समुदाय प्रहरी नगरपालिकाको संयोजकमा प्रमुख राना « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

समुदाय प्रहरी नगरपालिकाको संयोजकमा प्रमुख राना


यलम्वर टाइम्स
३० पुष २०७५, सोमबार ०८:२२

अर्जुनधारा । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अर्जुनधारा नगरपालिकामा नगरस्तरीय कार्यसमिति गठन गरिएको छ ।

समुदायमा प्रहरी र समुदायबीचको सहकार्य सकारात्मक रुपले अगाडि बढाउने उद्देश्यले नगर र वडास्तरीय कार्यसमितिको एक कार्यक्रमका बीच घोषणा गरिएको हो ।

नगर प्रमुख हरिकुमार रानाको संयोजकत्वमा २० सदस्यीय नगरस्तरीय कार्यसमिति गठन गरिएको छ । समुदाय–प्रहरी साझेदारीको कार्यगत संयन्त्र अनुसार नगर प्रमुख राना संयोजक जिम्मेवारीमा रहने व्यवस्था रहेको छ ।

जसको सह–संयोजकमा उप–प्रमुख कमला खतिवडा र इलाका कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइराला रहेका छन् भने शनिश्चरे प्रहरी चौकीका प्रहरी नायव निरीक्षक राजन खड्का सचिवमा रहेका छन् ।

समितिको सदस्यहरुमा क्रमशः वडा–८ अध्यक्ष गोपीचन्द्र गौतम, वन महासंघ अर्जुनधाराका अध्यक्ष दिव्य कट्टेल, पूर्व प्रहरीको तर्फबाट विरेन्द्र खरेल, महिला तथा बालबालिकाको तर्फबाट मिश्रकुमारी राई रहेका छन् ।

त्यस्तै आमा समूहबाट राजकुमारी शेर्पा, शिक्षक महासंघ नगर अध्यक्ष पुण्य सुवेदी, अभिभावकको तर्फबाट माया कार्की, सरोकरावाला संघसंस्थाको तर्फबाट भक्ति सिटौला, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, जेप्ठ नागरिकको तर्फबाट नरेन्द्र तिम्सिना, शनिश्चरे जेसीजको तर्फबाट अजय देव, उद्योग वाणिज्य संघको तर्फबाट चतर्भुज काफ्ले, नेपाल रेडक्रस सोसाइटीको तर्फबाट मनोरथ पाण्डे लगायत कार्य समितिको सदस्यमा रहेका छन् ।

अर्जुनधारा नगरपालिकाले सबै वडामा वडास्तरीय समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरी समिति गठन समेत गरी सकेको छ । सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा १४ सदस्यीय कार्यसमिति गठन भएको कार्यक्रम सञ्चालक खगेन्द्र लिङदेनले जानकारी दिए ।

जस अन्तर्गत वडा–१ मा अध्यक्ष गजाधर खतिवडा, वडा–२ मा अध्यक्ष रघुनाथ खनाल, ३ मा वडा अध्यक्ष जीवन भण्डारी, वडा–४ मा अध्यक्ष दुर्गा दाहाल, ५ मा वडा अध्यक्ष ध्यानबहादुर भारती संयोजकमा चयन भएका छन् ।

त्यस्तै समितिको ६ नम्बर वडा अध्यक्ष लोकनाथ गौतम, ७ नम्बर वडा अध्यक्ष नवराम ढुङ्गाना, वडा–८ अध्यक्ष गोपीचन्द्र गौतम, वडा–९ अध्यक्ष पुष्प प्रसाई, वडा–१० अध्यक्ष बलदेव गोम्देन र वडा–११ अध्यक्ष भैरव खड्का वडास्तरीय समितिको संयोजकमा रहेका छन् ।

सोही कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्ण कोइरालालाई शनिश्चरे बजारको बिदाई समेत गरिएको थियो ।

अर्जुनधारा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख हरिकुमार राना, प्रदेशसभा सदस्य बृख प्रधानले कोइरालालाई प्रशंसापत्र सहित पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले मायााको चिनो र रातो अविर लगाइ विदाइ गरेका थिए ।

नगर प्रमुख रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सांसद प्रधान, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री बुडाथोकी लगायतले अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्ने गरी यो कार्यक्रम आएको बताए ।

कार्यक्रम सञ्चालन भएपछि गाउँघरमा हुने उपराध, हिंसा र असुरक्षाका घटनाहरु नियन्त्रण हुनुका साथै प्रहरीसँगको भरपर्दो सूचना संयन्त्र तयार हुने अपेक्षा सहित उनीहरुले शुभकामना व्यक्त गरेका थिए ।