मगमग झापा ११ झापा गोल्डकपको अन्तिम चारमा « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

मगमग झापा ११ झापा गोल्डकपको अन्तिम चारमा


यलम्वर टाइम्स
२१ फाल्गुन २०७५, मंगलवार ०७:२०

बिर्तामोड । पाहुना टोली हङकङ नेप्लिज एकाडेमीलाई १–० गोलले पछि पार्दै आयोजक मगमग झापा ११ एफसीले मगमग झापा गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

डोमालाल रंगशालामा सोमबार भएको खेलमा झापा ११ को जीतका लागि कप्तान कर्ण लिम्बूले खेलको ४१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । निशान्त खड्काको क्रस पासमा हेडमार्फत गोल गर्दै लिम्बूले झापालाई अग्रता दिलाएका हुन् ।

बाहिरका ७ जनासहित हङकङ मैदानमा उत्रेको थियो । प्रतियोगिता अवधिभर झापाले गोल गर्ने थुप्रै अवसर गुमाएको थियो । खेलको ८औं मिनेटमा सञ्जोग राईको क्रस पासमा कर्ण लिम्बूले गरेको हेडर पोष्ट नजिकैबाट बाहिरियो ।

त्यसको एक मिनेटपछि झापाका लागि बिदेशी खेलाडी फ्रान्सिस ओनियमाको पासमा लिम्बूले गोल गर्न सकेनन् । उनको प्रहार बार नजिकैबाट बाहिरिँदा अग्रता लिने अवसर गुमेको थियो ।

११औं मिनेटमा योगेश गुरुङले खाली पोष्टमा गोल गर्न सकेनन् । २५औं मिनेटमा फेरि कर्ण लिम्बूले हङकङका गोलरक्षक अभिजित रोयसँग वान भर्सेस वानमा पनि गोल गर्न सकेनन् । उनको कडा प्रहार गोलरक्षक रोयले फर्काउँदा झापाली समर्थक निरास हुनुपरेको थियो ।

८५औं मिनेटमा झापाका लागि विदेशी खेलाडी फ्रान्सिस ओनियमाको शक्तिशाली प्रहार झापाली गोलकिपर दिनेश थापामगरले पञ्च गरेर फर्काए ।

हङहङले पहिलो हाफअघि झापाविरुद्ध खासै दबाब बनाउन सकेको थिएन । विपक्षी पोष्टमा कुनै खतरा प्रहार बुन्न नसकेको हङकङले दोस्रो हाफमा दबाब बनाउन थालेको थियो ।

५४आंै मिनेटमा हङकङका सानोजेको प्रहार पोष्टभन्दा केही माथिबाट बाहिरियो । ६४औं मिनेटमा मोहम्मद दुम्बियाले खाली पोष्टमा गोल गर्न सकेनन् ।

गोलकिपर दिनेश थापामगर बिट भइसकेको अवस्थामा उनले गरेको प्रहार फ्रेममा पर्न नसक्दा हङकङ निरास हुनुपरेको थियो ।

खेलको इनज्युरी समयमा हङकङका दिपेश मोक्तानले गोलकिपर थापामगरसँग वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार झापाका गोलकिपर थापामगरले समाएपछि बराबरी गर्ने अवसर हङकङले गुमाएको थियो ।

खेलको म्यान अफ दी म्याच विजेता टिम मगमग झापा ११ का निशान्त खड्का घोषित भए । उनले १५ हजार रुपैयाँ पुरस्कार पाए ।

मंगलबारको खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिका सचिवालय संयोजक गजेन्द्र पौडेलले जानकारी दिए ।

जीतपछि पोष्ट म्याच कन्फरेन्समा झापाका प्रशिक्षक प्रवेश कटवालले ६ जना अफ्रिकन खेलाडी सहभागी टिमसँग खेल्नु पर्दा झापाका खेलाडीले दबाब महसुस गरेको बताए । उनले आगामी खेलमा अझ सुधारिएको प्रदर्शन दाबी गरे ।

हङकङका म्यानेजर नविन राईले तालमेलको अभावमा स्कोर हुन नसकेको बताए । उनले फरक फरक स्थानबाट बोलाइएका खेलाडी भएका कारण खेलमा तालमेल हुन नसकेकोले गोल गर्ने अवसर सिर्जना हुन नसकेको सुनाए ।