एकैदिनमा १२ हजारले महोत्सवको अवलोक गरे « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

एकैदिनमा १२ हजारले महोत्सवको अवलोक गरे


यलम्वर टाइम्स
२० माघ २०७५, आईतवार ०६:५६

बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको नवौँ दिन शनिबार १२ हजार जनाले टिकट काटेर अवलोकन गरेका छन् ।

महोत्सव आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालका अनुसार एकैदिन १२ हजार जनाले महोत्सव अवलोकन गरेको यो पहिलो पटक हो ।

यसअघि औषतमा हरेक दिन ६ हजार जनाले महोत्सव अवलोकन गर्दै आएका थिए । महोत्सव सकिन केही दिन मात्र बाँकी छँदा टाढाटाढादेखिका सर्वसाधारण आउने क्रम बढेको छ ।

पूर्वका विभिन्न जिल्ला मात्र नभएर भारतीय सर्वसाधारणसमेत महोत्सव अवलोकन गर्न आइरहेका छन् । हालसम्म टिकट काटेर मात्र ६० हजारभन्दा बढीले महोत्सव अवलोकन गरिसकेको महोत्सव आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए ।

टिकट काटेका र नकाटेका समेत गर्दा समग्रमा एक लाखभन्दा बढीले महोत्सव अवलोकन गरिसकेको अध्यक्ष भट्टराईको भनाइ छ ।

‘यो महोत्सव समग्र क्षेत्रको साझा भएकाले सबैको एउटै दृष्टिकोण भएर उल्लेख्य सहभागिता जुटेको हो,’ अध्यक्ष भट्टराईले भने, ‘शनिबार बिदाका दिन विद्यार्थीको पनि उपस्थिति रह्यो, मौसमले उस्तै साथ दियो, एक–अर्कामा भेटघाट र खुशी साटासाट गर्ने स्थल बन्यो महोत्सव ।’

शनिबार दिनभर टिकट काउण्टरमा सर्वसाधारणको भीड थियो । उनीहरु लाइन लागेर महोत्सवस्थल प्रवेश गरेका थिए ।

महोत्सवमा सांगीतिक कार्यक्रममा झुम्न आउनेहरुको छुट्टै जमात छ । हरेक साँझ ३ हजारभन्दा बढी दर्शक सांगीतिक कार्यक्रमकै लागि आउने गरेका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारले साँझमा प्रस्तति दिइरहेका छन् ।

हालसम्म सविन राई, राजन शिवाकोटी, प्रेम आङ्देम्बे र मेलिना राई, राजेश पायल राई, ताराप्रकाश लिम्बू, निलम ढुंगाना, प्रमोद खरेल, राज सिग्देल, हर्कुलस बस्नेत, अञ्जु गौतम, आस्था राउत, शैलेन्द्र सिंखडा लगायत कलाकारले स्टेज तताइसकेको महोत्सवका साँस्कृतिक समिति संयोजक श्याम खड्गीले जानकारी दिए ।

उनका अनुसार आइतबार साँझ चर्चित गायिका टिका प्रसाईंको विशेष प्रस्तुति रहनेछ । महोत्सवभरमा जुनु प्रसाईं, एड्रिन प्रधान, चन्दा देवान, यदय र मनिला सोताङको पनि प्रस्तुति रहने बताइएको छ ।

२ सय १० वटा स्टल रहेको महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता छ । महोत्सवको प्रदर्शनी कक्षमा अलग–अलग परिसर बनाएर अटोमोवाइल्स, बैंक तथा वित्तीय संस्था, मोवाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारी पोशाक तथा जुत्ता चप्पल प्रदर्शनमा राखिएको छ ।

शनिवार पनि यमाहा कम्पनिको विक्रेता सयपत्री ट्रेड लिङ्कले एफ जेट मोटरसाइकल महोत्षवको स्टल वाटै विक्री गरेको छ ।

महोत्सवस्थलमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत सञ्चालन भइरहेको छ । लायन्स क्लब अफ बिर्तामोडको आयोजना तथा रेडक्रस बिर्तामोडको प्राविधिक सहयोगमा भइरहेको रक्तदान कार्यक्रममा रगत दान गर्नेको संख्या उल्लेख्य रहेको महोत्सव स्वास्थ्य उपसमिति संयोजक गौरीशंकर गुप्ताले जानकारी दिए ।

महोत्सव २३ माघसम्म सञ्चालन हुने महोत्सव आयोजक समितिका सचिब सञ्जिब घिमिरेले बताए ।