उत्साहका साथ महोत्सव उद्घाटन « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

उत्साहका साथ महोत्सव उद्घाटन


यलम्वर टाइम्स
१२ माघ २०७५, शनिबार ०९:२८

बिर्तामोड । उत्साहका साथ बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन एक नम्बर प्रदेशका मख्यमन्त्री शेरधन राईले गरे ।

मुख्यमन्त्री राईले शान्तिका प्रतिक परेवा उडाएर महोत्सव उद्घाटन गरिरहँदा हेलिकप्टरबाट पुष्पवृष्टी समेत गरिएको थियो ।

उद्घाटनअघि आदिबासी जनजातिहरुको झाँकीसहितको प्रभातफेरि ¥याली निकालिएको थियो । झाँकीको उत्साहजनक उपस्थितिले महोत्सवलाई रौनकता प्रदान गरेको थियो । महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवको औचित्यमाथि प्रकाश पार्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले उद्योग वाणिज्य संघको परिकल्पना र लोगोमा सञ्चालन गरिए पनि महोत्सव सबैको साझा भएको बताए ।

‘यहाँको व्यवसायिक, धार्मिक, पर्यटकीयलगायत समग्र क्षेत्रलाई मध्यनजर गरेर बिर्तामोडको मात्र नभइ झापाकै उन्नती र प्रगतीका लागि महोत्सव आयोजना गरिएको हो,’ अध्यक्ष भट्टराईले भने, ‘बिर्तामोडमा बढीभन्दा बढी नयाँ उत्पादन भित्र्याउनका लागि हामीले महोत्सव आयोजना गर्ने जमर्को ग¥यौँ ।’

महोत्सव उद्घाटन समारोहका अवसरमा चन्द्रगढी विमानस्थलका प्रमुख पूर्णप्रसाद चुडाललाई सम्मान गरिएको थियो ।

खेलकुदका अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्ने बिर्तामोडका राम दाहाल तथा अर्जुनधाराका दिपेन धिमाल र यांकिला राईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमख अतिथि मुख्यमन्त्री राईले यो महोत्सव उद्योग व्यवसायको विकासमा कोशेढुंगा सावित हुने बताए । पूर्वको व्यापार, व्यवसाय, उद्योग, कृषि र पर्यटनमा महोत्सवले सकारात्मक प्रभाव पर्ने मुख्यमन्त्री राईको भनाइ थियो ।

कार्यक्रमका विशिष्ठ अथिति दक्षिण एशिया उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डीराज ढकालले व्यवसायिक दृष्टीले बिर्तामोडमा चहलपहल बढेको भन्दै आगामी दिनमा औद्योगिक सहरका रुपमा अघि बढाउनुपर्ने बताए ।

प्रदेशका कानूनमन्त्री हिक्मत कार्कीले बिर्तामोडलाई उद्योगिक नगरका रुपमा विकास गर्न प्रदेश सरकारले विषेश लगानी गर्ने बताए ।

उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय पवित्रा निरौला खरेल र धर्मशीला चापागाईं, संविधानसभा सदस्य शुधीरकुमार शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डे, बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, नेकपा झापाका नेता चिन्तन पाठक, कांग्रेस झापाका उपसभापति राम कट्टेल लगायतले बोलेका थिए ।

महोत्सव आयोजक समितिका संयोजक प्रकाश शिवाकोटीले समापन मन्तव्य राखेको समारोहमा उपाध्यक्ष राजु न्यौपानेले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

महोत्सवको आकर्षणका रुपमा माउन्टेन एयरको हेलिकप्टर ल्याइएको छ । तीनवटा प्याकेजका रुपमा महोत्सव अवधिभर हेलिकप्टर सञ्चालन गरिने बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण चिमरियाले जानकारी दिए ।

यहाँको व्यापारलाई अन्तर्राष्ट्रियकरण गर्न महोत्सव कोशेढुंगा सावित हुने आयोजक समितिको विश्वास छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता छ । महोत्सवमा ख्यातिप्राप्त कलाकारले आफ्नो प्रस्तुति देखाउने आयोजक समितिका सचिब सञ्जिव घिमिरेले बताए ।

महोत्सवमा विभिन्न जातजातिको स्टल समेत राखिएको छ भने महोत्सवभरि सांगीतिक कार्यक्रम रहने उल्लेख छ ।