पाथीभराको सिक्का व्यवस्थापन गरिँदै « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

पाथीभराको सिक्का व्यवस्थापन गरिँदै


यलम्वर टाइम्स
१२ माघ २०७५, शनिबार १०:५७

[प्रयास लिम्बू]

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सङ्कलन भएको सिक्का रकमको व्यवस्थापन गर्न थालिएको छ । पाथीभराको दर्शन गर्ने भक्तजनले भेटीको रुपमा चढाएको करिव असी क्विन्टल (आठ हजार केजी) बढी सिक्का रकम व्यवस्थापन गर्न लागिएको हो ।

पाथीभरा भेटीपाती व्यवस्थापन समितिले एनएमवी बैङ्क र सेन्चुरी बैङ्क लिमिटेड ताप्लेजुङ शाखासँग सिक्का सटही गर्ने सम्झौता गरेसँगै सिक्का व्यवस्थापनको प्रक्रिया अघि बढेको हो ।

जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख समेत रहनुभएका पाथीभरा भेटीपाती व्यवस्थापन समिति संयोजक घनेन्द्र मादेनका अनुसार पाथीभरामा भक्तजनले चढाएको एक वर्षयताको सिक्का रकम व्यवस्थापन गर्न लागिएको हो ।

पाथीभरा देवीको दर्शनमा आउने भक्तजनले चढाएको भेटी मुद्रा नोट तथा सुन चाँदीजन्य धातुको व्यवस्थापन गर्न सहज भए पनि सिक्का मुद्रा बैङ्कहरुले लिन नमाने गरेकाले व्यवस्थापनमा समस्या रहँदै आएको थियो ।

पछिल्लो समय पाथीभरा भेटीपाती व्यवस्थापन समितिको आग्रहअनुसार एनएमवी र सेन्चुरी बैङ्क सिक्का मुद्रा लिन सहमत भएपछि अब भने सिक्का मुद्रा व्यवस्थापनमा सहज हुने भएको संयोजक मादेनले बताए । मादेनका अनुसार पाथीभरामा सङ्कलन हुने सबै सिक्काहरु उक्त बैङ्कहरुले लिने गरी सम्झौता पनि भएको छ ।

सिक्काको व्यवस्थापन हुने भएसँगै हाल एक वर्ष अघिदेखि पाथीभरामा जम्मा भएको सिक्का रकम मन्दिरदेखि सदरमुकाम फुङ्लिङमा ल्याएर सफाई गर्ने र मुद्रा छुट्याउने कार्य धमाधम भइरहेको छ ।

समितिका अनुसार सिक्का मन्दिरदेखि काफ्ले पाटीसम्म मजदुरलाई बोकाएर र काफ्लेपाटीदेखि ट्याक्टरमार्फत फुङ्लिङ बजारमा ल्याएर तीन साता अघिदेखि सफाई लगायतको कार्य गरिँदै आएको छ ।

हाल पाथीभरा भेटीपाती व्यवस्थापन समिति, पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका कर्मचारीसहित नौ जनाको सङ्ख्याले सिक्का छुट्याउने र सरसफाई गर्ने कार्य गर्दै आएका छन् ।

सिक्का एक, दुई, पाँच र दशको साथै नेपाल बाहेक अन्य विदेशी मुद्रा समेत भएकाले सो प्रकार छुट्याउन तथा सफाई गर्नलाई अझै धेरै समय लाग्ने समिति संयोजक मादेनले बताए ।

सिक्काको प्रकार छुट्याई धोइपखाली गरी सफाई गरिसकेपछि मात्र गणना गरिने उहाँले जानकारी दिए । उनले सिक्काको प्रकार छुट्याउन र सफाई गर्ने कार्य निक्कै झन्झटिलो भए पनि गणना गर्ने कार्य भने सिक्काको प्रकार छुट्याएर तौल गरेपछि तौलको परिमाणअनुसार गणना गर्नलाई सहज हुने बताए ।

यता एक वर्षसम्मको सिक्का एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही झन्झटिलो भएको भए पनि अब बैङ्कले सिक्का लिने भएपछि आगामी दिनमा भने व्यवस्थापनमा सहज हुने मादेनले विश्वास लिएका छन् ।

उनले पाथीभरामा सङ्कलन हुने सबैखाले भेटी मुद्रा तथा धातुहरु समय–समयमा व्यवस्थापन गर्ने योजना समितिले बनाएको पनि जानकारी दिए । उनका अनुसार यसअघि पाथीभरा दर्शनको मुख्य सिजन दशैं तिहारसहित गएको साउनदेखि मङ्सिर १५ गतेसम्मको समयमा सङ्कलन भएको कुल ५३ लाख १७ हजार १५० रुपियाँ नोट मुद्रा बैङ्कमा जम्मा गरिएको थियो ।

त्यसपछि पनि सङ्कलन भएको नोट मुद्रा व्यवस्थापन गरी बैङ्क खातामा जम्मा गरिँदै आएको जिल्ला समन्वय समितिका सहलेखापाल भोलानाथ सिग्देलले जानकारी दिए ।

यस्तै सो समयमा भक्तजनले चढाएको सुन साढे १९ तोला सुन र चार केजी चाँदीको पनि चाँडै व्यस्थापन गर्ने तयारी रहेको समिति संयोजक मादेनले जानकारी दिए ।

उनले सुन र चाँदी व्यवस्थापनका लागि समितिको तत्काल बैठक बसेर बजार मूल्यअनुसार बिक्री गरी नगदमा परिणत गरिने बताए । केही विदेशी मुद्रा तथा डलर पनि भएकाले सोलाई समेत सटही गरी व्यवस्थापन गरिने उनको भनाइ छ ।

भेटीपाती व्यवस्थापन समितिले पाथीभरामा सङ्कलित हुने रकम व्यवस्थापन गर्न थालेयता अर्थात २०७२ फागुन २२ देखि हालसम्ममा एक करोड ७३ लाख रुपैयाँ बढी भेटी बापतको रकम समितिको खातामा जम्मा भएको बताइएको छ ।