बिर्तामोड अन्तर्राष्ट्रिय महोत्सव अन्तिम तयारीमा « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

बिर्तामोड अन्तर्राष्ट्रिय महोत्सव अन्तिम तयारीमा


यलम्वर टाइम्स
१० माघ २०७५, बिहीबार ०५:४७

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको ९५ प्रतिशत तयारी पूरा भएको छ । आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी गराएको हो । महोत्सव ११ देखि २३ माघसम्म सञ्चालन हुँदैछ ।

महोत्सवको आकर्षणका रुपमा माउन्टेन एयरको हेलिकप्टर ल्याइने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । हेलिकप्टरमार्फत पुष्पवृष्टी गराउँदै महोत्सव उद्घाटन गर्ने आयोजक समितिको तयारी रहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

तीनवटा प्याकेजका रुपमा हेलिकप्टर सञ्चालन गरिने बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्कीले बताए ।

हेलिकप्टर मार्फत ५ मिनेटको प्याकेजमा बिर्तामोड अवलोकन गर्न सकिने छ । जसमा विद्यार्थीहरुको सहभागिताको अपेक्षा गरिएको छ । १० देखि १२ मिनेटको प्याकेजमा झापाभित्रै ३६ किलोमिटर उडान गराइनेछ ।

आयोजक समितिले बिर्तामोडदेखि ताप्लेजुङस्थित पाथीभरादवीको मन्दिरसम्मका लागि तेस्रो प्याकेज पनि बनाएको छ । एक पटकमा ६ जना चढ्न मिल्ने हेलिकप्टर आउने बताइएको छ । हेलिकप्टर महोत्सव अवधिभर रहनेछ ।

यहाँको व्यापारलाई अन्तर्राष्ट्रियकरण गर्न महोत्सव कोशेढुंगा सावित हुने आयोजक समितिको विश्वास छ । महोत्सवमा २ लाख भन्दा बढी मानिस सहभागी भइ अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सव आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

‘महोत्सव उद्योगी व्यवसायीको मात्र नभएर समग्र झापाली नागरिकको गौरव बन्ने हामीले विश्वास लिएका छौं’ शिवाकोटीले भने ।

आन्तरिक राजस्व कार्यालयमा महोत्सवको नामबाट भ्याट दर्ता गरेर काम अगाडि बढाइएको महोत्सव आयोजक समितिका सचिब सञ्जिब घिमिरेले बताए ।

उनका अनुसार नेपाल विद्युत प्राधिकरणसँग विद्युत क्षमता वृद्धिका आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । महोत्सवको प्रमुख अतिथि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई रहने बताइएको छ ।

महोत्सव अवधिमा विभिन्न संघसंस्थाको सहयोगमा आँखा शिविर, दन्त शिविर, छाला रोगसम्बन्धी शिविर, प्राथमिक उपचार सेवा, एम्बुलेन्स सेवा, रक्तदान कार्यक्रमलगायत स्वास्थ्यसम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गर्न उपसमिति गठन गरिएको छ ।

मेला व्यवस्थापन सम्झौता काठमाडौँस्थित विविध एक्सपो कम्पनीसँग भएको वाणिज्य संघ बिर्तामोडका उपाध्यक्ष नारायण चिमरियाले बताएका छन ।

उनका अनुसार बाल उद्यान निमार्ण सम्झौता राजधानी एमुज्मेन्ट राइडसँग गरिएको छ । महोत्सवका लागि २ सय १० वटा स्टल बुकिङ भएको उपाध्यक्ष पार्वता खरेल विमलीले बताइन् । महोत्सवका दिन स्थानीय संघसस्थाका व्यानरसहित प्रभातफेरि कार्यक्रम गर्ने तयारी गरिएको छ ।

महोत्सव आयोजक समितिका अनुसार नेपाल लगायत छिमेकी देशका लगानीकर्ता, उत्पादक तथा वितरक र निर्यातकर्तालाई एउटै मञ्चमा भेला गराउने उद्देश्यका साथ बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो ।

मेलामा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता रहनेछ । मेलामा ख्यातिप्राप्त कलाकारले आफ्नो प्रस्तुति देखाउनेछन् । जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर प्रोजक्टसम्मका उत्पादन मेलामा पाइने छ । १ करोड ५ लाख रुपैयाँको लागतमा मेला सम्पन्न हुने अपेक्षा छ ।

महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहने जनाइएको छ ।

प्रदर्शनी कक्षमा अलग–अलग परिसर बनाएर अटोमोवाइल्स, बैंक तथा वित्तीय संस्था, मोवाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारी पोशाक तथा जुत्ता चप्पल प्रदर्शनमा रहनेछन् ।

महोत्सवमा मुलुकका चर्चित कलाकारहरु तथा विभिन्न व्याण्डको दैनिक सांगीतिक प्रस्तुति रहनेछ । महोत्सव सफल बनाउन मूल समिति तथा विभिन्न १० वटा उपसमिति बनाइएको छ । महोत्सव स्थलमा सीसी टिभीबाट २४ घण्टा सुरक्षाको व्यवस्था मिलाइएको संघले जनाएको छ ।

पत्रकार सम्मेलनमा बिर्तामोड खानेपानी संस्थाका अध्यक्ष जलकुमार गुरुङ र राष्ट्यि वाणिज्य सघंका केन्द्यि सदस्य भिष्म खरेलले विर्तामोड महोत्षव झापालीले गौरव गर्न लायक वन्नु पर्नेमा जोड दिएका थिए ।