किरात प्रदेश एकमात्र विकल्प: यायोक्खा « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

किरात प्रदेश एकमात्र विकल्प: यायोक्खा


यलम्वर टाइम्स
१८ फाल्गुन २०७५, शनिबार १०:१७

धरान । इतिहास, भुगोल, संस्कृति र सभ्यताको सम्मान १ नम्वर प्रदेश किरात प्रदेश समग्र देशबासीको आव्हान भन्ने मूल नारासहित किरात राई यायोक्खको १० औं राष्ट्रिय महाधिवेशन धरानमा शुरु भएको छ ।

विभिन्न जिल्लाबाट आएका किरात अभियान्ताहरुले धरान नगरीमा नगर परिक्रममा गर्दै किरात प्रदेशको माग नारामा घन्काएका थिए ।

बालकदेखि वृद्धासम्म यायोक्खाको झण्डा बोक्दै १ नम्वर प्रदेश किरात प्रदेश नामाङ्कन हुनै पर्छ भन्ने नारा बुलन्द गरेका थिए ।

ऐतिहासिक उपस्थिति भएको राईहरुको यो जमघट देख्दा धरानबासीहरुले किरात प्रदेशको नामाङ्कन सही भएको अनुमान गरेका थिए ।

इतिहासमै ९ लाख किरात भनेर विभिन्न शास्त्रमा उल्लेख गरिएको तथ्य हुँदाहुँदै १ नम्वर प्रदेशको नाम किरात प्रदेश राख्दा अनुचित नहुने विश्लेषकहरुको भनाइ छ ।

किरात मुन्धुमीहरुले पनि किरात नाम उल्लेख गरेर जाँदा इतिहासको सम्मान हुने, पहिचानवादी नेपालीहरुको भावना कदर हुने बताइएको छ ।

अधिवेशन उद्घाटन गर्नु अघि किरात राई यायोक्खा जिल्ला कार्यसमिति धरानको कार्यालय किरात चोकबाट शुरु गरिएको बृहत झाँकीसहितको र्याली धरान नगर परिक्रमा गरि भानुचोकमा टुंगीएको थियो ।

किरात राई समुदायको साझा संस्था यायोक्खा १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई प्रमुख अतिथि रहेका छन् भने विभिन्न जातीय संगठन तथा राजनीतिक दलहरुले किरात राई यायोक्खाले उठाएका कदम जायज भएको भन्दै शुभकामना मन्तव्य राख्दै आएको यलम्वर टाइम्सका सहसम्पादक राजन साम्पाङले धरानबाट जानकारी दिए ।

ठीक १२ बजेबाट सुरु भएको महाधिवेशन १९ र २० गतेसम्म चल्ने छ । महाधिवेशनमा ३२ जिल्ला कार्य समिति, २६ भाषिक संस्था, ८ भातृ संस्थाहरु र १७ देशका शाखाबाट करिब एक हजार प्रतिनिधि पर्यवेक्षक सहभागि हुने महासचिव विवश राईले जानकारी दिए ।

प्रदेश नम्वर १ को नामाकरणका विषयमा अनेकौं नाम जोडेर टिकाटिप्पणी गरेतापनि यस अघि राजनीतिक दलहरुले किरात प्रदेश सान्दर्भीक नाम भएको मन्तव्य राख्दै हिंडेका थिए ।

त्यसैलाई आधारमानी किरात राई यायोक्खाले १ नम्वर प्रदेशको नाम किरात प्रदेश राख्न उचित हुने भन्दै प्रस्थान बिन्दुमा बहस चलाएको छ । उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलको अगुवा नेताहरुको उपस्थिति रहेको छ ।

यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राईको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति समेत भएको यायोक्खाले जनाएको छ ।

अधिवेशन सफल पार्न सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।