मगमग झापा ११ को सुखद् सुरुवात « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

मगमग झापा ११ को सुखद् सुरुवात


यलम्वर टाइम्स
१९ फाल्गुन २०७५, आईतवार ०६:४२

बिर्तामोड । मगमग झापा गोल्डकपको चौथो संस्करणमा मगमग झापा ११ ले पोखराको सहारा क्लबलाई दुइका बिरुद्ध शुन्य गोलले हराउँदै सुखद् सुरुवात गरेको छ ।

झापाले क्वाटरफाइनलमा हङकङ नेप्लीज एकाडेमी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । झापाको जितका लागि सब्सिच्युट खेलाडी सञ्जोग राई नायक बने ।

खेलको ३५ औ मिनेटमा कप्तान कर्ण लिम्बुलाई बिस्थापन गर्दै मैदान प्रवेश गरेका राईले एक गोलमा पास गरेका थिए भने अर्काे गोल आफैले गरेका थिए ।

खेलको ३६ मिनेटमा मैदान प्रवेश गरेका राईले खेलको ४० मिनेटमा झापाका लागि बिदेशी खेलाडी काजिम बुखारीलाई पास मिलाएका थिए । डि एरियाभित्र पाएको पासलाई अनमार्क रहेका बुखारीले पोष्टको दिसा दिएका थिए ।

खेलको ४५ औ मिनेटमा योगेश गुरुङको पासलाई बिपक्षी पोष्टको बाँया बार च्याप्दै गरेको गोलले जाली चुमेको थियो ।

खेलको ६१ औं मिनेटमा काजिम बुखारीले वान भर्सेस वानका अवसरलाई पनि सदुपयोग गर्न सकेनन । उनको प्रहार फ्रेमभित्र पर्न सकेन । ६३ औ मिनेटमा सञ्जोग राईको कडा प्रहार बिपक्ष गोलकिपरले रोकेका थिए ।

खेल अवधिभर झापालाई दवावमा राख्न सफल भए पनि पोखराले झापा बिरुद्ध कुनै आक्रमण गर्न सकेन ।
तीन बिदेशी खेलाडी सहित मैदानमा उत्रिएका दुबै टीमका एक एकजना खेलाडीले पहेलो कार्ड पाएका थिए ।

खेलको म्यान अफ दम्याच मगमग झापा ११ का सञ्जोग राई घोषित भए । उनले १५ हजार रुपैंया पुरस्कार पाएका थिए ।

दर्शकमध्येका शिबसतासीका भक्तिप्रसाद भण्डारीलाई लक्की ड्र बाट २० इन्चको हिमस्टार टिभी पाएका थिए ।

बिर्तामोडको हिम इलेक्ट्रोन्क्सिले सबै खेलमा लक्की ड्र गरेर एकजना भाग्याली दर्शकलाई एलइडी टिभी प्रदान गर्ने जनाएको छ ।

आइतबारको खेल शसस्त्र प्रहरीको एपीएफ क्लब र मोरङ ११ बीच हुने आयोजक समितिका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नेपाली फुटबलको बिकासा झापाले गरेको योगदान अतुलनीय रहेको बताएका थिए । कार्कीले झापाको फुटबलमा सहयोग गर्न प्रदेशले कुनै कसर बाँकी नराख्ने बताए ।

फागुन २७ गते सम्पन्न हुने गोल्डकपमा बिभागीय तीन सहित काठमाण्डौका ५, मोफसलका ४ र एक बिदेशी टीमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेताले १२ लाख ५५ हजार र उपबिजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा कुरा गर्दै झापाका प्रशिक्षक प्रवेश कटवालले पोखराको सेट टीमलाई हराउनु चुनौतिपुर्ण भएपनि सफलता मिलेको बताए ।

उनले उपाधि उचाल्नका लागि बिदेशी खेलाडी समेत ल्याएकोले दर्शकलाई निरास नपार्ने समेत बताए । यसअघि भएका तीनवटा गोल्डकपमा झापा फाइनलमा पराजित हुँदै आएको थियो ।

पोखराका प्रशिक्षक कविन ब्याञ्जनकारले टीमकोे आक्रमण फितलो हुँदा पाएको अवसर सदुपयोग गर्न नसकेको बताएका छन् । मोफसलको सफल टीमलाई उसकै होम ग्राउण्डमा चुनौति दिनु मुस्किल परेको बताए ।