सरकार जनताको हुन नसकेको जनमुक्तिको आरोप « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

सरकार जनताको हुन नसकेको जनमुक्तिको आरोप


यलम्वर टाइम्स
७ माघ २०७५, सोमबार १२:२७

शिवसतासी । वर्तमान सरकार जनताको सरकार नभई नेकपाको सरकार मात्र भएको आरोप राष्ट्रिय जनमुक्ति पार्टीले लगाएको छ ।

सोमबार झापा जिल्ला स्तरीय पार्टीको भगिनी संगठन नेपाल विद्यार्थी मोर्चा र युवा मोर्चालाई राजनीतिक प्रशिक्षण दिने क्रममा उद्घाटन गर्दै पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख मोहन धिमालले यस्तो आरोप लगाएका हुन् ।

उपाध्यक्ष धिमालले प्रजातन्त्रमा प्राप्त भएको आदिवासी अधिकार लोकतन्त्रमा कटौति गरेको हुँदा नेपाली जनताको सरकार नभएको बताउँदै दुइ तिहाईको दम्भमा आदिवासी जनजाति अल्पसंख्यक र मधेसीको नैसर्गिक अधिकारमाथि बन्देज लगाएको बताएको छ ।

लोकतन्त्रमा सबै नेपाली जनताको उत्तिकै मौलिक अधिकार हुनुपर्ने हो, स्थानीयदेखि संघीय सरकारसम्मले नैसर्गिक अधिकार कटौति गरेर पीडा थपेको बताएका छन् ।

शिवसतासी स्थित माईधारमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षक तथा पार्टी केन्द्रीय सचिव बलदीप राईले जातीय मुक्ति र वर्गिय मुक्ति, एकल जातिवाद संविधानका विषयमा प्रकाश पार्दै एकल जातीयवादको हैकमले जनताको अधिकार खुम्चिदै गएको बताए ।

कार्यक्रममा अर्का अतिथि खम्बूवान मुक्ति मोर्चाका इन्चार्ज गोकर्ण राईले संघीयता त आयो पहिचान बिनाको संघीयता आएको हुँदा नेपाली जनता यस्तो संघीयतामा विश्वास गर्न नसक्ने बताए । राईले अगाडि भने, पहिचानलाई स्थापित गर्न नसके लोकतन्त्रको कुनै अर्थ नहुने हुँदा जनमुक्ति पार्टी पहिचानको पक्षमा जस्तो सुकै मूल्य चुकाउन पछि नपर्ने बताए ।

तीन दिनसम्म चल्ने प्रशिक्षणमा अर्का सहजकर्ता कृष्णकुमार थेवेले एक जातीय रैथानेहरुबाट अधिकार प्राप्त हुन नसक्ने हुँदा संघर्ष र एकताभन्दा अर्को विकल्प नरहेको जानकारी दिए ।

पार्टी जिल्ला अध्यक्ष पर्शुराम मगरको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सचिव पदम जवेगु, केन्द्रीय सदस्य राज खम्बू, पूर्व झापा उपाध्यक्ष भरतसिंह राई, झापा जिल्ला इन्चार्ज भवानी सेलिङ, संघीय सभा सदस्य कृष्णध्वोज लिङ्देन लगायतको आतिथ्य रहेको थियो ।

जिल्ला सदस्य मैना बराइलीले स्वागत गरेको कार्यक्रममा सञ्चालन भने सांस्कृति विभागका अध्यक्ष कैलाश थापाले गरेका थिए ।

प्रशिक्षणमा ८० भन्दा बढीका सहभागिता रहेको थियो । राजनीतिक प्रशिक्षण मात्र नभई जीवन उपयोगी, नेतृत्व तथा सञ्चारमा पहुँचका विषयमा प्रशिक्षण चल्ने पार्टी जिल्ला सचिव पदम लिम्बूले जानकारी दिए ।