झापा गोल्डकपलाई ८० लाख सहयोग गर्ने व्यापारिक प्रतिष्ठानहरुको प्रतिवद्धता « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

झापा गोल्डकपलाई ८० लाख सहयोग गर्ने व्यापारिक प्रतिष्ठानहरुको प्रतिवद्धता


यलम्वर टाइम्स
१४ फाल्गुन २०७५, मंगलवार ११:३४

बिर्तामोड । मगमग झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको चौथो संस्करणका लागि करिब ८० लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जुटेको छ ।

यही फागुन १८ गतेबाट २७ गतेसम्म सञ्चालन हुने नेपालकै सर्वाधिक दर्शक उपस्थित रहने झापा गोल्डकपमा व्यापारिक प्रतिष्ठानहरुले सहयोगप्रति चासो देखाएका छन् ।

अघिल्ला गोल्डकपमा भन्दा चौथो संस्करणका लागि उनीहरु सहयोग गर्न बढी नै इच्छुक देखिएको झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।

१० टिमको सहभागिता हुने निश्चित भएको झापा गोल्डकपको टाइटल स्पोन्सरमा झापाकै मगमग तयारी चाउचाउ रहने पक्का भइसकेको छ ।

मगमग यो प्रतियोगिताको मुख्य प्रायोजक हो । यो वर्ष गोल्डकपको सहआयोजकमा बिर्तामोड नगरपालिका र जिल्ला खेलकुद विकास समिति झापा रहेका छन् ।

त्यस्तै, गोल्डकपको चौथो संस्करणका लागि झन्डै पाँच दर्जन व्यावसायिक प्रतिष्ठान तथा संघसंस्थाले आर्थिक सहयोगको प्रतिबद्धता जनाएको झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले बताए ।

उनका अनुसार जनता बैंक स्पेशल प्लाटनियम स्पोन्सरका रुपमा रहेको छ । गोल्डकपको उपविजेताको पुरस्कारबापतको रकम भने अन्तर्राष्ट्रिय झापाली समाजले उपलब्ध गराउने आयोजक समितिले जनाएको छ ।

बिर्तामोड नगरपालिका, टुबोर्ग बियर, ओली एन्ड एसोसिएट, मेची आँखा अस्पताल, भगवती सिमेन्ट, बिर्तामोड उद्योग वाणिज्य संघ, यती डिस्टिलरीका उत्पादन ८८४८ भोड्का, ओल्ड दरबारलगायतले स्पोन्सर गरेका छन् ।

त्यस्तै, हिम इलोक्ट्रेनिक्स, कनकाई फाउन्डेसन, स्मार्ट सेल (एएन्डए कम्पनी), बिर्तामोड खानेपानी, जिल्ला खेलकुद विकास समिति, सानो संसार हाउजिङ, पाथिभरा स्टिल इन्डस्ट्रिजले सहयोगको प्रतिबद्धता जनाएका छन् ।

प्रतियोगितालाई विभिन्न सहकारी संस्थाले समेत आर्थिक सहयोग गरेका छन् । जीवन समृद्धि साकोस, हाम्रो नेपाल सकोस, धौलागिरी पारिजात बहुउद्देश्यीय, पृथ्वी साकोस, स्रिमिक साकोस, शिखर साकोस, जनमैत्री साकोस, विराट बहुउद्देश्यीय, कर्णाली, सहारा नेपाल सकोसलगायत सहकारी संस्थाले गोल्डकपमा स्पोन्सर गर्ने भएका छन् ।

त्यस्तै, नेपाल लाइफ इन्स्युरेन्स कम्पनी, मेट लाइफ, मुक्तिनाथ विकास बैंकले पनि प्रतियोगितालाई सहयोग गर्ने भएका छन् ।

त्यस्तै, सयपत्री टे«ड लिड्ढ, सुभम हाउजिङ, बन्धन सिमेन्ट, मेची अटोमोबाइल्स डिलर्स (माडा), परिचय आवास, गल्फ लुब्रिकेन्ट, अशोक लेल्यान्ड, रेनल्ट कारलगायत प्रतिष्ठानले आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन् ।

यसैबीच, गोल्डकपको चौथो संस्करणमा आयोजक समितिले अनलाइन टिकटको व्यवस्था गरेको छ । इसेवासँग सहकार्य गरेर आयोजकले एक सय, दुई सय र तीन सय दरका टिकटको व्यवस्था गरेको अध्यक्ष गिरीले बताए ।

इलेक्ट्रोनिक्स टिकटको व्यवस्था हुने भएपछि अघिल्लो संस्करणमा जस्तो टिकटको नक्कली प्रतिको अवस्था नआउने आयोजकको विश्वास छ । यो वर्ष पार्किङ र प्रवेशद्वारलाई पनि अझ व्यवस्थित बनाइने गोल्डकप आयोजक समितिले जनाएको छ ।

मगमग झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने आयोजकका महासचिव गजेन्द्र पौडेलले जानकारी दिए ।