सेमिफाइनलमा झापासँग थ्रि स्टारको भेट « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

सेमिफाइनलमा झापासँग थ्रि स्टारको भेट


यलम्वर टाइम्स
२३ फाल्गुन २०७५, बिहीबार ०५:५७

बिर्तामोड । बिभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै थ्रि स्टारले झापासँग सेमिफाइनलमा भेट पक्का गरेको छ ।

टाइब्रेकरमा भाग्यमानी सावित हुँदै थ्रि स्टार क्लब मगमग झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो । सेमीफाइनलमा थ्रि स्टारले मगमग झापा ११ सँग प्रतिष्पर्धा गर्नेछ ।

निर्धारित ९० मिनेटमा खेल बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा थ्रि स्टार क्लबका बिजय धिमाल, बुद्ध चेम्जोङ र रुपेश केसीले गोल गरेका थिए भने बिक्रम लामाको प्रहार पुलीसका गोलकिपर शत्रुघन चौधरीले बचाउ गरेका थिए ।

पुलिसका अजित भण्डारी र भरत शाहको प्रहार थ्रि स्टारका गोलरक्षक एलेन न्यौपानेले बचाएका थिए । रवि पासवानको प्रहार आकाशिएको थियो ।

पुलिसको तर्फबाट प्रहार भएका कुनै गोलले जाली नचुमेपछि तीन गोल गर्ने थ्रि स्टार बिजयी भएको हो । यो प्रतियोगितामा पहिलो पटक निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

खेलको म्यान अफ द म्याच पुलिसका गोलरक्षक एलेन न्यौपाने भए । उनले नगद १५ हजार रुपैयाँ पाए । बिहिबारको खेल क्यामरुनको दाउफिन्स फुटबल क्लब क्यामरुन र लाली रुपन्देही ११ एफसीबीच हुने आयोजकले जनाएको छ ।

खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बिजेता टीम थ्रि स्टारका कोच मेघराज केसीले आफ्ना चारजना महत्वपुर्ण खेलाडीको अनुपस्थितीमा सोचेअनुसारको प्रदर्शन गर्न नसकिएको बताए ।

थ्रि स्टारका चारजना खेलाडी उमेर समुहको राष्ट्रिय प्रतियोगिताका लागि क्लोज क्याम्पमा छन् । उनले झापासँगको खेलमा फरक रणनीतिका साथ मैदानमा उत्रने समेत बताए ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले पेनाल्टीमा युवा टिममा अनुभवको कमी रहेको स्वीकार गरे ।

उनले पहिलो हाफमा पाएको अवसरको सदुपयोग गर्न नसक्दा दवावका कारण स्कोर हुन नसकेको बताए । पुलीसले पहिलो हाफका गोल गर्ने सुन्दर मुभहरु बनाएको थियो ।

प्रतियोगिताको बुधबारको खेलमा टीकट काटेर खेल हेर्न आएका गरामनीका दिपक पौडेलले २० इन्चको एलइडी टेलिभिजन पाएका थिए ।

कार्यक्रममा क्यान्सर रोगबाट पीडित झापा जिल्ला फुटबल संघका पूर्व सचिव तिलक गुरुङलाई आयोजकका तर्फबाट २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।