यस्तो घटना सुन्न, देख्न र लेख्न नपरोस् « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

यस्तो घटना सुन्न, देख्न र लेख्न नपरोस्


यलम्वर टाइम्स
१६ फाल्गुन २०७५, बिहीबार ११:०८

नेपाली आकाश सुरक्षित छैन । विभिन्न प्रतिवेदनले देखाउँदै आएको यो एउटा प्रमाण हो । त्यहि आकाशमा नेपालका थुप्रै आशा र भरोसा बोकेका योद्धाहरु अकालमा संसार छाड्नु परेको छ । आकाशे दुर्घटनामा ताप्लेजुङ जिल्ला पेरिफेरिमा मात्र नेपालका होनहार र परिवर्तनका सम्वाहक सपुतहरु गुम्न पुगेका छन् । ७ वर्षअघि डा. हर्क गुरुङसँगै मन्त्री गोपाल राई लगायतले त्यही आकाशमा संसार छाड्नु पर्यो । विकासको कामसँगै अवलोकन भ्रमणमा निस्किएका वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डायनमन्त्री रविन्द्र अधिकारीसहित योजनाकारहरुले पनि त्यही ताप्लेजुङको आकाशमा बुधबार हवाई दुर्घटनामा परि ज्यान गुमाउनु परेको छ ।

ताप्लेजुङ जिल्लामा यस्ता अकल्पनीय घटना दोहोरिएको हुँदा हवाईजहाजमार्फत अवालेकन गर्न जानु अब सोच्नै पर्ने अवस्था सृजना भएको देखिन्छ । चन्द्रबहादुर पालुङ्वादेखि डा. हर्क गुरुङ हुँदै आज मन्त्री अधिकारी समेत हवाई दुर्घटना भएर बित्नु यो आफैमा ससंकित र आतंकित पार्ने मन पनि भएको छ । तेह्रथुम जिल्लाको चुहानडाँडामा विमानस्थल निर्माणको अवलोकन गरि माता पाथीभराको दर्शनपछि घर आइपुग्ने कवोल गरेका मन्त्री अधिकारी पाथीभरा माताको फेदमा अवस्थित तारेभिरमा हवाईजहाज ठोकिन पुग्दा मन्त्रीलगायत ७ जनाले ज्यान गुमाउनुपरेको छ । दुर्घटनामा परेर क्षतविक्षत भएका लासका पोका विहीबार दिउँसो काठमाण्डौ पुर्याइएको थियो । क्षतविक्षत भएको लास को–कसको हो ? ठम्याउन मुस्किल परेको थियो ।

यति कठिन र यस्तो अवस्थामा राज्यले होनहार व्यक्ति गुमाउनु आफैमा नोक्सान त छ नै कतिपय ठाउँमा यात्रा गर्न र जबरजस्ती जान दिने कार्यलाई कानून मुताबिक रोक्न पनि जरुरी छ । हवाईजहाजका पाइलट प्रभाकर केसीले जहाज जान नसक्ने संकेत दिँदादिँदै पनि त्यसतर्फ लानु आफैमा खतरा भएको भनाई आइरहेको छ । कतिपय मानिसहरु अकालमा जानुको पछाडि जबरजस्ती र नियम विपरितले पनि हुन जान्छ । आज ताप्लेजुङको तारेभिरमा भएको दुर्घटनाको नियति पनि त्यही हो भन्न सकिन्छ ।

यस्तो अवस्थामा देशलाई चाहिने सुयोग्य नागरिक यसरी बित्नु आफैमा दुःखदायक हुन शिवाय अरु केही हुन सक्दैन । पर्यटन वर्ष घोषणा भई विभिन्न कार्यक्रम अघि बढिरहेको बेला पर्यटन मन्त्री नै यो संसारबाट बिदारक भएर जानु राष्ट्रका लागि दुःख हुन शिवाय अर्को केही हुन सक्दैन । उनीसँगै नागरिक उड्डयन प्राविधिकरण उपमहानिर्देशक बद्रीप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालय उपसचिव युवराज दाहाल, नागरिक उड्डयन प्राविधिकरणका प्राविधिक ध्रुबदास भोचिभोया, यति एयरलायन्सका आङछिरिङ शेर्पा, मन्त्री अंगरक्षक अर्जुन घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली ! अर्पण गर्दै यस्ता दुःखदायी घटना सुन्न, देख्न र लेख्न नपरोस् । अस्तु ।