वीरता जेसीजले सुरु गर्यो पूर्वाञ्चल मास्टर स्नोकर च्याम्पियनसिप प्रतियोगिता « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

वीरता जेसीजले सुरु गर्यो पूर्वाञ्चल मास्टर स्नोकर च्याम्पियनसिप प्रतियोगिता


यलम्वर टाइम्स
२५ माघ २०७५, शुक्रबार ०८:३७

बिर्तामोड । दुव्र्यवसनी न्यूनिकरणको आधार के होला ? हामी सबैले एउटै उत्तर दिन्छौं, ‘शिक्षा र सचेतना ।’ तर, यो सँगसँगै खेलको पनि उत्तिकै महत्व छ भन्दा फरक नपर्ला ।

खेलले मानिसलाई रचनात्मक र क्रियाशिल बनाउछ भन्ने मान्यतालाई शीरोधार्य गर्दै वीरता जेसीजले शुक्रबारबाट पूर्वाञ्चल मास्टर स्नोकर च्याम्पियनसिप प्रतियोगिता सुरु गरेको छ ।

वर्तमान समयमा हिंसा बढिरहेको हुँदा खेलको माध्यमबाट पनि निराकरण गर्न सकिन्छ भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जनाइएको छ ।

खेलले मानिसलाई रचनात्मक र सद् विचार प्रदान गर्ने हुँदा दुव्र्यवसनीतर्फ ध्यान नजाने वीरता जेसीजका अध्यक्ष विशाल थापा बताउँछन् । उनी भन्छन्, ‘खेल सम्पूर्णलाई एकतामा बाँध्ने महत्वपूर्ण सुत्र हो ।’

‘खेलले मानिसलाई प्रतिस्पर्धी त बनाउँछ तर, सँगसँगै एकअर्कामा मित्रता पनि कायम गराउँछ’ अध्यक्ष थापाले भने, ‘जेसीजको मूल मर्म विश्व बन्धुत्व नै हो, त्यसको परिपूर्तिका लागि वीरता जेसीजले एउटा इटा मात्र थपेको हो ।’

कार्यक्रममा आफ्नो विचार प्रस्तुत गर्दै अध्यक्ष थापाले हिजो खेल खेल्दा छोराछोरी बिग्रनी डरले गाली गर्ने समाज आज खेल्न दिनुपर्छ भन्ने अवस्थामा परिवर्तन हुँदै आएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका युवा व्यवसायी आशिष वनले विश्व बन्धुत्वको भावनालाई खेललेमात्र पूरा गर्ने बताए । प्रमुख अतिथि वनले खेलले मित्रवत व्यवहार गर्न सिकाउनुका साथै अनशासित बनाउने बताए ।

कार्यक्रममा युवा राजनीतिज्ञ लभकुश गौतम, युवा व्यवसायी प्रकाश लिङ्देनलगायतले आ–आफ्नो विचार राखेका थिए ।

पूर्वाञ्चलभरिका ७६ खेलाडीले सहभागिता जनाएको उक्त प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको बिजेतालाई ५१ हजार रुपैयाँ सहित मेडल, ट्रफी र उपविजेतालाई २५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिए ।

प्रतियोगितामा हाइएष्ट ब्रेक प्लेयरलाई ८ हजार, र वेष्ट प्लेयरलाई ५, हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

कानूनी सल्लाहकार दिवाकर प्रसाईको संयोजकत्वमा भएको कार्यक्रमको अध्यक्षता अध्यक्ष थापाले गरेका थिए । कार्यक्रममा आस्था वाचन मनोजकुमार शाहले गरेका थिए ।

प्रतियोगिताको आयोजक वीरता जेसीज रहेको छ भने सहआयोजकको रुपमा क्यू एक्सन बिर्तामोड रहेको जनाइएको छ ।

डेमोस्ट्रेशन खेल पूर्व विजेता मेम्वर श्रेष्ठ विरुद्ध अनिल खातीले खेलेका थिए ।