प्रतिवेदनले तोकेभन्दा बाहिर उत्खनन भए कारबाही « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

प्रतिवेदनले तोकेभन्दा बाहिर उत्खनन भए कारबाही


यलम्वर टाइम्स
६ माघ २०७५, आईतवार ०९:५७

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको आयोजनामा बसेको नगर स्तरीय सरोकरवालाको बैठकले प्रारम्भिक वातावरणीय परीक्षण (आईइइ) प्रतिवेदनले तोकेको स्थानभन्दा बाहिर नदीजन्य सामाग्रीको उत्खनन् गरेको पाइएमा कानूनी कार्वाही गर्ने भएको छ ।

नगरपालिकाको सभाकक्षमा बसेको सर्वपक्षीय सरोकारावालाहरुको बैठकले जथाभावी हुने खोलाको उत्खनन्लाई रोक्न प्रतिवेदनले व्यवस्था गरे अनुसार र नदीजन्य सामाग्री ठेक्का सम्झौता भएका स्थानमा मात्र उत्खनन् गरेर सहयोग गर्नका लागि सबैमा अनुरोध गरिएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए । बैठक अर्जुनधाराको भावी कार्यक्रममा समेत केन्द्रित रहेकोे प्रमुख रानाले बताए ।

बैठकमा पूर्व मन्त्री, पूर्व सांसद, प्रदेश, जिल्ला र नगरमा प्रतिनिधित्व गर्ने मुख्य राजनीतिक नेतृत्व, सञ्चारकर्मी, उद्योगी र सुरक्षा निकायका प्रमुख तथा सरोकरावाला कार्यालय प्रमुख लगायतको सहभागिता रहेको थियो ।

बैठकमा पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले नगरलाई स्मार्ट सिटीको परिकल्पना अवधारणा अनुसार आधुनिक नमूना बजार निर्माण गर्नुपर्ने सुझाव पेश गरे ।

उनले अर्जुनधारा–शनिश्चरे बजारमा ढल व्यवस्थापनको लागि नाला निर्माण गर्नुपर्नेमा जोड दिए । नाला निर्माणका लागि दास पुल क्षेत्रसम्ममा मर्मत व्यवस्थापन गर्नुपर्ने बताउँदै पूर्व मन्त्री बुढाथोकीले शनिश्चरे बजारमा सडक विस्तार मापदण्ड तोक्नु पर्ने अवस्था आएको बताए ।

नेकपाका केन्द्रीय सदस्य एवम् प्रदेश–१ अध्यक्ष देवराज घिमिरेले नगरको विकासका लागि सबै जना एक ढिक्का भएर लाग्नु पर्ने बताउँदै बहुसंख्यक जनताको हितका लागि जुनसुकै कदम पनि निर्वाचित सरकारले चाल्नुपर्ने धारणा राखे ।

त्यस्तै नेपाली कांग्रेसका झापा सभापति उद्धव थापाले शनिश्चरे बजारको मुहार फेर्न बजारमा देखिएका टहरा, ठेलालाई व्यवस्थापन गरी अर्जुनधारा मन्दिर छेउको सडक र पुल निर्माण गर्नुपर्ने बताए ।

सभापति थापाले शनिश्चरे बाहिरका सडकहरु चौडा विस्तार भैइरहेको तर मुख्य बजार साघुँरो भएको हुँदा यथाशिघ्र नगरले मापदण्ड अनुसार विस्तारको काम सुरु गर्नुपर्ने बताए ।

संविधान सभाका सदस्य प्रेम गिरीले आईईई प्रतिवेदनले दीगो विकासको अवधारणा अनुरुप कार्ययोजना भएकोले राष्ट्रपति चुरे तराई मधेस कार्यक्रमले वातावरणमैत्री विकास प्रकोप न्यूनिकरणको उपायहरुलाई अवलम्वन गरेको बताए ।

सडक सिनियर डिभिजन प्रमुख श्यामकुमार यादवले बिर्तामोड–शनिश्चरे सडक चार लेन्थसहित ७० फिट विस्तार गर्नुपर्ने बताए ।

यादवले त्यसमा १ सय ४० फिट सडक मापदण्ड निरन्तरता दिनुपर्ने बताए । त्यस क्षेत्रमा सार्वजनिक, नीजि निर्माण कार्य गर्न नमिल्ने र नगरपालिकाले सीमाङ्कन गर्नुपर्ने बताए । उनले शनिश्चरे–बुधबारे सडक दुई लेन्थको स्वीकृति भैइसकेको जानकारी दिए ।

भू–गर्वविद यदुनाथ तिम्सिनाले नेपालमा चारकिला गाड्दै जीपीएस पोइन्ट लिई नदीजन्य सामाग्रीलाई व्यवस्थित गर्ने कार्यमा अर्जुनधारा नगरपालिका पहिलो भएको बताउँदै प्रतिवेदन अनुसार चुस्त दुरुस्त अनुगमन भएमा नदीलाई कुनै क्षर्ति नपुग्ने बताए ।

बैंठकमा अर्जुनधारा नगरपालिका प्रवेशद्धारमा धार्मिक महत्वलाई उजागर हुने गरी निर्माणको कार्य गर्नुपर्ने, सडक मापदण्ड बजार भित्रका घर, टहरा हटाउनको लागि सार्वजनिक सूचना र नगरको विकासमा राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज र उद्योगी व्यवसायी सबैले सहयोग गर्ने निर्णय भएको बरिष्ठ योजना अधिकृत हिमराज सेढाईले बताए ।

नगरबासीको पिछडिएको क्षेत्रमा जीवनस्तर उकास्न र रोजगारीसहित वास, कपास जस्ता कार्यक्रय ल्याउनु पर्ने, शनिश्चरे–खुदुनाबारी सडकमा पर्ने कालेपत्रे पुरानो भएकाले भत्काउनु पर्ने, नदीजन्य सामाग्रीको ठेक्कामा सर्वपक्षीय भेला राख्नु पर्ने, ंउपभोक्ता शिक्षा कार्यक्रम विद्यालय कलेजमा दिुनपर्ने लगायतका सुझावहरु छलफलमा आएको सेडाईले जानकारी दिए ।

नगरपालिका इञ्जीनियर निरज अधिकारीले शनिश्चरे बजारलाई व्यवस्थित गर्ने सहितको मार्गचित्र सहित तत्काल गर्ने सकिने कार्यक्रमहरु प्रस्तुत समेत गरेका थिए ।

नगर प्रमुख रानाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्रदेश सांसद बृख प्रधान, पूर्वाधार विकास कार्यालय झापाका सुरेश कुमार मण्डल, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, डीई श्यामकुमार यादव, नेकपा नगर अध्यक्ष प्रेमसागर सापकोटा, नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेल, संघीय समाजवादीका श्रीलाल चौधरी लगायतको आतिथ्य रहेको थियो ।

नगर उपप्रमुख कमला खतिवडाको स्वागत रहेको कार्यक्रमको सञ्चालन बरिष्ठ योजना अधिकृत सेढाईले गरेका थिए ।