नेपाल–भारत स्तरीय छलफलमा देशको हितमा खुलेर कुरा राख्न प्रधानमन्त्री ओलीको निर्देशन « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

नेपाल–भारत स्तरीय छलफलमा देशको हितमा खुलेर कुरा राख्न प्रधानमन्त्री ओलीको निर्देशन


यलम्वर टाइम्स
१४ फाल्गुन २०७५, मंगलवार १२:०१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा छलफल गर्न निर्देशन दिएका छन् ।

भोलीदेखि काठमाडौंमा सुरु हुने नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताका हुन् ।

जल तथा उर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन आज सिंहदरबारमा बैठक आयोजना गरेको थियो ।

सो बैठकमा नेपाल–भारत स्तरीय छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यस अनुसारको तयारी गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले २३ बर्ष अघि महाकाली सन्धी अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनु पर्ने १० घनमिटर प्रति सेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएकोले यस बिषयलाई गम्भिरताका साथ उठाउनु पर्ने बताएका छन् ।

‘हाम्रो पहिलो प्राथमिकता सन्धीको कार्यन्वयन हो । सन्धी अनुसार नेपालले १० क्यूमेक्स पानी पाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिती अब हुनुहदैन ।’

२०५२ माघ १९ गते भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिचाईंका लागि भारतले १० घनमिटर प्रति सकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यान्वयन गराउने भारतलाई तत्पर गराउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

बैठकमा उर्जा मन्त्री बर्षमान पुन, प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णुप्रसाद रिमाल परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई लागयतको सहभागिता थियो ।