मोरङ ११ स्तब्ध हुँदा एपीएफ क्वाटरफाइनलमा « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

मोरङ ११ स्तब्ध हुँदा एपीएफ क्वाटरफाइनलमा


यलम्वर टाइम्स
१९ फाल्गुन २०७५, आईतवार १२:५०

बिर्तामोड । चौथो मगमग झापा गोल्डकप अन्तर्गतको दोस्रो दिन भएको खेलमा शसस्त्र प्रहरीको एपीएफ क्लब मोरङ ११ लाई १–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एपिएफले मोरङका तीन जना खेलाडी काठमाण्डौको अन्य क्लबमा अनुबन्धित भएको भनेर अपिल गरेपछि २३ मिनेट खेल रोकिएको थियो ।

मोरङले अन्य क्लबको रिलिज पेपर देखाउन नसक्दा खेल रोकिएको हो । तर, एपीएफको माथिल्लो निकायबाट खेल खेल्न निर्देशनपछि खेल पुनः सुचारु भएको थियो ।

यसैबीच, ४५+९ मिनेटमा एपीएफले अग्रता लिन सफल भएको थियो । मोरङका गोलरक्षक किशोर गिरी अगाडी बडेको समयमा रमेश दंगालको हेडरमा हरि कार्कीले फ्लिक हेड गर्दा बलले पोष्टको दिशा लिएको थियो । सोही गोलले नै एपिएफका लागि अघिल्लो चरण प्रवेशको लागि ढोका खोलेको थियो ।

२४ औं मिनेटमा एपीएफका प्रविन स्याङतानको कडा प्रहार मोरङका गोलरक्षक गिरीले पञ्च गरेर फर्काए । ६६ औं मिनेटमा मोरङका डि एरियाबाट गरेको प्रहार एपीएफका खेलाडीले बचाए ।

खेलको म्यान अफ दी म्याच बिजेता टीम एपीएफका हरि कार्की भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाए । सोमबारको खेल मगमग झापा ११ र हङकङ नेप्लिज एकाडेमीबीच हुनेछ ।

हिम इलेक्ट्रोनिक्सले प्रदान गरेको एक जना भाग्यशाली दर्शकको पुरस्कार अर्जुनधारा नगरपालिकाका पदम चोङवाङले प्राप्त गरेका छन् । उनले २० इन्चको एलइडी टेलिभिजन प्राप्त गरेका थिए ।

प्रतियोगिताको बिजेताले १२ लाख ५५ हजार र उपबिजेताले ६ लाख ५ हजार रुपैया नगद पाउँने छ । प्रतियोगिताको फाइनल फागुन २७ गते हुने छ ।

खेलपछि पोष्ट म्यच कन्फ्रेन्समा बोल्दै एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले फिफाको नियमानुसार मोरङका खेलाडी बिरुद्ध अपिल गरेकाले केही समय खेल रोकिएको बताए । उनले निरन्तर खेल्नुपर्दा मोरङसँग कठिन जित निस्किएको बताए ।

पराजित टीमका प्रशिक्षक सञ्जिव बुढाथोकीले मानसिक रुपमा दवाव दिएर र खेलाडीमा बिवाद झिकेर प्रेसरमा खेल्दा पराजित हुनुपरेको बताए ।

उनले मोरङको टीम कलेक्सन भएकाले पनि तालमेल नमिलेर हार ब्यहोर्नु परेको स्वीकार गरेका छन् ।