ग्यालेक्सीका धिमाल बने च्याम्पियन « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

ग्यालेक्सीका धिमाल बने च्याम्पियन


यलम्वर टाइम्स
१२ फाल्गुन २०७५, आईतवार ०७:५०

बिर्तामोड । स्थापित ग्यालेक्सी फिटनेससँग आवद्ध कुशल खेलाडी ललित धिमालले दोस्रो नेपाल च्याम्पियन राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि हात पारेका छन् ।

मिहेनती तथा कुशल खेलाडीका रुपमा चिनिने धिमाल यसअघि विभिन्न प्रतियोगितामा सहभागि हुँदै आएका थिए ।

प्रतियोगिता हुँदा निराश नहुने खेललाई निरन्तर प्रदान गर्दै आएका धिमाल हालै धरानको सभागृहमा सम्पन्न फाइलन राउण्डमा चार प्रतिस्पर्धीलाई उछिन्दै १ लाख ५० हजार रुपैयाँसहित ट्रफी चुमेका थिए ।

धिमाल ग्यालेक्सी फिटनेश बिर्तामोडका प्रशिक्षक पनि हुन् । उनीसँग झापाका स्वास्थ्यकर्मी, अन्य खेलाडी, सामाजिक व्यक्तित्वहरु प्रशिक्षण लिन आउने गरेका छन् ।

धिमाल धरानमा सम्पन्न प्रतियोगितामा ७५ केजी तौल समूहबाट विजेता बन्दै ओभरअल राउण्डमा प्रवेश गरेको ग्यालेक्सीका सञ्चालक चन्द्र राना ‘लाफा’ले बताए ।

आयोजक एलाइनेट जिमका मनिष लिम्बू दोस्रो बने । ७० केजी तौल समूहबाट विजेता बन्दै ओभरअल राउण्डमा प्रवेश गरेका लिम्बूले नगद ५० हजार रुपैयाँसहित प्रमाण पत्र पाए ।

उनी हाल हङकङमा बस्दै आएका छन् । हङकङबाटै स्पर्धाका लागि नेपाल आएका थिए । झापाबाटै प्रतिस्पर्धा गरेका सुमन लिम्बू तेस्रो बन्दै नगद ४० हजार रुपैयाँ जिते ।

त्यस्तै विराटनगरका प्रवीण राजवंशी चौथो बन्दै नगद ३० हजार रुपैयाँ जिते भने मोरङ पथरीका अजय मल्लिक पाँचौ बने । उनले नगद २५ हजार रुपैयाँसहित प्रमाण–पत्र जिते ।

उनीहरू क्रमशः ६५ केजी, ५५ केजी र ६० केजी तौल समूहबाट ओभरअल राउण्डमा प्रवेश गरेका थिए ।

व्यक्तिगततर्फ बुटबलबाट सहभागी बनेका विजेन्द्रमान श्रेष्ठ बेष्ट पोजर, बुटबलकै नरेश मालाकार मोष्ट मस्कुलर मेन र बेष्ट इम्प्रुभमेन्टमा मोरङका देवीबहादुर बस्नेत घोषित भए ।

उनीहरूले जनही ५–५ हजार रुपैयाँ प्राप्त गरे । विजेता तथा उपविजेताहरूलाई प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, आयोजक एनाइनेट जिमका अध्यक्ष बिक्रम लिम्बूलगायतले पुरस्कार वितरण गरे ।

गतवर्ष पनि झापाकै रामबहादुर दाहाल पहिलो नेपाल च्याम्पियन बनेको थिए । यसक्रममा अन्तर्रा्ष्ट्रिय प्रशिक्षकसमेत रहेका शिवलाल श्रेष्ठलाई आयोजकले सम्मानित गरेको छ ।

शुक्रबार प्रिजर्जिङ राउण्डबाट फाइलन राउण्डका लागि छनौट भएका थिए । ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी तौल समूहबाट स्पर्धा गरिएको थियो ।

आयोजकले यसपटक प्रशिक्षक प्रशिक्षण तालिम पनि प्रदान गरेको थियो । फागुनको ८ र ९ गते प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको थियो ।