आजबाट महोत्सव समापन हुने « Yalambar Times
८ बैशाख २०८१, शनिबार

आजबाट महोत्सव समापन हुने


यलम्वर टाइम्स
२३ माघ २०७५, बुधबार ०७:५१

मार्सी चामल किन्नेको संख्या अत्याधिक

बिर्तामोड । झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा जुम्लाको मार्सी चामल किन्न आउनेको संख्या उल्लेख्य पाइएको छ ।

महोत्सवमा अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांश सर्वसाधारण मार्सी चामलको स्टल खोज्दै पुग्ने गरेका छन् ।

महोत्सव स्थलमा जुम्ला बजारबाट ल्याइएको मार्सी चामलको स्टल राखिएको छ । स्टलमा बसेकी शान्ति न्यौपानेका अनुसार राजधानीस्थित हिमाली प्रोडक्ट टे«डिङ सेन्टरले मार्सी चामल भण्डारण गरी देशैभर सप्लाइ गरिरहेको छ ।

हाल देशैभर मार्सी चामलको माग उच्च रहेकाले हरेक ठाउँमा लाग्ने महोत्सवमा यसको स्टल राख्ने गरिएको स्टलकी गंगादेवी राउतले जानकारी दिइन् ।

बिर्तामोड महोत्सवबाट मात्र ९ क्वीन्टल मार्सी चामल बिक्री भएको छ । स्टलबाट २ लाख ५२ हजार रुपैयाँको मार्सी चालम बिक्री भएको न्यौपानेको भनाइ छ ।

‘पहिले मार्सी चामल चिन्नेहरुले मात्र किन्थे, अहिले झापाका दुर्गा प्रसाईंले यसलाई ब्राण्ड नै बनाइदिनुभयो,’ उनले भनिन्, ‘उहाँले केपी ओली र प्र्रचण्डलाई मार्सी चामलको भात खुवाएपछि बिक्री बढेको हो ।’ दुर्गा प्रसाईंलाई भेट्न र सम्मान गर्न मन लागेको स्टलका राउत र न्यौपानेले बताए ।

बिर्तामोड महोत्सवबाट आफूहरु सन्तुष्ट रहेको उनीहरुले प्रतिक्रिया दिए । स्टलबाट दिनमा ५० देखि ६० जनासम्मले मार्सी चामल किनेर लैजाने गरेको बताइएको छ । एकजनाले ३० केजीसम्म खरिद गरेको राउतले बताइन् ।

‘प्रधानमन्त्रीलाई खुवाएको चामल कहाँ पाइन्छ भन्दै सोध्न आउँछन्,’ उनले सुनाइन् । मार्सी चामल मिलमा नकुटेर ढिकीमा कुटेका कारण पौष्टिक तत्व बढी पाइने बताइएको छ ।

महोत्सवको आज अन्तिम दिन

११ माघबाट जारी बिर्तामोड महोत्सव आज (बुधबार) समापन हुँदैछ । एक भव्य कार्यक्रमको आयोजना गरी महोत्सव समापन गर्ने आयोजक बिर्तामोड उद्योग वाणिज्य संघको तयारी छ ।

महोत्सवले बिर्तामोडको परिचयलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा जोड्न निकै बल पु¥याएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए ।

महोत्सवभर २२ करोडको कारोबार अनुमान गरिएको उनको भनाइ छ । महोत्सवभर माया र हौसला प्रदान गर्नेहरुलाई प्रशंसापत्र प्रदान गरिने उनले जानकारी दिए ।

व्यवसायिक तथा सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्था र आदिवासी जनजातीलाई समेत सम्मान गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष भट्टराईको भनाइ छ ।

महोत्सवबाट पूर्वको प्रमुख व्यापारिक सहर बिर्तामोडलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने आफूहरुको लक्ष्य पूरा भएको महोत्सव आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

घरेलु उत्पादनका उपभोग्य सामाग्रीदेखि भारत, बंगलादेश र पाकिस्तानका स्तरीय उत्पादनहरु एउटै छातामुनि पाइएकाले आन्तरिक तथा बाह्य पर्यटनका लागि पनि यो महोत्सव एउटा आधारका रुपमा प्रस्तुत भएको उनले बताए ।

महोत्सव आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालका अनुसार मंगलबार साँझसम्ममा ७५ हजारभन्दा बढीले टिकट काटेर महोत्सवको अवलोकन गरेका छन् । विगतका महोत्सवहरुको तुलनामा बिर्तामोड महोत्सव स्तरीय बनेको उनले बताए ।

महोत्सव समापनका दिन बुधबार साँझ लाहुरेको विशेष सांगीतिक प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक श्याम खड्गीले जानकारी दिए ।