अर्जुनधारा नगरपालिकाको ४ सय ९२ योजना मध्ये ५९ वटा सम्पन्न « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

अर्जुनधारा नगरपालिकाको ४ सय ९२ योजना मध्ये ५९ वटा सम्पन्न


यलम्वर टाइम्स
२० माघ २०७५, आईतवार ०५:५४

सिस्ने । अर्जुनधारा नगरपालिकाले तर्जुमा गरेका ४ सय ९२ योजना मध्ये ५९ वटा सम्पन्न भईसकेको बताएका छन् । अर्जुनधारा वडा नम्बर १ मा रहेको हलुवागढ कालीखोला सिमसार क्षेत्रमा नगरपालिकाको मुख्य उपलब्धिहरु सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले यस्तो जानकारी दिएका हुन् ।

कुल ६० करोड ८१ लाख ७ हजार ३ सय ७१ बजेट विकासका लागि विनियोजन भएकोमा अहिलेसम्म १९ करोड ५२ लाख ५ हजार रुपैयाँ खर्च भइसकेको पनि उनले जनाकारी दिए ।

अधिकृत भुर्तेलका अनुसार ५५ वटा नगरस्तरीय योजना छन् भने ४ सय ३७ वटा वडास्तरीय योजना रहेका छन् । जस अन्तर्गत २ सय ८ वटाको सम्झौंता भई निर्माण काम भइरहेको छ ।

भुर्तेलले अगाडि भने, ‘ऐन नियम कार्यविधिहरु धमाधम निर्माण भइरहेको छ, जसमध्ये १६ वटा निर्माण भई स्वीकृत भइसकेको छ ।’

नगरका सबै सडकहरुको राइट अफ वे निर्धारण गरिएकाले शहरी विकास मन्त्रालयसँगको सहकार्यमा नगरपालिकाको एकीकृत शहरी विकास योजना तयार भई अन्तिम चरणमा पुगेको उनले दाबी गरेका छन् ।

भूर्तेलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार शनिश्चरे बजारलाई केन्द्र मानेर बाहिरी तथा भित्री चक्रपथको अवधारणा अनुरुप कार्य प्रारम्भ गरिएको छ ।

यस्तै, न्यायिक समितिमा ८२ वटा मुद्दा किनारा लागेको छ भने शैक्षिक घोषणापत्र २०७५ अनुसार शिक्षा विकासका नीतिहरु अघि बढेको उल्लेख गरिएको छ ।

वडा नम्बर २ लाई पशु पकेट, वडा नम्बर ८ लाई कृषि पकेट गरी प्रवद्र्धनात्मक कार्यहरु सुरु गरिएको र पशुपंक्षी विकासका लागि आवश्यक तथ्याङ्क संकलनको कार्य सम्पन्न भइसकेको जनाइएको छ ।

कृषि क्षेत्रलाई मानव स्वास्थ्य प्रतिकृल विषादीरहित बनाउन विभिन्न प्रबद्धनात्मक कार्यहरु सञ्चालन गरी जैविक मल बनाउने तालिम सहित आवश्यक सामाग्रीहरु वितरण गरिसकेको पनि नगरले जनाएको छ ।

एक सय ५ जना ज्येष्ठ नागरिकहरुलाई विभिन्न रोगहरुको विषयमा सचेतना गोष्ठी सञ्चालन गरिएको र ३३ ज्येष्ठ नागरिक र ३ सय ५० लाई गरीब लक्षित कमल वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, अपाङता परिचयपत्र वितरणका लागि कार्यविधि स्वीकृत भइसकेको बताइएको छ । अर्जुनधारा नगरमा अहिलेसम्म ७ सय ९५ जना महिला र ९ सय ९७ जना पुरुषलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिसकेका प्रतिवेदनमा उल्लेख गरिएको छ ।

४२ महिलालाई ३ महिने सिलाई कटाई तालिम, धुम्रपान, मद्यपान तथा ड्रक्सको कार्यक्रम विद्यालय र वडास्तरहरुमा प्रबद्धनात्मक कार्यहरु सञ्चालन सम्पन्न भई समुदाय प्रहरी गठन गरिएको अधिकृत भुर्तेलले जानकारी दिए ।

नगरपालिकालाई सूचना प्रविधिमैत्री बनाउँदै मोबाइल एप्स सञ्चालनसँगै मालपोत संकलन अनलाइन गरिएको र क्रमशः बिलिङ्गलाई प्रविधिमैत्री गरिने लक्ष्य रहेको उनले बताए ।

त्यसमा नगरपालिका र वडाकार्यालयहरु बिचको सूचना आदानप्रदान पेपर आधार विधि क्रमिक बन्द गर्दै इमेल मार्फत सूचना आदान प्रदानको कार्य अगाडि बढाईको नगरपालिकाको भनाई छ ।

वडा नम्बर ३, ७ र ८ आफ्नै भवनबाट सञ्चालित र अन्य वडाहरुका लागि जग्गादाताहरुबाट जग्गा प्राप्त भएको भूर्तेलले बताएका छन् ।

साविक खुदुनाबारी गाविसमा समेत बैंकिङ प्रणालीबाट वितरण गर्न एनआइसी एशिया बैकसँग सम्झौता भइसकेको उनले जानकारी दिए ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी)मा २४ घण्टे सेवा सुरु गरेपछि बिरामीको चाप वृद्धि भएकाले मेडिकलको अभिरुचि राखेर आउने जनताको सेवामा निरन्तर खट्न स्वास्थ्यकर्मी र डाक्टरहरुलाई निर्देशन गरेका छन् ।

जनताको समस्यालाई मध्यनजर गरी सेवा चुस्त, छिट्टै र सहज बनाउन सम्बन्धित विषय विज्ञ डाक्टर राखेँर अगाडि बढ्ने योजना रहेको हुनाले नगरले लिएको नीतिमा सबैको साथ सहयोगको हुनुपर्ने बताए ।

कार्यपालिकामा लिपीबद्ध भएको प्रतिवेदन काम गर्दै जाने क्रममा सजिलो अप्ठयारो भएमा नीति बिधि बनाएर अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

अर्जुनधारा शैक्षिक घोषणापत्र २०७५ जारी भए अनुसार शिक्षाका नीतिहरु अघि बढेको बताउँदै त्यसलाई कार्यान्वयन गरेर लैजान सबै तह–तप्काबाट सहयोगको अपेक्षा गरे ।

पूर्वाधार कामका लागि जिल्ला दररेट चैत्र मसान्तसम्म कार्य सम्पादन गर्ने उनले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेश सांसद बृख प्रधानले नगर लिएको योजनालाई प्रशंसा गर्दै जनप्रतिनिधि, सरोकारवाला, सम्बन्धित पक्ष, प्राविधिक र आम नागरिकले सहभागितामूलक ढङ्गले अगाडि बढेमा कार्यान्वयनमा कुनै समस्या नहुने बताए ।