गोलधाप युवा परिवारद्वारा पदकधारी पाँच खेलाडीलाई सम्मान « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

गोलधाप युवा परिवारद्वारा पदकधारी पाँच खेलाडीलाई सम्मान


यलम्वर टाइम्स
२९ पुष २०७५, आईतवार ०६:३८

अर्जुनधारा । अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल अर्जुनधारा–९ र १०का कराते र तेक्वान्दो खेलका खेलाडीहरुलाई गोलधाप युवा परिवारले सम्मान गरेको छ ।

उनीहरुलाई एक कार्यक्रमको बिच फुलमालासँगै दोसल्ला ओढाई मायाको चिनोबाट सम्मानित गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा गत सेप्टेम्बरमा भारतको हैदराबादमा सम्पन्न भएको जीएसकेडीआई इन्टरनेशनल ओपन कराते च्याम्पियनसीपका पुरुष ६० केजी तौल समूहमा स्वर्ण पदक विजेता सुमन चिमरीया र महिला ४० केजी तौल समूहमा स्वर्ण पदक विजेता शुभेच्छा राई रहेका छन् ।

त्यसैगरी गत डिसेम्बरमा चीनमा सम्पन्न भएको दी वल्र्ड तेक्वान्दो हीरो कप–२०१८का पुरुष ५४–५८ केजी तौल समूहमा स्वर्ण पदक विजेता दिपेन धिमाल, पुरुष ४०–४५ केजी तौल समूहमा स्वर्ण पदक विजेता विवेक गिरी र महिला ४५ केजी तौल समूहमा स्वर्ण पदक विजेता एंकीला राई रहेका छन् ।

सोही कार्यक्रममा तेक्वान्दोतर्फ स्वर्ण पदकधारी खेलाडीका प्रशिक्षकहरु कुमार भट्टराई, जीतेन मेचे र योगेन्द्र रिजाललाई ढाका टोपी ओढाई सम्मानित गरिएको थियो ।

परिवारका अध्यक्ष चन्द्रप्रसाद आचार्यको सभापतित्व, दशनामी समाज प्रदेश नम्बर १का अध्यक्ष चन्द्रप्रसाद गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर सभा सदस्य नरेन्द्रप्रसाद अधिकारी, नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भानु श्रेष्ठ, भूवनेश्वर शिव पाञ्चायन मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष शान्तविर बुढाथोकी, राष्ट्रिय संरक्षण युवा मञ्चका अध्यक्ष रञ्जन देवकोटा, युवा व्यवसायीद्धय नेत्रप्रसाद गिरी ‘इन्द्र’, मिलन राईलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन दिपक श्रेष्ठले गरेका थिए ।