शहीदको सपना सकार पार्न कम्युनिष्ट एकता: प्रधानमन्त्री ओली « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

शहीदको सपना सकार पार्न कम्युनिष्ट एकता: प्रधानमन्त्री ओली


यलम्वर टाइम्स
२१ फाल्गुन २०७५, मंगलवार १२:११

सुखानी । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शहीदहरुको सपना सकार गर्न कम्युनिष्टहरुको एकता भएको बताएका छन् ।

बामपन्थी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरुको एक मजबुत कम्युनिष्ट पार्टीको सपनालाई पुरा गर्न नै एमाले र माओवादी एकता भएको उनले बताए ।

देश विकास, समृद्धि र सहिदहरुले देखेको कम्युनिष्ट एकता अहिले २ तिहाइको सरकारले पूरा गरेरै जाने बताए ।

४६ औं सुखानी शहीद स्मृती दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक रुपान्तरणमा बलिदान दिने सबै शहीद सम्मान भएको बताउँदै कम्युनिष्टको झण्डा बोकेर लुटपाट मच्चाउने हो भने देश विकास हुन नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले अगाडि भने, ‘समृद्धिको बाटोमा हिंडेको मुलुक अझै पनि हत्यार देखाएर, मान्छे मारेर जाने कसैलाई अधिकार छैन ।’

उनले फागुन २१ अघि नै शहीद घोषणा गर्ने तयारी भएपनि ताप्लेजुङ दुर्घटनाले प्रक्रिया पूरा गर्न नपाएको बताए ।

चुनाव ताका पार्टी एकताको उद्घोष गर्दा नपत्याउनेहरु अहिले पार्टी फुटाउने षडयन्त्रमा लागेको आरोप लगाए ।

पार्टी एकता अचानक भए पनि लामो समयको छलफल र तयारीपछि एकता प्रक्रिया अगाडी बढेको उनले बताए ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोह र रोल्पा विद्रोहलाई जोडेर मुलुकलाई अगाडी बढाउने सपना साकार भएको बताए ।

उनले फागुन १ र २१ लाई जोडने संकल्पको अर्थ भर्खरै थाहा भएको बताउँदै संविधान निर्माणमा आफ्नो महत्वपुर्ण योगदान रहेको प्रचण्डले बताए ।

उनले तत्कालिन समयमा प्रमुख प्रतिपक्षी भए बस्दा पहिलो संविधानसभा असफल भएको दोस्रो संविधानसभामा आफू र आफ्नो पार्टी एक भएर अगाडि बढ्दा संविधान आउन सफल भएको बताउँदै त्यस समयमा नेपाली कांग्रेसका सभापति सुशिल कोइरालालाई प्रधानमन्त्री ओली र आफूले खेलेको भूमिका सकारात्मक भएको बताए ।

प्रचण्डले अगाडि भने, ‘सुशिल कोइरालालाई राष्ट्रपति दिन्छौं, संविधान निर्माण गरेर अगाडि बढौं नभन्दिएको भए संविधान आउन सक्दैन थियो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २ अलग–अलग धारका कम्युनिष्ट पार्टीहरु एकै ठाँउमा उभिएर मुलुक समृद्धिको बाटोमा लैजाने प्रयासमा भएको बताए ।

एकताबद्धका लागी अनेक षडयन्त्र भए पनि केही दिनभित्र नै तल्लो तहसम्मको एकताले सकारात्मक सन्देश दिने उनले जोड दिए ।

विस २०२९ साल फागुन २१ गते तत्कालिन समयमा झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा नारायण श्रेष्ठ, कृष्ण कुइकेल, विरेनसिंह राजवंशी, नेत्र घिमिरे र रामनाथ दाहाललाई सुखानी जंगलमा हत्या गरिएको थियो ।

शहीदहरुको सम्झनामा बामपन्थीहरुले फागुन २१ लाई सुखानी स्मृती दिवसको रुपमा मनाउँदै आएको छ ।

पार्टी झापा जिल्ला अध्यक्ष चिन्तन पाठकको सभापतित्वमा भएको कार्यक्रममा मुख्यमन्त्री शेरधन राई, अर्थमन्त्री इन्द्र आङ्बो, सामाजिक मन्त्री हिक्मत कार्की लगायत संघीय सभाका सदस्य, प्रदेश सभाका सदस्य र शहीदका परिवारको समेत बाक्लो उपस्थित रहेको थियो ।