदस्य प्रत्युष राना, उध्र्वबहादुर राई लगायतले आ–आफ्नो विचार राखेका थिए । कार्यक्रमको सञ्चालन भने नगर सदस्य पृथ्वी तिम्सिनाले गरेका थिए ।

१ वर्षअघिबाट युवा संघले अभियानको रुपमा सुरु गरेको सरसफाई कार्यक्रम नगरभित्रका तेह्रकुने, धुनधुने लगायतका क्षेत्रहरुमा पनि सञ्चालन गरिने जनाइएको छ । पोखरीको सरसफाईमा युवा संघसँगै, स्थानीयवासी, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।